आर्सनलले म्यानचेस्टर युनाइटेडको जस्तो गल्ती नगरोस्

वायन रुनी ११ वैशाख २०८० २२:३५
66
SHARES
आर्सनलले म्यानचेस्टर युनाइटेडको जस्तो गल्ती नगरोस्

आजको दिनमा विश्व फुटबलका उत्कृष्ट खेलाडी एर्लिङ हालान्ड हुन्। हो, लियोनल मेस्सीलाई म पनि सर्वकालीन महान् खेलाडी मान्छु। तर उनी अहिले हालान्ड जत्तिको राम्रो खेलिरहेका छैनन्। मेस्सी मात्र होइन, कसैको लय पनि हालान्डको जस्तो छैन। स्ट्राइकरका रूपमा मैले पनि कैयौँ कीर्तिमान बनाएँ। तर हालान्ड फरक स्तरमा पुगिरहेका छन्।

हालान्ड किन उत्कृष्ट? यसको जवाफ उनको गोल संख्याले दिन्छ र प्रत्येक खेलमा उनले गर्ने प्रदर्शनले दिन्छ। मानसिक रूपमा उनी यति बलिया छन् कि त्यसको बयान गरेर साध्य छैन। उनी जसरी खेलिरहेका छन्, त्यसले उनलाई बालोन डोरको सम्भावित विजेता बनाएको छ नै। आशा छ, उनले यो लय कायम राख्नेछन्। हुन त उनले यो लयलाई कायम राख्न नसक्ने कारण छैन। २६४ खेलमा २२४ गोल गर्नु त्यसको प्रमाण हो।

हामी मेस्सी र क्रिस्टियानो रानोल्डोको युगबाट गुज्रियौँ। अब हालान्ड र किलियान एम्बाप्पेको युगमा प्रवेश गरेका छौँ। हालान्ड प्रतिभावान् खेलाडी हुन्। उनको खेल रमाइलो मानेर हेर्नैपर्छ, भलै उनी म्यानचेस्टर सिटीको जर्सी लगाउँछन्।

कम्युनिटी सिल्डपछि उनको क्षमतामाथि प्रश्न उठाइयो। मैले चाहिँ त्यतिबेलै लेखेको हुँ, इंग्लिस प्रिमियर लिग उपाधि दौडमा उनी निर्णायक साबित हुनेछन् भनेर। उनले सिटीलाई फरक बिन्दुमा पुर्‍याउन सक्छन् भन्नेमा म सधैँ विश्वस्त थिएँ।

हालान्डबारे मेरो एउटा अनुमानचाहिँ गलत भयो। मैले भनेको थिएँ, हालान्डले प्रिमियर लिगमा प्रत्येक खेलमा एकएक गोल गर्छन् भनेर। तर उनले मलाई गलत साबित गरिदिए, २८ खेलमा ३२ गोल गरेर। कुनै पनि स्ट्राइकरले यो दरमा गोल गर्नु दुर्लभ हो।

हालान्डले सिटीमा केभिन डे ब्रुएनासँग गजबको सम्बन्ध स्थापित गरेका छन्। मैदानमा यी दुईबीचको तालमेल हेर्नलायकको हुन्छ। डे ब्रुएनाले हालान्डका लागि १३ असिस्ट गरिसक्नुले पनि दुईबीचको समझदारी कति गहिरो छ, प्रस्ट हुन्छ। जब दुई प्रतिभावान् खेलाडी आपसमा मिलेर खेल्छन्, खेल त्यसै सुन्दर भइहाल्छ।

जब खेलको पहिलो हाफ सकिन्छ, हालान्ड र डे ब्रुएना बात मार्दै हिँडिरेहका हुन्छन्। उनीहरूको हाउभाउ हेर्दा थाहा भइहाल्छ, खेलबारे नै कुरा गरिरहेका छन् भनेर। यस्तो लाग्छ, ब्रुएना हालान्डलाई पास लिन पुग्नुपर्ने स्थानबारे सम्झाइरहेका छन्। अनि हालान्डचाहिँ आफूलाई चाहिएको पासबारे डे ब्रुएनासामु माग राखिरहेका छन्। अनुमान गरौँ त, अभ्यासका क्रममा  यी दुई खेलाडी खेलका विषयमा कति बात मार्दा होलान्? अभ्यासमा उनीहरुले गर्ने साझेदारी मैदानमा छर्लंग देखिने गर्छ।

मलाई हालान्डको मनपर्ने अर्को पक्ष हो, मैदानमा उनले गर्ने मेहनत। आधुनिक फुटबलमा धेरैजसो स्ट्राइकरलाई खुट्टैमा बल चाहिन्छ। बल लिन अलिअलि दौडिन पनि मन गर्दैनन्। तर हालान्डको स्वभाव फरक छ। उनी साथीबाट पास लिन दौडिरहेका हुन्छन् नै, विपक्षीबाट बल खोस्न पनि उत्तिकै मेहनत गर्छन्। खासमा भन्दा उनी अझै काँचो छन्। यही काँचोपनले उनलाई अन्यभन्दा फरक बनाएको छ। मलाई लाग्छ उनले अबको १० वर्ष विश्व फुटबलमा दबदबा कायम गर्नेछन्।

यसपालिको प्रिमियर लिग उपाधि होडमा सिटी र आर्सनल छन्। यी दुई टिम आगामी बुधबार भिड्दैछन्। यो खेलको नतिजाले उपाधि दौडमा फरक पार्नेछ। मलाई लाग्छ सिटीले यो खेल जित्नेछ। जितको कारण हालान्ड हुनेछन्। फेरि पेप ग्वार्डिओलाको टिम प्रिमियर लिग जित्ने मामलामा अनुभवी छ। कठिन परिस्थिति र उपाधि दाबेदार विपक्षीको सामना कसरी गर्ने भन्नेबारे सिटीलाई थाहा छ। विगतमा सिटीले लिभरपुल जस्तो बलियो टिमलाई पछि पारेको हामीले देखेकै हौँ।

हुन त आर्सनल पनि कमजोर छैन। आर्सनलले प्रिमियर लिगको शीर्षस्थान ओगट्ला भनेर कमैको अनुमान थियो। अबका ६ खेल जिते त आर्सनल च्याम्पियन भइहाल्छ। यद्यपि पछिल्ला तीन खेलमा रोकिएकाले आर्सनल सजिलो स्थितिमा भने छैन।

यो सिजनको सुरुवातबाटै तारिफयोग्य प्रदर्शन गरेको आर्सनल लिग जित्न नसके पक्कै खिन्न हुनेछ। लिभरपुलसँगको बराबरी आर्सनलका लागि खराब नतिजा थिएन। किनभने एनफिल्डमा एक अंक हासिल गर्नुलाई सन्तोषजनक सफलता मान्नुपर्छ। तर वेस्टह्याम युनाइटेड र साउथह्याम्पटनलाई हराउन नसकेकै कारण आर्सनलले लिग उपाधि गुमाउनसक्ने सम्भावना प्रबल छ।

सिजनको अन्त्यमा आर्सनल च्याम्पियन नबने पनि उसको समग्र प्रदर्शनको भने म प्रशंसक रहने नै छु। आर्सनलले यो सिजन गजब खेलेको छ। यो टिममा रहेका युवा खेलाडी साँच्चै प्रतिभावान् छ। उपाधि दौडमा सिटीसँग पछि परिहाले पनि उनीहरूलाई यसपटकको अनुभव आउँदा सिजनमा काम लाग्नेछ।

कुरा फेरि हालान्डकै। आर्सनलल हालान्डलाई कसरी रोक्ला? विलियम सलिबाको अनुपस्थितिमा आर्सनलसँग हालान्डलाई रोक्न सक्ने अर्का बलिया रक्षक छैनन्। हालान्ड शारीरिक रूपमा बलिया छन्, तीव्र गतिमा खेल्छन्। यसकारण उनलाई रोक्न त्यसै पनि कठिन। यस्तोमा आर्सनलले अपनाउने एउटै रणनीति हुनसक्छ, सिटीकै शैलीमा खेल्ने। सिटीविरुद्ध काउन्टर अट्याक वा ‘ट्रान्जिसन’ मा गोल गर्न सकिन्छ।

बायर्न म्युनिखले यही रणनीति अख्तियार गरेको थियो। सिटीबाट बल खोस्नसाथ काउन्टर अट्याक गरेको बायर्नका लेरो सानेले गोलको अवसर पाएका पनि हुन्। तर उनले त्यो अवसर खेर फाले।

सिटीसँग भिड्दा यसरी नै हो, गोलको अवसर सिर्जना गर्ने। त्यस्ता अवसरलाई गोलमा परिणत गर्नसक्ने खेलाडी आर्सनलसँग छन्। आर्सनल हालान्डलाई रोक्नमा भन्दा सिटीका रक्षकहरूको कमजोरीको फाइदा उठाउनमा केन्द्रित हुनुपर्छ। सकारात्मक सोचका साथ मैदानमा ओर्लिए भने आर्सनलका खेलाडीले सिटीमाथि दबदबा कायम गर्न सक्छन्। रक्षात्मक रणनीति अपनाएमा चाहिँ आर्सनललाई हानि गर्नेछ।

यहाँ म सन् २०११/१२ सिजनको स्मरण गर्न चाहन्छु। हामी सिटीसँगै उपाधि दौडमा थियौँ। तीन खेल खेल्न बाँकी छँदा युनाइटेड सिटीभन्दा तीन अंकले अगाडि थियो। त्यहीबीच हामी इत्तिहाद गयौँ। बराबरीकै नतिजा पनि हाम्रा लागि पर्याप्त हुने थियो। यसकारण हाम्रो रणनीति थियो, जसरी हुन्छ सिटीलाई रोक्ने।

म अग्रपंक्ति सम्हालिरहेको थिएँ। रक्षापंक्तिमा चित्तबुझ्दो प्रदर्शन गरे पनि गोल अवसर भने सिर्जना गर्न सकेका थिएनौँ। तुलानात्मक रूपमा सिटी हामीभन्दा बलियो टिम थियो। भिन्सेन्ट कम्पनीको हेडर गोल दुई टिमबीचको भिन्नता बन्यो।

अहिले पनि म त्यो खेल सम्झिन्छु। मलाई लाग्छ, हामीले त्यो खेलमा रक्षात्मक रणनीति अपनाएर गल्ती गर्‍यौँ। त्यसबेलाको सिटीमा याया टुरे, डेभिड सिल्भा, कम्पनी, सर्जियो अग्वेरो जस्ता एकसेएक खेलाडी थिए। रक्षात्मक खेलेर उनीहरूलाई रोक्न सकिन्छ भनेर सोच्नु नै गल्ती भयो। हामीले जति रक्षात्मक खेले पनि प्रतिभावान् खेलाडीहरूले गोलका अवसर सिर्जना गरी छाड्छन्।

उसो त हाम्रो टिममा पनि प्रतिभावान् खेलाडी नभएका होइनन्। हामी पूर्ण रूपमा आक्रामक खेलेर सिटीलाई हराउन सक्थ्यौँ। तर बराबरीका लागि खेल्ने हुँदा तीन अंक नै गुमाउनुपर्‍यो। त्यही खेलका कारण हामीले आखिरमा च्याम्पियन बन्ने अवसर खेर फाल्यौँ।

मिकेल आर्टेटाले आर्सनलाई पूर्ण रूपमा तयार पार्छन् भन्नेमा म विश्वस्त छु। हुन त उनलाई म नजिकबाट चिन्दिनँ, तर उनका सहायकहरूसँग भने चिनजान छ। उनीहरू (स्टिभ राउन्ड र अल्बर्ट स्टुइभेन्बर्ग) आर्टेटसँगको सहकार्यमा रमाइरहेका छन्। एभरटनमा अहिले पनि आर्टेटाको प्रशंसा गरिन्छ।

प्रशिक्षकका रूपमा आर्टेटाले आर्सनलमा उम्दा काम गरेका छन्। तर कतिपयलाई लाग्नसक्छ, अनुभवी ग्वार्डिओलाले आफ्ना पूर्वसहायकलाई सजिलै हराउनेछन्। यहाँ बिर्सन नहुने तथ्य के हो भने, आर्टेटाले ग्वार्डिओलाबाट प्रशिक्षण कला सिकेका हुन् र उनलाई राम्रोसँग थाहा छ ग्वार्डिओलाले कसरी खेल रणनीति बनाउँछन् भनेर।

‘अल अर नथिङ’ डकुमेन्ट्री’ हेर्दा ग्वार्डिओलाको व्यक्तित्वबारे धेरै कुरा थाहा पाउन सकिन्छ। रणनीति बनाउन उनी कसरी र के के तयारी गर्छन्, खेलाडीलाई कसरी तयार पार्छन्, उनीहरूलाई सन्देश दिन केकस्ता तरिका अपनाउँछन् भन्ने कुरा त्यस डकुमेन्ट्रीमा देखाइएको छ। आधुनिक फुटबलमा धेरै कुरा परिवर्तन भएका छन्। अचेलको ड्रेसिङ रुम पहिलेको जस्तो हुँदैन। आधुनिक प्रशिक्षकहरू ड्रेसिङ रुम फरक तरिकाले व्यवस्थापन गर्छन्।

आर्टेटा भने आधुनिक फुटबलका विद्यार्थी हुन्। उनलाई के थाहा छ भने प्रशिक्षकका रूपमा उनी अहिले जे तरिका अपनाउँछन्, ती सन् २००० को दशकमा काम लाग्दैन थिए। अहिले यस्तो समय छ, जहाँ प्रशिक्षकले खेलाडीलाई फकाएर खेलाउनुपर्छ। उनीहरूलाई उत्तप्रेरित गर्नुपर्छ। यसो गर्न आर्टेटाले विभिन्न तरिका प्रयोग गरेको हुनुपर्छ। ती तरिका सफल नभइरहेको भए आर्सनल शीर्षस्थानमा हुँदैन थियो।

आर्सनलको टिममा मलाई सबैभन्दा मनपर्ने खेलाडी बुकायो साका हुन्। २१ वर्षको उमेरमा १३ गोल र ११ असिस्ट गर्नु चानचुने सफलता होइन। त्यो पनि विंगमा खेलेर। उनीसँगै इमिल स्मिथ रो र अरू केही खेलाडी आर्सनल एकेडेमीबाट माथि आएका छन्। तर हाल साका नै यो टिमका उत्कृष्ट खेलाडी हुन्।

वेस्टह्याम युनाइटेडविरुद्ध साकाले पेनाल्टी खेर फाले। उनले होइन गाब्रियल जेसुसले पेनाल्टी प्रहार गर्नुपर्ने थियो। तर युरो फाइनलको पेनाल्टीमा चुक्दा पनि क्लबका लागि पेनाल्टीकर्ता बन्ने आँट गर्नु आफैँमा ठूलो कुरा हो। पेनाल्टीमा चुक्दा उनी निराश बनेको हुनुपर्छ। तर मलाई लाग्छ- उनी फेरि मानसिक रूपमा बलियो बन्नेछन्।

म आर्सनलका गोलरक्षक आरोन राम्सडेलको पनि प्रशंसक हुँ। साउथ्ह्याम्पटनसँगको खेलमा उनले केही गल्ती गरे। तर उनले विगतमा आर्सनललाई धेरै खेल जिताएको तथ्य बिर्सन हुँदैन। उनमा पिटर स्माइकलको झझल्को आउँछ। उसो त स्माइकलको स्तरमा पुग्न राम्सडेलले धेरै महेनत गर्न बाँकी छ। तर उनी डेनिस गोलरक्षक स्माइकलझैँ खेल्छन्।

राम्सडेल हालान्डसँग डराउँदैनन्। रक्षकहरू पनि हालान्डविरुद्ध निडर भएर खेलून् भन्ने चाहना आर्टेटाको हुनेछ। समग्रमा खेल कस्तो हुन्छ भन्ने कुरा आर्सनलको रणनीतिमा भर पर्ने पक्का छ। सिटी अद्भुत टिम हो, गोल गर्नबाट रोक्न सकिँदैन। यसकारण आर्सनलको लक्ष्य आक्रामक खेल्ने हुनुपर्छ, ताकि भविष्यमा पश्चाताप नहोस्।

इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान वायन रुनीले बेलायती अखबार द टाइम्सका लागि लेखेको आलेखको भावअनुवाद।

प्रकाशित: ११ वैशाख २०८० २२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =