भीष्मलाई बाहिर पठाएर बालुवाटारमा प्रधानमन्त्री र गगन-विश्वको छुट्टै छलफल

सन्तोष अधिकारी २९ वैशाख २०८० १९:५१
538
SHARES
भीष्मलाई बाहिर पठाएर बालुवाटारमा प्रधानमन्त्री र गगन-विश्वको छुट्टै छलफल

काठमाडौँ- नेपाली कांग्रेसका तीन शीर्ष नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै सहमहामन्त्री भीष्मराज आङदेम्बे प्रधानमन्त्रीलाई भेट्न शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

पार्टी नेतृत्वले कोशी प्रदेशमा अहिले केन्द्रमा भएको गठबन्धनको सरकार बनाउने विषयमा छलफल गर्न महामन्त्रीद्वय र सहमहामन्त्रीलाई खटाएको थियो। कोशीमा अहिले पनि एमाले नेतृत्वको सरकार छ। गठबन्धनमा कोशीमा पहिलो चरणमा कांग्रेस नेतृत्वको सरकार गर्ने र बीचमा आलोपालो गर्ने सहमति भएको थियो तर त्यसो हुन सकेको छैन।

छलफलको सुरुवातमै महामन्त्री थापाले प्रधानमन्त्रीलाई कोशी प्रदेशको विषयमा धेरै अल्झिन नहुने र गठबन्धनको सरकार बनाइहाल्नेबारे कुरा गरेका थिए। गगनले कुरा उठाएपछि प्रधानमन्त्रीले यसलाई पार्टीमा छलफल गरेर टुंग्याउने आश्वासन दिए। प्रधानमन्त्री कार्यालयका एक सदस्यले भने, ‘उहाँ (प्रधानमन्त्री)ले पार्टीका नेताहरूसँग र प्रदेश कमिटीसँग कुरा गरेर छिटै यसलाई टुंगो लगाउँला भन्नु भयो।’

प्रदेश सरकारबारे प्रधानमन्त्रीले धेरैबेर कुरै गर्न नचाहेको बताइएको छ। सचिवालयका ती अधिकारीका अनुसार प्रचण्डले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारे तीन नेतासँग कुरा गरेका थिए। ‘तपाईंहरू पनि सहयोग गर्नुस् मैले शरणार्थी प्रकरणको फाइल खोलेको छु,’ प्रधानमन्त्रीले तीन जना नेतासँग भने। कांग्रेसका नेताहरूले पनि यस विषयमा सहयोग हुने बताउँदै बाहिरिए। सबैभन्दा अगाडि रहेका सहमहामन्त्री आङदेम्बे ढोकाबाट बाहिरिएपछि प्रधानमन्त्रीले दुई महामन्त्री थापा र शर्मालाई भने एक मिनेट पर्खन आग्रह गरे।

‘तपाईंहरूले संसद्‌मै पनि सरकारलाई सहयोग गर्छु भन्नु भएको छ बाहिर पनि भन्नुभएको छ मलाई यस्तै सकरात्मक सहयोग अझै चाहियो भनेर प्रधानमन्त्रीले भन्नु भयो,’ ती सदस्यले भने, ‘त्यसपछि उहाँहरू (थापा-शर्मा)ले पनि तपाईं खुट्टा नकमाउनुस्। बेथिति र भ्रष्टाचार नियन्त्रणमा हाम्रो पूर्ण सहयोग रहन्छ भन्नु भयो अनि बाहिरिनु भयो।’

महामन्त्री शर्माले कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको बताए। ‘प्रधानमन्त्रीसँग कोशी प्रदेशमा गठबन्धनकै सरकार बनाउने विषयमा कुरा भयो,’ उनले भने, ‘यही क्रममा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल नहुने कुरै भएन।’

स्रोतका अनुसार थापा र शर्माले प्रधानमन्त्रीलाई शीर्ष नेता मिलेर विषयान्तर नगर्न अनुरोध गरेका थिए। ‘यो विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ। शीर्ष नेता मिलेर छानबिनलाई प्रभावित पार्ने काम नहोस्। तपाईं, हामी जो परे पनि छानबिनको काम होस्’ छलफलमा गगन-विश्वले भनेको स्रोतको भनाइ छ।

थापा र शर्मासँग केपी ‌ओलीले जेठ ४ गते संसद्‌मा यसप्रकरणबारे बोल्ने बताएको विषयमा पनि प्रचण्डले चासो राखेको बताइएको छ। प्रचण्डले यस प्रकरणमा कांग्रेसको आधिकारीक धारणा कहिले आउँछ भन्नेबारे पनि सोधेको सचिवालयले जानकारी दिएको छ। कांग्रेसको आधिकारीक धारणा के हुने भन्नेबारे बिहीबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा पनि थापा-शर्मा र उपसभापति धनराज गुरुङले सभापतिसँग यही प्रश्न गरेका थिए। तर देउवाले केही जवाफ दिएका छैनन्।

छलफलकै क्रममा गगन र विश्वले पनि पार्टीका जो व्यक्ति परे पनि कारबाहीको दायरामा ल्याउन आग्रह गरेको बताइएको छ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ पक्राउ परिसकेका छन्। यही प्रकरणमा खाणकी श्रीमती मञ्जु, सभापति देउवाकी श्रीमती आरजु राणालगायतको पनि नाम जोडिएको छ। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको भनेको छ। कांग्रेसभित्र खाणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने कुरा पनि उठेको छ। तर सभापति देउवा पक्षका नेताहरू भने खाणलाई कारबाही गर्न नहुने पक्षमा छन्।

देउवालाई गगनले सोधे : नक्कली शरणार्थी प्रकरणमा तपाईंको धारणा के हो?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =