काठमाडौँ उपत्यकामा ‘२२० केभीको रिङ’ लाइन बनाइने

हिमाल प्रेस २५ वैशाख २०८० १५:१३
4
SHARES
काठमाडौँ उपत्यकामा ‘२२० केभीको रिङ’ लाइन बनाइने

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सबस्टेसन निर्माण गरिरहेको छ। उपत्यकामा ४ सय, २ सय र १३२ केभी क्षमताका सबस्टेसन निर्माण गरिरहेको प्राधिकरणले बताएको छ।

भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित माग सम्बोधन गर्न प्राधिकरणले उपत्यकाका प्रमुख क्षेत्रहरूमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ।

सन् २०५० सम्ममा उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको हो। सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। २२० केभी प्रसारण संरचनाले उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षण भइरहेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार काठमाडौँको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मुलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेसन निर्माणाधीन छन्। टेकु र चाँगुनारायण सबस्टेसन निर्माण अन्तिम चरणमा छन्। त्यस्तै दुवै सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाभित्रको विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सबस्टेसनहरू छिट्टो सम्पन्न गरिने बताए।

कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सबस्टेसनको अनुगमन गरेका छन्। त्यसपछि उनले उक्त सबस्टेसनहरू तोकिएकै समयमा काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए। ‘यस वर्षको जाडोमा उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज भयो,’ उनले भने, ‘आगामी वर्षको जाडोलाई ध्यान दिएर त्यसभन्दा अगाडि नै सबस्टेसनको निर्माण सक्नुपर्छ।’

टेकु र फुटुङ सबस्टेसन निर्माण भएपछि काठमाडौँको विद्युत् आपूर्ति व्यवस्थापन धेरै सहज हुने उनको भनाइ थियो। टेकुस्थिति ६६/११ केभी सबस्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन निर्माण भइरहेका छन्।

दुवै सबस्टेसनमा ४५/४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरू राखिने छन्। बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिनेछ। टेकु सबस्टेसनबाट स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ९ वटा नयाँ फिडर निकालिने र यसले काठमाडौँको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउने प्राधिकरणको भनाइ छ।

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएको थियो। त्यसपछि काठमाडौँको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको प्राधिकरणको भनाइ छ।

सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरू रहने छन्। चोभारस्थित सुख्खाबन्दरगाह नजिकै सबस्टेसन निर्माणका लागि १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया थालिएको छ। मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ।

प्रकाशित: २५ वैशाख २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =