यस्तो हुन्छ मकैको खोस्टाबाट बनेको टोपी र झोला

हिमाल प्रेस २६ वैशाख २०८० १२:४९
4
SHARES
यस्तो हुन्छ मकैको खोस्टाबाट बनेको टोपी र झोला

तनहुँ- तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन्। ‘कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ,’ उनले भने।

विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र बजार पाउन पनि मुस्किल हुने उनको भनाइ छ। ‘गाउँघरमा प्रशस्त पाइने मकैको खोस्टा खेर गइरहेको वस्तु हो, गाईवस्तु भए दिने नत्र त्यसै पोलेर खेर जाने वस्तुको उपयोग गरेका छौँ,’ उनी भन्छिन्, ‘विभिन्न तालिम तथा सीप सिके पनि बजारको व्यवस्थापन गर्न सकस हुन्छ तर गाउँघरमा खेर गएको वस्तु उपयोग हुने र सिक्दै गर्दादेखि नै यसबाट आयआर्जनमा जोडिएका छौँ ।’

गाउँघरमा उत्पादित कच्चा पदार्थ खेर गइरहेको हुन्छ, कच्चा पदार्थ उपयोग गरी टोपी र झोला विदेश निर्यात गर्दा मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सहयोग पुग्ने श्रेष्ठको भनाइ छ। ‘हरेक वस्तु बनाउँदा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ, स्थानीयस्तरमा खेर जाने मकैको खोस्टाबाट आम्दानी हुने र विदेशबाट माग हुँदा प्रोत्साहन मिलेको छ,’ उनले भनिन्।

यो सीपले गाउँघरको उत्पादन भएका कच्चा पदार्थ उपभोगबाट टोपी र झोला बनाउन सकिने भएपछि बनाउने र कच्चा पदार्थसमेत बिक्री हुने उनले बताइन्। सिक्ने क्रममा गाउँघर भएकाले सबैले खोस्टा दिएर सहयोग गरेको उनले बताइन्। ‘सीप सिकिसकेपछि भने तालिम सिकाउने प्राविधिक सहयोग रहेको ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँले मकैको खोस्टा खरिदका लागि व्यवस्थापन गर्ने जनाएको छ,’ उनले भनिन्।

प्लाष्टिकजन्य पदार्थको बढी उपयोगले वातावरणमा प्रदूषण भइरहेको अवस्थामा मकैको खोस्टाबाट बनेका वस्तु प्रयोगले वातावरणमैत्री बनाउने अपेक्षा रहेको उनले बताइन्। ‘प्लाष्टिकजन्य पदार्थको उपयोग वातावरणमैत्री छ, प्लाष्टिकजन्य पदार्थ जलाउँदा क्यान्सरजस्ता जघन्य रोगबाट ग्रसित हुनुपर्ने अवस्था छ, प्लाष्टिकका वस्तुको उपयोग न्यूनीकरणका लागि मकैको खोस्टाबाट बनेको टोपी, झोला प्रभावकारी रहेको छ,’ उनले भने। तालिम लिए पनि बजारको अभावले सिकेको सीप खेर जाने हुन्थ्यो, यस तालिम प्रदान गर्ने संस्थाले नै बजारीकरणको लागि व्यवस्थापन गरेको उनले बताइन्।

त्यस्तै तारा सिलवालले सिक्दै गरेको अवस्थामा घरकै सामग्रीले आयआर्जन गर्न प्रोत्साहन मिलेको बताइन्। फालिएका वस्तुबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने थाहा पाएअनुसार मकैको खोस्टाबाट टोपी र झोला बनाउन सिकेको र आयआर्जन भइरहेको उनले बताइन्। फालिएको वस्तुबाट झोला र टोपी बनाएर सन्तुष्ट तुल्याएको उनको भनाइ थियो।

तालिम आयोजक र तालिम प्रदान गर्न सहयोग गर्ने संस्थाको समन्वयमा कम्पनी स्थापना गरी उत्पादनलाई निरन्तरता दिने उनले बताइन्। ‘आफैँले बोकेर हिँड्दा सबैले विदेशबाट आएको झोला हो भनेर प्रशंसा गरेको र यसको प्रवद्र्धनमा सहयोग पुगेको छ, हामीलाई पनि माग गरिदिनु भन्ने गर्छन्,’ उनले भनिन्, ‘आफैँले बनाएको भनेपछि माग आउन थालेको छ।’

घरमा बसिरहेको अवस्थामा खेर गएको समय र गफ गर्दासमेत कच्चा पदार्थ घरमै पाइने भएकाले खाली समयमा टोपी र झोला बुन्न सकिने कमला श्रेष्ठ अधिकारीले बताइन्। मकैको खोस्टाबाट टोपी र झोला बुनेको देखेपछि घर वरपरका महिला आकर्षित भएको उनको भनाइ थियो।

व्यास नगरपालिका–५ वडा कार्यालयको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँले मकैको खोस्टाबाट टोपी र झोला बुन्न तालिम दिएपछि महिला प्रेरित भएका छन्। गण्डकी प्रदेशमा नै पहिलोपटक मकैको खोस्टाबाट टोपी र झोला बनाउने तालिम ल्याइएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताए।

विदेशी मुद्रा सञ्चितिमा सहयोग पुर्‍याउने गरी तालिम दिनुपर्छ भन्ने उद्देश्यले विदेशमा नै निर्यात गर्ने गरी उत्पादनमा जोड्न लागिपरेको उनले बताए। अहिलेका लागि देशमा डलर सञ्चितिमा टेवा पुर्‍याउने उद्देश्यले नै विदेशबाट आयात गर्नुभन्दा निर्यातमा जोड दिइएको उनको भनाइ थियो। प्रशिक्षणकै अवधिमा पनि बनेका सामग्री विदेश निर्यात गर्न ओम राजश्री मल्टी एग्रोले समन्वय गरिरहेको उनले जानकारी दिए।

वडाबाट उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रशिक्षार्थी र उत्पादन गर्न मात्रै नभएर प्रशिक्षक उत्पादन गरी वडाका २० टोलका महिलालाई प्रशिक्षित गरी आयआर्जन गर्ने वातावरण बनाउने उनले बताए। प्रशिक्षार्थीले जाँगर लगाएर सिक्दा आफूलाई सिकाउन सहज भएको प्रशिक्षक सुशिला बराई मगरले बताइन्। रासस

प्रकाशित: २६ वैशाख २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =