वेस्टह्यामसँग आर्सनलको महँगो बराबरी

हिमाल प्रेस ३ वैशाख २०८० २१:२५
12
SHARES
वेस्टह्यामसँग आर्सनलको महँगो बराबरी

काठमाडौँ- सुरुवाती १० मिनेटभित्र दुई गोलको अग्रता लिए पनि आर्सनल वेस्टह्याम युनाइटेडसँग २-२ को बराबरीमा रोकिएको छ। लन्डन रंगशालामा आइतबार साँझ भएको लन्डन डर्बीमा दुवै टिमले पेनाल्टीको अवसर पाएका थिए।

पहिलो हाफमा वेस्टह्यामले पेनाल्टी सदुपयोग गर्दै गोल अन्तर साँघुरो बनायो भने आर्सनलले दोस्रो हाफमा पेनाल्टी खेर फाल्यो। बुकायो साका पेनाल्टीमा चुकेको दुई मिनेटपछि वेस्टह्यामका लाथि जारोड बोवेनले बराबरी गोल फर्काएका थिए।

बराबरीपछि आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी अझ बढाउने मौका गुमायो। शीर्षस्थानको आर्सनलले ३१ खेलबाट ७४ र सिटीले ३० खेलबाट ७० अंक बटुलेका छन्।

आर्सनल लगातार दोस्रो पटक बराबरीमा रोकिँदा सिटी उपाधि दौडमा बलियो बनेको छ। सिटीले आर्सनलभन्दा एक खेल कम त खेलेको छ नै, घरेलु रंगशालामा लिग लिडरलाई स्वागत गर्न पनि बाँकी छ। यी दुई कारणसँगै आर्सनलको पछिल्लो बराबरीले सिटी उत्साहित बनेको छ।

उसो त हालको दूरी कायम राखे आर्सनलल लिग च्याम्पियन बन्नसक्छ। यद्यपि सन् २००४ यता च्याम्पियन नबनेको आर्सनलले आगामी खेलमा थप अंक गुमाउन सक्ने आकलन सिटीको छ। यसको कारण हो, आर्सनलमा युवा खेलाडीको बाहुल्य। उता सिटी भने अनुभवी खेलाडीले भरिएको छ। ६ सिजनमा पाँचौँ पटक प्रिमियर लिग जित्ने लक्ष्यमा रहेको सिटी अबका आठ खेल जित्नुपर्ने दबाबमा छ।

दबाबमा भए पनि सिटीले जित लय भने कायम राखेको छ। सबैखाले प्रतियोगितामा गरि १० खेलमा अपराजित सिटीले शनिबार राति लेस्टर सिटीलाई ३-१ ले पन्छाएको थियो। जबकि आर्सनल भने अग्रता लिएका खेलमा पनि बराबरीमा चित्त बुझाउन बाध्य भइरहेको छ।

रेलिगेसनबाट बच्न संघर्षरत वेस्टह्यामविरुद्ध आर्सनलले सातौँ मिनेटमा अग्रता लिएको थियो। गाव्रियल जेजुसले लेफ्टब्याक बेन ह्वाइटको क्रसमा गोल गरेका थिए। पहिलो गोलको मुभमा सहभागी कप्तान मार्टिन ओडेगार्डले १० औँ मिनेटमा आर्सनलको अग्रता दोब्बर बनाए।

आक्रमण बुन्न नुसकेपछि गाब्रियल मार्टिनेल्लीले ओडेगार्डलाई ‘ब्याक पास’ दिएका थिए। कसैको निगरानीमा नरहेका ओडेगार्डले त्यसपछि ‘भली गोल’ गरे।

मिडफिल्डर थोमस पार्टीले लुकास पाक्वेटालाई लडाएपछि वेस्टह्यामले पेनाल्टी पाएको थियो। पेनाल्टीमा साइद बेनरहमाले सहजै गोलमा परिणत गरे। दोस्रो हाफको ५२ औँ मिनेटमा आर्सनलले गोल अन्तर बढाउने मौका पाएको थियो। तर मिचेल एन्टोनियोले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा साका चुके।

घरेलु समर्थकसामु वेस्टह्यामलाई एक अंक दिलाउन बोवेनले ५४ औँ मिनेटमा गोल गरे। वेस्टह्यामले जारी सिजन सातौँ पटक बराबरी खेलेको हो। हाल १५ औँ स्थानमा रहेको वेस्टह्यामसँग ३० खेलबाट ३१ अंक छ। लिगमा आठ खेल खेल्न बाँकी रहँदा वेस्टह्याम रेलिगेसन क्षेत्रबाट चार अंकले मात्र माथि छ।

प्रकाशित: ३ वैशाख २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =