कुवेतलाई २८१ रनको लक्ष्य

हिमाल प्रेस १६ वैशाख २०८० १४:५२
8
SHARES
कुवेतलाई २८१ रनको लक्ष्य

काठमाडौँ- झरीका कारण दुई घण्टाभन्दा बढी समय रोकिएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ। कप्तान रोहित पौडेलले ९४ र कुशल मल्लले ५७ रन बनाएपछि नेपालले आठ ओभर घटाइएको खेलमा नौ विकेट गुमाएर २८१ रन बनाएको थियो। डकवर्थ लुइस सिद्धान्तका आधारमा कुवेतले २८१ रनको लक्ष्य पाएको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल २३.२ ओभरमा १४१/३ को स्थितिमा रहँदा झरी पर्न सुरु भएको थियो। बिहान १०ः४५ मा रोकिएको खेल दिउँसो १ बजे फेरि सुरु हुँदा ५० ओभरलाई घटाएर ४२ ओभरमा झारिएको थियो।

समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको नेपालले कुवेतविरुद्ध बलियो सुरुवात गरेको थियो। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। ११ औँ ओभरमा आउट हुनुअघि कुशलले ३९ बलमा एक छक्का र सात चौकाको मद्दतमा ४३ रन बनाएका थिए।

नेपालले दोस्रो र तेस्रो विकेट भने लगातार गुमायो। भीम शार्की र आशिफ शेख १२ र १३ औँ ओभरमा आउट भए। एक रन बटुलेका भीम शार्की चौथो बलमै आउट हुनपुगे। उनलाई मोहम्मअ अस्लामको बलमा राजिभा सान्दारुवानले क्याच आउट गरे। त्यसपछि अर्का ओपनर पनि इद्रिसकै शिकार बने। २८ बल सामना गरेर ३१ रन जोडेका आशिफलाई आउट गर्न स्पिनर इद्रिसको बलमा पटेलले नै क्याच गरेका थिए।

सुरुवाती तीन विकेट १५ ओभर पनि नसकिँदै गुमाएको नेपाललाई कप्तान रोहित पौडेल र कुशल मल्लको जोडीले सम्हालेको थियो। यी दुईले चौथो विकेटका लागि एक सय ९ रनको साझेदारी निर्माण गरेका थिए। ४१ औँ ओभरमा मोहम्मद अस्लामको बलमा आउट भएका कप्तान रोहितले तीन छक्का र सात चौका प्रहार गरे। करियरको चौथो अर्धशतक प्रहार गरेका कुशललाई २९ औँ ओभरमा सैयद मोनिबले अस्लाममार्फत क्याच आउट गराएका थिए।

घरेलु टिमका लागि आरिफ शेख १९ र करण केसी सात रनमा समेटिए। सोमपाल कामी १३ र ललित राजवंशी दुई रनमा अविजित रहे। सन्दीप लामिछानेले पाँच रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले रनको खाता खोल्न सकेनन्।

नेपालका कप्तान रोहितको विकेट लिएका मोहम्मद अस्लामको नाममा कुल तीन विकेट रह्यो। उनीबाहेक अद्नान इद्रिस कुवेतका लागि तीन विकेट हात पार्ने अर्का खेलाडी थिए। त्यसैगरी मोनिब र यासिन पटेलले एक–एक विकेट हात पारे।

प्रकाशित: १६ वैशाख २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =