देउवालाई गगनले सोधे : नक्कली शरणार्थी प्रकरणमा तपाईंको धारणा के हो?

थापाको प्रश्नमा उपसभापति गुरुङ र महामन्त्री शर्माले पनि समर्थन जनाए

सन्तोष अधिकारी २८ वैशाख २०८० २०:४६
444
SHARES
देउवालाई गगनले सोधे : नक्कली शरणार्थी प्रकरणमा तपाईंको धारणा के हो?

काठमाडौँ- देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बिहीबार पनि बस्यो। बैठकको अधिकांश समय नक्कली शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेको विषयमा छलफल भयो। छलफलमा सभापति शेरबहादुर देउवाले यस प्रकरणमा अहिलेसम्म केही नबोलेको भन्दै उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रश्न उठाए।

थापाले जस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि देउवाको भनाइ के हो बैठकमा राख्न आग्रह गरे। थापा-शर्मा र गुरुङ तीनै जनाले खाणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने पक्षमा छन् तर, देउवा यस विषयमा केही नबोली टारिरहेका छन्।

‘बालकृष्ण दाइले म निर्दोष छु भनिरहनु भएको छ। ल त्यसैलाई विश्वास गर्छु, गरौँला पनि। तर, प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखिसकेपछि पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गरौँ, पछि निर्दोष ठहरिए उहाँको पद कहाँ जान्छर आइहाल्नुहुन्छ,’ थापालाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘कि त बालकृष्ण दाइले नै म यो अनुसन्धानको प्रक्रियामा हुन्जेल पार्टीको जिम्मेवारीमा छैन भनेर भनिदिनुपर्‍यो।’

थापापछि उपसभापति गुरुङले निलम्बन गरेर अनुसन्धानमा सहयोग पुर्‍याउनु पर्ने बताए। गुरुङले भने, ‘पार्टीको अहिलेको अडानले बाहिर राम्रो म्यासेज गएको छैन। सभापतिज्युले पनि आफ्नो कुरा प्रष्ट भन्नुपर्‍यो। पार्टीले निलम्बन गरेर अघि बढ्नुपर्छ।’

महामन्त्री शर्माले पनि पार्टीले यस घटनामा ठोस निर्णय लिन नसक्दा क्षति भइरहेको भन्दै सभापति देउवाको जवाफ मागेका थिए। ‘यो नक्कली शरणार्थी प्रकरणमा हाम्रो पार्टीले अहिलेसम्म ठोस निर्णय लिन सकेको छैन। सभापतिले किन जवाफ दिनु हुँदैन?,’ शर्मालाई उदृत गर्दै बैठकमा सहभागी नेताले भने, ‘महामन्त्री र एउटा उपसभापतिले मात्रै यसबारे बोलेर हुन्छ? पार्टी सभापतिले पार्टीको आधिकारीक धारणा यो हो भन्नु पर्दैन? अहिले पार्टीको अडान यो हो, धारणा यो भन्नु पर्नेमा मौन बस्दा कति क्षति भइरहेको छ त्यसको आँकलन पनि गर्ने कि?’

आजको बैठकमा सभापति देउवाले बैठकको सुरुमै खाण पक्राउ परेको घटनासहित अन्य राजनीतिक घटनाक्रमबारे बोलेका थिए। बैठकमा देउवाले भनेका थिए, ‘घटनाको अनुसन्धान हुँदैछ। अहिल्यै के बोल्ने हो र?’

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीमाथि प्रश्न सोधे र खाण पक्राउ परेको विषयमा बैठकलाई जानकारी गराए। ‘हिजो हाम्रो बैठकमा भएका कुरा जम्मै कसले सुनायो बाहिर गएर पत्रकारलाई। यहाँ बैठकको कुरा बैठकमै हुनुपर्‍यो। पार्टी हो फरक मत भइहाल्छ तर बाहिर छरपस्ट हुनु भएन,’ खड्कालाई उदृत गर्दै ति नेताले भने।

बैठकमा सहमहामन्त्री महेन्द्र यादवले खाणलाई कारबाही गर्न नहुने अडान दोहोर्‍याए। उनले बुधबारको बैठकमा पनि खाणलाई कारबाही गर्न नहुने भनाइ राखेका थिए। यादव खाणनिकट नेता हुन्। त्यसो त देउवाले खाण पक्राउ परेकै दिन (बुधबार बिहान) यादवसहित खाणनिकटका केही नेतासँग छलफल पनि गरेका थिए।

आजको बैठकमा खाण पक्राउको विषयसँगै पार्टीका विभाग र भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको थियो। त्यस्तै गण्डकी प्रदेश सरकारसहित अन्य प्रदेशमा पनि पार्टीबाट हुने मन्त्रीको नाम तत्काल टुंगो लगाउने विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित: २८ वैशाख २०८० २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =