डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनः दरखास्त आह्वान

हिमाल प्रेस २० वैशाख २०८० १९:४६
2
SHARE
डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनः दरखास्त आह्वान

काठमाडौँ- लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्यांक हराएपछि पुनः दरखास्त आह्वान गरिएको छ। आयोगले बुधबार सूचना जारी गर्दै यसअघि दरखास्त दिएकै उम्मेदवारले आवेदन दिन पाउने गरी दरखास्त आवह्वा गरेको हो।

आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्यांक हराएकाले उम्मेदवारलाई पुनः दरखास्त आह्वान गरिएको आयोगका सूचना अधिकरी देवीप्रसाद सुवेदीले जानकारी दिए।

उनले डाटा रिकभरी गर्न नसकिने भएपछि पुनः दरखास्त गर्नुपरेको बताए। ‘डाटा सेन्टरमा अवस्थित पूर्वाधारमा विसं २०७९ फागुन २३ गते समस्या सिर्जना भएपश्चात् डाटा सेन्टरबाट डाटा रिकभरीको कार्य भइरहेको छ,’ उनले भने, ‘तर प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने सम्बन्धमा यकीन गर्न नसकिने व्यहोराको जानकारी प्राप्त भएको छ।’

डाटा रिकभरी भएपछि अनिश्चितकालसम्म आयोगका पूर्वप्रकाशित विज्ञापनसम्बन्धी कार्यलाई यथावथ् राखिरहन नमिल्ने भएकाले वैशाख १४ गते आयोगले पुनः दरखास्त आह्वान गर्ने निर्णय गरेको उनले बताए। सोही निर्णयअनुसार बुधबार दरखास्त आह्वान गरिएको उनको भनाइ थियो।

आयोगले गत मंसिर, पुस र माघमा प्रकाशित ती पदका विज्ञापनमा पुनः दरखास्त आह्वान गरिएको हो। ती पदमा सम्बन्धित उम्मेदवारले आगामी जेठ १८ गतेभित्र पुनः दरखास्त पेस गर्नुपर्नेछ।

२०७९ मंसिर महिनामा प्रकाशित राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरहको पदको विज्ञापनको डाटा हराएको छ। त्यस्तै पुसमा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणीको अप्राविधिक नायब सुब्बा वा सोसरह पदको विज्ञापनको डाटा पनि हराएको छ। त्यसैगरी माघमा प्रकाशित राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सोसरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणको डाटा पनि हराएको छ।

पूर्वउम्मेदवारले दरखास्त दस्तुर बुझाएको राजस्वसम्बन्धी विवरण सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त गरी अनलाइन दरखास्त प्रणालीमा अद्यावधिक गरिसकिएको हुँदा पुनः दरखास्त पेस गर्ने उम्मेदवारले दरखास्त दस्तुर बुझाउनुनपर्ने आयोगको भनाइ छ।

पुनः दरखास्त आह्वान गरिएका विज्ञापनमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो। यसअघि दरखास्त पेस गर्ने कुनै उम्मेदवारको प्रोफाइल आयोगको दरखास्त प्रणालीमा उपलब्ध नभई लगइन गर्न असमर्थ भएको अवस्थामा त्यस्ता उम्मेदवारले साविकमा दरखास्त पेस गर्दा आफूले उल्लेख गरेको मोबाइल नम्बर प्रयोग गरी नयाँ प्रोफाइल खोली पुनः दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। रासस

प्रकाशित: २० वैशाख २०८० १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =