आगामी वर्षमा ५ लाख टन रासायनिक मल ल्याइने

हिमाल प्रेस ४ वैशाख २०८० २१:१९
2
SHARE
आगामी वर्षमा ५ लाख टन रासायनिक मल ल्याइने प्रतीकात्मक तस्बिर।

काठमाडौँ- कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्ष २०८०/८१ मा ५ लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ। कम्पनीले सोहीअनुसार तयारी गरिरहेको बताएको छ।

कम्पनीका कायममुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आर्थिक वर्षमा ५ लाख मेट्रिक टन रासायनिक मल ल्याउने निर्णय गरिएको जानकारी दिए। ‘अघिल्ला वर्षमा बजेटको सही समयमा विनियोजन नहुँदा मलको कमी देखिएको थियो तर आगामी आर्थिक वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायसँग निर्णय भएकोले मलको कमी हुँदैन,’ उनले भने, ‘लिमिटेडलाई पनि योजना तयार पार्न अनुकूल भएको छ।’

उनकाअनुसार बजारमा मलको कमी हुनुको मुख्य कारण बजेट विनियोजन समयमा नहुनु हो। उनले पछिल्लो वर्षका लागि मलको आवश्यकता परिपूर्ति गर्न पुस मसान्तभित्र आवश्यक बजेट चाहिने पनि बताए। ‘खरिद प्रक्रियाको समयका कारण चैतमा प्राप्त भएको बजेटले कृषकको सही समयको माग पूरा हुन सक्दैन,’ उनले भने।

मल वितरण निर्देशिकाबमोजिम लिमिटेडले ५ हजार तीन सय सहकारी संस्थामार्फत स्थानीय तहसम्म मल बिक्री वितरण हुने गरेको छ। प्रबन्ध सञ्चालक पोखरेलका अनुसार साल्ट ट्रेडिङले ३० प्रतिशत र लिमिटेडले ७० प्रतिशत मल आपूर्ति गर्ने गरेका छन्।

यस आर्थिक वर्ष कृषकलाई रासायनिक मल बढीमा ७ लाख मेट्रिक टन र कम्तीमा ५ लाख मेट्रिक टन आवश्यक हुन्छ। चार लाख मेट्रिक टन आउने क्रममा रहेको तर समयमा बजेट विनियोजन नभएका कारण एक लाख मेट्रिक टन कमी हुने पोखरेलले बताए।

हाल लिमिटेडमा १ लाख मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र अरू आपूर्ति गर्नका लागि टेन्डर खोलिएको उनले बताए। आव २०७८/७९ मा करिब १ लाख ७७ हजार ५ सय ६ मेट्रिक टन आपूर्ति गरेकोमा चालु आर्थिक वर्षमा हालसम्म खरिद र टेन्डर भएको जम्मा ३ लाख २४ हजार मेट्रिक टनमध्ये १ लाख ३८ हजार एक सय टन भित्रिएको छ। १ लाख ३६ हजार ६ सय टन बिक्री वितरण भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ। रासस

प्रकाशित: ४ वैशाख २०८० २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =