साँघुटारको विद्यालय, पोकलीको झरना

ध्रुवहरि अधिकारी ५ वैशाख २०८० १०:०५
330
SHARES
साँघुटारको विद्यालय, पोकलीको झरना

हिमगङ्‌गा (लिखु खोला) माथिको झोलुङ्‌गे साँघुद्वारा दुई पूर्वी जिल्ला जोडिएको स्थानमा बसेको चल्तीको बजार थियो ‘साँघुटार’। सप्तकोशीको सहायक नदीमध्येको एक हिमगङ्‌गाको पश्चिमी किनारमा अवस्थित सम्पन्न बस्ती साँघुटारको नक्सा चार दशकको अवधिमा चिन्नै नसकिने गरी फेरिएछ। साँघुटारपारि ओखलढुङ्‌गातर्फका गाउँ-बस्तीबाट स्कूल पढ्न आउनेहरू समेत रामेछाप जिल्लाको बाक्लो बसोबास भएको बजार खुम्चिएको देखेर खिन्न भएको पाइयो। २०७९ सालको अन्तिम साता साँघुटार पुग्दा मोटर गुड्ने धूले सडक र पक्की पुलले बाहिरी आवरण फेरिए तापनि साँघुटारको खास चिनारी मासिंदै,मलिन हुँदै गएको पाइयो।

राजा वीरेन्द्रको राज्याभिषेक भएकै वर्ष अर्थात् २०३१ सालमा राजाकै सदिच्छामा प्रकाशित परिचयात्मक पुस्तक ‘मेचीदेखि महाकाली’ दोस्रो ठेलीमा साँघुटारलाई “राम्रा घरहरू भएको एउटा बजार” को रूपमा वर्णन गरेको पाइन्छ। यातायात र व्यापारको लागि महत्वपूर्ण ठाउँ भनिएको छ। “यो ठाउँ पूर्वी नेपालको मूलबाटोमा पर्दछ” लेखिएकोबाट पनि साँघुटार कस्तो रहेछ, अनुमान गर्न सजिलो पर्दछ। विराटनगरमा पक्राउ गरिएका विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई पहाडी बाटोबाट अड्डासारा गर्दै काठमाडौं ल्याउँदा एक रात बास साँघुटारमा परेको चर्चा नौलो होइन। बी पीको ‘आत्मवृत्तान्त’ मा उहाँलाई धनकुटाबाट पहाडी बाटो हिंडाउँदै तीन सातामा काठमाडौं ल्याएको कुरो उल्लेख छ। गरिबीमा पिल्सिएको पहाडी जन-जीवनलाई आफूले नजिकबाट देख्न,बुझ्न पाएको प्रसङ‌्गलाई बीपीले चर्चा गर्नुभएको छ।

साक्षीको अनुभव

विगत चार दशकमा यस भेगमा भएको परिवर्तनका साक्षी मान्न सकिने पुस्ताका मानिस अझै भेटिन्छन् साँघुटारको सेरोफेरोमा। राजकुमार श्रेष्ठ यस सन्दर्भमा उल्लेख गर्न सकिने विशिष्ट नाम हो। साँघुटारको परिचय जीवन्त राख्दै आएको ‘हिमगङ्‌गा उच्च माध्यमिक विद्यालय’ का शिक्षक भई काम गरेको अनुभव सँगालेका ‘राजकुमार सर’ आज पनि साँघुटारका विशेषता एवं विशिष्टताहरू एकैसासमा चिनाउने क्षमता राख्नुहुन्छ। जस्तो, झोलुङ्‌गे साँघु चन्द्रशम्शेरको पालामा बनेको हो। उपकरणहरू बेलाइतको स्कटल्याण्डमा बनेका रहेछन्;त्यहाँ कुँदिएका अंग्रेजी अक्षर नै प्रमाण हुन्।

अहिले उ.मा.वि. को रूपमा चिनिने स्कूलको रूपरेखा २००९ सालमा खिचिएको र स्थापना २०११ सालमा भएको रहेछ। त्यसले २०७१ सालमा ६० वर्ष पूरा गरेकोमा आकर्षक समारोह आयोजना गरियो। त्यस अवसरमा प्रकाशित ‘हीरक महोत्सव स्मारिका २०७१’ मा प्रथम राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा-सदस्यहरू समेतका शुभकामना सन्देशहरू समेटिएका छन्।

दुईशयभन्दा बढी पृष्ठको यस सचित्र प्रकाशनमा हिमगङ्‌गा स्कूलको स्थापनामा उल्लेख्य योगदान पुर्‍याउने स्व.गुञ्जदास श्रेष्ठलगायतका व्यक्तित्वको सम्झना गरिएको छ। राजकुमार श्रेष्ठको संस्मरणात्मक लेखमा “२०१० सालमा युवराज महेन्द्रको पूर्वी पहाडी भ्रमणको मुकाम स्कूल प्राङ्‌गणमा रहेकै बेला आर्थिक सहयोग र स्तरोन्नतिको माग गरिएपछि हिमगङ्‌गा मिडिल स्कूल बन्ने अवस्था विकसित हुँदै २०१५ सालमा मिडिल स्कूल स्वीकृत” भएको जानकारी समावेश छ।

राजकुमार श्रेष्ठ सरसँग पुराना छात्र निर्मल साँघुटारबाट बिदा माग्दै…  

स्मारिकामा महेश कोर्मोचा,लोककृष्ण भट्टराई, देवशंकर पौडेल, बाबुराम सापकोटा, चिकित्सक डा. अर्जुन कार्की समेतका संस्मरण र साहित्यिक रचना सङ्‌कलित छन् । (२०२२ सालदेखि २०७० सालसम्मका एस् एल्‌ सी परीक्षामा उत्कृष्ट हुने २५ जना छात्र-छात्राको सूचीमा भाइ निर्मलहरि अधिकारीको नाम पढ्न पाउँदा स्वभावतः खुसी लाग्यो। उनले २०३४ सालमा एस् एल् सी उत्तीर्ण गरेका हुन्। हालका प्रधान अध्यापक अनिरुद्र सुवेदी २०४३ सालको उत्कृष्ट छात्र हुनुहुँदो रहेछ। साबिकका छात्रद्वय अधिकारी र सुवेदीबीच बेग्लै भलाकुसारी भयो।) तर हीरक महोत्सव मनाइएको केही महिनापछि नै २०७२ सालको भुइँचालो आयो। वैशाखको त्यस भूकम्पले विद्यालयको सबैजसो संरचना भत्काइदियो। पठनपाठनको क्रम केही समय बिथोलिन गयो। अहिले विेद्यालय भौतिक रूपमा तङ्ग्रिन खोज्दै रहेछ। तर प्रधानाध्यापक सुवेदीलाई गए साता त्यत्ति उत्साही अवस्थामा भेटिएन। एक चरणमा ११ शय छात्र-छात्राको अध्ययनस्थल रहेको विद्यालयमा अचेल विद्यार्थीको संख्या छ शयमुनि झर्नुले सुवेदी र उहाँका सहयोगी शिक्षकहरूको हौसला स्खलित गराएको छ। यसरी विद्यार्थीसंख्या कम हुनमा निजीक्षेत्रमा ‘प्राइवेट’ स्कूल खोल्ने प्रचलन बढ्नु पनि एक कारण हो; तर कारण र कारक अरू पनि रहेछन्।

कारक र कारण

सेवानिवृत्त शिक्षक राजकुमार श्रेष्ठका अनुसार, यातायातको सुविधा विस्तार भएपछि आफ्ना सन्तानलाई राजधानी काठमाडौंमा राखेर पढाउन सक्ने आर्थिक अवस्थाका बासिन्दाहरू त्यतैतिर लाग्नु अर्को टड्कारो कारण हो। सिङ्‌गो देशलाई आतङ्‌कित पार्ने २०५२-६२ को माओवादी हिंसा र हत्याले साँघुटार र वरपरका इलाकालाई नराम्रो झट्का दियो; धेरै गाउँ-ठाउँ प्रभावित भए,सयकडौं परिवारलाई बसोबास छोडेर पलायन हुन बाध्य पारियो। स्कूल जाने उमेरका बाल-बालिकाको संख्या पनि स्वतः घट्दै गयो। त्यसैगरी, आधुनिकताको अभियान चलाउनेहरूले राज्यबाट गर्भपतनलाई कानूनी मान्यता दिलाएपछि देशैभर शिशु-जन्मदर कम हुँदै गयो। रामेछाप र ओखलढुङ्‌गा मात्र अपवाद हुने कुरो आएन। राजकुमार सरको यस कथनको पुष्टि हालै प्रकाशित नेपालको जनसंख्यासम्बन्धी विवरणले पनि गरेको छ जसमा प्रजनन् दर प्रष्टरूपमा ओरालो लागेको देखाउँछ। केही वर्षपछि गएर मुलुकमा क्रियाशील जनशक्तिको कमी हुने सूचक उत्साहप्रद सङ्‌केत होइन नै।

साँघुटारदेखि उत्तरतर्फको प्रवाहमा हिमप्रदत्त हिमगङ्‌गा अचेल जल-विद्युतको स्रोत भएको रहेछ जसबाट रामेछाप र ओखलढुङ्‌गा दुबै जिल्ला लाभान्वित हुने क्रममा छन्। ओखलढुङ्‌गातर्फ पर्ने पोकलीमा अवस्थित् तीनशय फीट अग्लो ‘पोकली छाँगो’ (झरना) मुन्तिरको गाउँ वाच्‌पु डाँडाखर्क जन्मस्थल भएकोले मलाई यो छाँगो हेर्दै हुर्किएको सम्झना छ। भाइ निर्मलको पोकली छाँगोसँगको सामीप्य अझ लामो छ।अचेल पोकली पर्यटकीय आकर्षण बन्ने क्रममा रहेछ यद्यपि यो परियोजना पनि सानो काम गरेर ठूलो खर्च देखाउनेहरूको वृत्तबाट जोगिन सकेन भन्ने स्थानीय अवधारणा सुनियो। आशा गरौं,सरोकारवालाहरूले यस शिकायतको आवश्यकता अनुसार छानबीन गराउलान् नै।जे-जस्तो भए तापनि जिल्लावासीहरू कवि सिद्धिचरणले सबैको प्यारो ओखलढुङ्‌गा बनाइदिएकोमा उनीप्रति सदैव अनुगृहित छन्।

प्रकाशित: ५ वैशाख २०८० १०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =