राष्ट्रिय लेखक दिवस वैशाख १६ : सन्दर्भ र औचित्य

डा. रत्नमणि नेपाल २ वैशाख २०८० ६:४८
20
SHARES
राष्ट्रिय लेखक दिवस वैशाख १६ : सन्दर्भ र औचित्य

हामी त्यो हौँ जे हामी मनाउँछौँ भन्ने गरिन्छ। कदाचित यस भनाइले मानिसले सामूहिक रूपमा गर्ने गर्व र आन्तरिक रूपमा चाहने मौलिकतालाई संकेत गर्दछ।

यसले संस्कार र संस्कृतिको महत्त्वलाई पनि दर्शाउँछ। मानिस सामूहिकता रुचाउँछ। सामूहिकताबाटै उसले निजी भावना अभिव्यक्त पनि गर्दछ। मानिसको यही स्वभावकै उपज समाज र यसका विभिन्न संस्थागत व्यवहारहरू हुन्।

समाजले आफूलाई मौलिक रूपमा परिभाषित गर्ने र आफ्नो ऐतिहासिक, सांस्कृतिक र अर्थराजनीतिक सामर्थ्यको वैधता पुष्टि गर्ने क्रममा विभिन्न मूल्यहरूको स्थापना गर्ने गर्दछ।

यसबाट समाजले एकातर्फ यसका सदस्यहरूको मानसिक र शारीरिक सेवा पूर्ति गर्दछ भने अर्कोतर्फ छिमेकी समाजबाट आफू भिन्न भएको सन्देश प्रवाह गर्दछ। त्यस्ता विभिन्न मूल्यहरूमध्ये कुनै विशेष घटना, व्यक्ति वा सन्दर्भको सम्झनामा दिवस या जयन्ती मनाउने प्रचलन एक विशिष्ट संस्कृतिका रूपमा देखापर्दछ।

यकिनका साथ भन्न नसकिए तापनि दिवस या जयन्ती मनाउने परम्परा धेरै पुरानो रहेको अनुमान गर्न सकिन्छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न दिवस मनाइआइएको परिस्थितिमा नेपालमा पनि राष्ट्रिय लेखक दिवस मनाउने प्रस्ताव नेपाली लेखक सङ्घले गर्‍यो। प्रस्ताव आएपछि राष्ट्रिय लेखक दिवस किन, कहिले र कसरी मनाउने भन्ने विषयमा औपचारिक एवम् अनौपचारिक छलफल भए।

औपचारिक रूपमा नेपाली लेखक संघको केन्द्रीय कार्य समितिले एउटा कार्यदल बनाएर यस सम्बन्धमा अध्ययन, अनुसन्धान गरी औचित्य पुष्टि हुने मिति प्रस्ताव गर्न सुझाव दियो। सोहीअनुसार कार्यदलले नेपाली भाषासाहित्यमा देखापरेका विभिन्न ऐतिहासिक तथा समकालीन अभियान, आन्दोलन तथा सन्दर्भहरूको अध्ययन गर्‍यो।

उक्त अध्ययनको निष्कर्ष मुताविक कार्यदलले वैशाख १६ गते नेपालमा राष्ट्रिय लेखक दिवस मनाउनु उपयुक्त हुने भनी गरेको प्रस्ताव नेपाली लेखक संघको केन्द्रीय समितिको गत असारमा बसेको बैठकले अनुमोदन गरेको थियो।

यस पत्रको उद्देश्य राष्ट्रिय लेखक दिवस वैशाख १६ मा मनाउने प्रस्तावको औचित्यमाथि प्रकाश पार्नु, यसको सैद्धान्तिक आधारको विवेचना गर्नु र लेखक दिवस मनाउने तरिकाबारे व्याख्या गर्नु रहेको छ।

अध्ययन विधि

नेपालमा राष्ट्रिय लेखक दिवस मनाउन मिति प्रस्ताव गर्न गठित कार्यदलले आफ्नो अध्ययन मूलतः पुस्तकालयीय विधिमार्फत पूर्वप्रकाशित सामग्रीको अध्ययन तथा विश्लेषणका आधारमा गरेको थियो।

त्यसका अलावा व्यक्तिगत अन्तर्वार्ता र समूह छलफलसमेत गरी वैशाख १६ मा लेखक दिवस मनाउनु उपयुक्त हुने निष्कर्ष निकालिएको थियो।

अध्ययनलाई चाहिने सूचना सामग्री खुला साहित्यिक सामग्री र विज्ञहरूका विचार रहेको हुँदा यसलाई गुणात्मक ढाँचामा प्रस्तुत गरिएको थियो।

प्राप्त सूचनाको विश्लेषण व्याख्यात्मक तथा तुलनात्मक शैलीमा गरिएको थियो। कार्यदलले अध्ययनलाई चाहिने सूचना निम्न लिखित विधिद्वारा संकलन गरेको थियो।

पुस्तकालयीय अध्ययन

यसअन्तर्गत नेपाली भाषा साहित्यका इतिहाससँग सम्बन्धित पुस्तकहरू जस्तै- नेपाली साहित्यको इतिहास (२०५६), नेपाली भाषा साहित्यको आन्दोलन (२०६४), प्रज्ञा प्रतिष्ठानका अविस्मरणीय क्षण (२०३९), केन्द्रीय पुस्तकालयका साठी वर्ष (२०६८), नेपाली कांग्रेसको इतिहासको प्रारूप भाग १ (२०६१), बीपी कोइरालाको डायरी, २००८-२०१३ (२०७६), त्रिभुवन स्मृतिग्रन्थ (२०२९) लगायतको अध्ययन गरिएको थियो। त्रिवि केन्द्रीय पुस्तकालय, कीर्तिपुर, मदन पुरस्कार पुस्तकालय, पाटनढोका, प्रज्ञा पुस्तकालय, कमलादीबाट यी अध्ययन सामग्री संकलन गरिएको थियो।

व्यक्तिगत प्रत्यक्ष तथा टेलिफोन कुराकानी

तथ्यांक संकलन गर्न तथा प्राप्त तथ्यांकको विश्लेषण गर्न नेपाली भाषा-साहित्य तथा इतिहास लेखनमा संलग्न विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गरिएको थियो। यसअन्तर्गत ज्ञानमणि नेपाल, नरहरि आचार्य, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, तीर्थ श्रेष्ठ, पुरुषोत्तम बस्नेत, सुकुम शर्मा, भवेश्वर पंगेनीको संलग्नता रहेको थियो।

समूह छलफल

यस अध्ययनका लागि आवश्यक तथ्यांक संकलन गर्न तथा प्राप्त तथ्यांकको विश्लेषण गर्न नेपाली लेखक संघका सल्लाहकारहरूसँग समुह छलफलको आयोजना गरिएको थियो। सल्लाहकार नरहरि आचार्यको निवास चुनदेवीमा मिति २०७९ साल जेठ २८ गते शनिवार आयोजना गरिएको छलफलमा सल्लाहकारहरू नरहरि आचार्य, बलदेव मजगैंया, डा. तुलसी भट्टराई, विष्णुविभु घिमिरे, प्रा. डा. ज्ञानू पाण्डे, प्रा. डा. कुमारप्रसाद कोइराला, शारदा शर्मा, श्रवण मुकारुङका साथै लेखक संघका केन्द्रीय सदस्य नवीनचन्द्र घिमिरेको समेत उपस्थिति रहेको थियो।

यस पत्रमा भने वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाउने प्रस्तावको औचित्य, सैद्धान्तिक आधार र तरिकाबारे छलफल गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भ सामग्रीको अध्ययनलाई मुख्य आधार लिइएको छ। पूर्व प्रकाशित सामग्रीको अध्ययन गर्दा दिवस र जयन्ती सम्मानार्थी शब्दको रूपमा प्रयोग भएको पाइएकाले यस पत्रमा पनि सोहीबमोजिम गरिएको छ।

यस अध्ययनमा दिवस भन्नाले जात्रा पर्व जयन्ती आदिलाई समेत समेटिएको छ। यो पत्र दिवस कहिले मनाउने निर्णय या घोषणा गरियो भन्ने भन्दा पनि किन र कसरी मनाउने विषयमा केन्द्रित छ।

विविध दिवसका आयाम र सन्दर्भ

दिवस मनाउने चलन कहिलेदेखि चल्यो अध्ययनहरूले स्पष्ट उल्लेख गरेका छैनन्। तर आधुनिक राष्ट्र राज्य प्रणालीको सुरुवात हुनुपूर्व (सन् १५०० पूर्व) कविला, रजौटा तथा सांस्कृतिक राज्य समूहहरूले समेत कुनै न कुनै सन्दर्भमा दिवस मनाउँथे भन्ने निष्कर्षमा भने प्राय: अध्ययनहरू सहमत छन्।

यस्ता दिवस प्रायः धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय सन्दर्भसँग जोडिएका थिए। किनभने त्यो समय आममानिसहरूको विश्वदृष्टि नै स्थानीयता र धार्मिक मूल्यसम्म सीमित थियो। त्यो बेला शासक र उनीहरूका जन्म र मरणसँग सम्बन्धित तिथि मितिका सन्दर्भहरू पनि दिवससँग जोडिएर आउँथे।

त्यस्ता दिवसका दिन कुनै निश्चित भूगोलमा रहने समुदायले नयाँ पहिरन, खानपिन, घुमघाम र भेटघाट साथै नाचगान अबिर जात्रा गरी मनाउने गरेको अध्ययनहरूले उल्लेख गरेका छन्।  

यस्ता दिवसहरूको मूलभूत उद्देश्य सामाजिक सद्भाव र एकता कायम गर्नु साथै सांस्कृतिक मौलिकता र अर्थराजनीतिक वैधताको वकालत गर्नु रहेको देखिन्छ। दिवसको आम प्रचलन भने आधुनिक समयमा कायम भएको पाइन्छ। १८ औँ शताब्दी यताको औद्योगिक युगको सुरुवातपछिको बदलिँदो समयमा यसले व्यापकता पाएको देखिन्छ।

यसका खासखास कारणमा राज्य संस्थाहरूको प्रारम्भ भई नयाँ नवीन कानुन, मूल्यमान्यताको विकास हुनु, जनसंख्या वृद्धि हुनु, बसाइँसराइ र शिक्षाको विकास आदि देखा पर्दछन्।

यसको व्यापकता र लोकप्रियता भने दोस्रो विश्वयुद्धको अन्त्य र अ-औपनिवेशीकरणको प्रक्रियासँगै भई विभिन्न राष्ट्र र समुदायमा दिवस घोषणा गर्ने र सार्थक रूपमा मनाउने प्रचलन चलेको देखिन्छ।

तर यस्ता प्रचलनका इतिहास भने उपनिवेशकालमा विभिन्न व्यक्ति या समूहले गरेका संघर्ष र योगदानसँग समेत सम्बन्धित छन्।

उदाहरणका लागि हरेक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसलाई लिन सकिन्छ। यो दिवसलाई महिलाको बहुआयामिक महत्त्व, योगदानका साथै राजनीतिक, सामाजिक तथा सांस्कृतिक अधिकारको वकालत गर्ने सन्दर्भमा लिइन्छ। सन्१९७८ देखि यो दिवस सुरु भएको हो। तर यसको इतिहास भने अलिक परसम्म तन्किन्छ।

सन् १९०८ मा अमेरिकाको न्यूयोर्क सहरको एउटा कारखानामा काम गर्ने महिला मजदुरहरूले मालिकले कामको तौरतरिकामा पुरुष र महिलामा गरेको विभेदको विरुद्धमा विद्रोह गरे।

त्यसभन्दा साठी वर्षअगाडि सन् १८४८ मा दासत्व विरुद्धको एउटा अमेरिकी सभामा महिलाहरूलाई बोल्न नदिएको विरोधमा महिला समूहले सामाजिक, राजनीतिक र धार्मिक अधिकारको माग गरेका थिए।   

यिनै आन्दोलनको सम्झनामा संयुक्त राष्ट्रसंघले सन् १९७८ देखि मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालेको सन्दर्भ छ।

त्यस्तै विश्वभर नै (खासगरी युरोपमा) अंग्रेजी महिनाको फेब्रुअरी २२ तारिखमा मनाइने विश्व सोच दिवस (World thinking day) भने महिला मार्गदर्शक (गाइड) र स्काउटको बढ्दो विस्तार र विकासको सम्झनामा मनाउने गरिन्छ। यो दिवस मनाउने दिनको तय भने यस अभियानका संस्थापकको जन्मदिनलाई मानिएको देखिन्छ।

अमेरिकामा अक्टोबर ८ मा अमेरिकी आदिवासी जातिहरूको इतिहास र संस्कृतिको सम्मानमा राष्ट्रिय आदिवासी दिवस मनाइन्छ।

अन्तर्राष्ट्रिय आदिवासी दिवस भने अगस्ट  महिनाको ९ तारिखमा उनीहरूको इतिहास, संस्कृति, भाषाको संरक्षण गर्दै शिक्षा र आर्थिक अवसरका माध्यमबाट उनीहरूलाई सामाजिक आर्थिक प्रक्रियाको मूलधारमा सामेल गराउने उद्देश्यले मनाउने गरिन्छ। यसको सुरुवात सन् १९९४ बाट संयुक्त राष्ट्रसंघले गरेको थियो।

लेखक, साहित्यकारसँग जोडिएको एउटा खास दिवस हो विश्व कविता दिवस।

संयुक्त राष्ट्रसंघको भगिनी संस्था युनेस्को नामक संस्थाको ३० औँ साधारणसभाबाट सन् १९९९ मा कविता दिवस अनुमोदन गर्दा कविताका माध्यमद्वारा भाषिक विविधता र लोपोन्मुख भाषाको संरक्षण गर्ने उद्देश्य लिइएको देखिन्छ।

युनेस्कोको अगुवाइमा विश्व कविता दिवस मनाउँदा कविलाई सम्मान गर्ने, पठन संस्कृतिको वृद्धि गर्ने, लेखन तथा पठनपाठनमा जोड दिने र कविता विधालाई अन्य विविध क्षेत्रसँग अन्तरसम्बन्ध कायम गर्ने खालका गतिविधि गरिन्छ।

अन्तर्राष्ट्रिय लेखक दिवस मार्च ३ मा मनाइन्छ। यसको सुरुवात लन्डनमा सन् १९२६ मा स्थापना भएको PEN International नामक संस्थाको अगुवाइमा लेखक एवम् शब्दको शक्ति र सामथ्र्यको मूल्यांकन एवम् सम्मान गर्ने उद्देश्यले गरिएको थियो।

युनेस्कोकै अग्रसरतामा अप्रिल २३ या नेपाली मिति वैशाख १० गते अन्तर्राष्ट्रिय पुस्तक दिवस मनाउने चलन छ।

सन् १९९५ अप्रिल २३ मा युनेस्कोले पारित गरेको विश्व किताब दिवस लेखकको किताबमाथिको अधिकार (कपिराइट) सुरक्षा र पठन संस्कृतिको बढावा दिने उद्देश्यले सुरु गरिएको हो। यसको इतिहास भने युरोपमा सन् १९२२ मा Vicente Clave भन्ने एक प्रकाशन गृहका मालिकले लेखक Miguel de Cervantes को सम्मान गर्न तथा उनका पुस्तकको बिक्री बढाउने उद्देश्यले सुरु गरेका थिए।

अमेरिकामा सन् १९२८ देखि नै नोभेम्बर महिनाको १ तारिखका दिन राष्ट्रिय लेखक दिवस मनाउने गरेको पाइन्छ। एउटा स्थानीय महिला क्लबकी अध्यक्ष Nellie Verne Burt McPherson खुब किताब पढ्थिन्। एक दिन उनले Irving Bacheller नामक लेखकलाई पठाएको चिठीमा लेखकको एउटा कथा (Eben Holdens’s Last Day A’ fishing) खुब मन परेको कुरा लेखिन्।

त्यो चिठी पाएका लेखकले ती पाठकलाई अटोग्राफका साथमा आफ्नो नयाँ पुस्तक उपहार पठाइदिए। लेखकले पठाएको त्यो उपहारको ऋण तिर्न ती महिलाले लेखक दिवस मनाउने उपाय सोचिन्र आफ्नो क्लबबाट अनुमोदन गराइन्। पछि उनको प्रस्ताव राज्यले समेत अनुमोदन गर्‍यो।

नेपालमा पर्व र दिवसको सन्दर्भ

कुनै पनि वैज्ञानिक अध्ययनले नेपालमा दिवस मनाउने इतिहास र परम्पराका बारे खुलस्त पारेको पाइँदैन। तर लिच्छवीकालदेखि नै चलेका जात्रा पर्वहरू भने आजपर्यन्त प्रचलनमा छन्। यिनमा इन्द्रजात्रा, गाइजात्रा, रातो मच्छिन्द्रनाथको रथ तान्ने दिन इत्यादि पर्दछन्।

यी जात्रा तथा पर्व मनाउने दिन भने शास्त्रीय तिथिमितिमा आधारित छन्। मनाउनुपर्ने कारणबारे विविध धार्मिक, पर्यावरणीय तथा ऐतिहासिक कथाहरू छन्।

नयाँ र नौला दिवस, जयन्ती तथा पर्वहरू भने २००७ सालको राजनीतिक परिवर्तनपछि र खासगरी पञ्चायती व्यवस्थाको अवधिमा (२०१७-२०४६) घोषणा भई लोकप्रिय भएका पाइन्छन्। त्यस्ता पर्व तथा दिवस घोषणाको आधार धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा कुनै घटना या विशेष व्यक्तिको योगदानको कदर गर्नु या स्मरण गर्नु रहेको देखिन्छ।

यस अध्ययनमा सामेल विज्ञका अनुसार पृथ्वीनारायण शाहको नेपाल एकीकरणको योगदानलाई कदर गर्न उनको जन्मदिनका अवसरमा मनाउने गरिएको पृथ्वी जयन्ती (पुस २७) २००७ सालको राजनीतिक परिवर्तनपछि नै घोषणा गरिएको थियो।

फागनु ७ गते मनाइने प्रजातन्त्र दिवस २००७ साल फागुन ७ गते नै उल्लासमय ढंगले मनाइएको थियो जो त्यसपछिका सरकारले राष्ट्रिय रूपमा मनाउने निर्णय गरे।

माघ १६ गते मनाइने सहिद दिवस राणा शासनका विरुद्ध ज्यान गुमाएका चार सहिदको सम्झनामा मनाइन्छ। यो दिवस पहिले काठमाडौँ नगरपालिकाले सप्ताहव्यापी रूपमा मनाउने गरेको थियो। पछि केन्द्र सरकारले समेत मनाउन थाल्यो।

नेपाली सेनाको स्थापना र शिवरात्रिको दिन पारेर नेपालमा राष्ट्रिय सेना दिवस मनाइने प्रचलन छ। यता संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत नहँदासम्म राष्ट्रिय बाल दिवस पूर्व बडामहारानी रत्नराज्यलक्ष्मीको जन्म दिन तथा नेपाल बाल संगठनको स्थापना भएको दिनलाई मध्यनजर गरेर मनाइने गरिन्थ्यो।

अन्तर्राष्ट्रिय रूपमा भने बाल दिवस नोभेम्बर २० तारिखमा मनाइन्छ जुन दिन संयुक्त राष्ट्रसंघले बालबालिकासम्बन्धी महासन्धि पारित गरेको थियो। नेपालमा सर्वाधिक लोकप्रिय अर्को दिवस होली पनि हो। यो रङको दिवसका रूपमा प्रचलित छ। यो राधाकृष्णको अपरम्परित प्रेमको सम्झनामा मनाइन्छ।

साथै विष्णुका अतुलनीय भक्त प्रल्हादलाई अभिमानी असुर हिरण्यकशिपुबाट जोगाउन होलिका या सिंहिकाले पुर्‍याएको योगदान कदर स्वरूप, असत्यमाथि सत्यको जितको रूपमा समेत यस दिनलाई सम्झने गरिन्छ।

असार १५ मा राष्ट्रिय धान दिवस मनाउने प्रचलन पनि अहिले नेपालमा सुरु भएको छ।

कृषिप्रधान देश नेपालमा किसानको मनोबल उच्च राख्ने, कृषि श्रमको सम्मान गर्ने, कृषिको महत्त्व र आवश्यकता बोध गराउने तथा राज्य र नागरिकलाई कृषिकार्यतर्फ अभिमुख गराउने उद्देश्यले मनाइने यो दिवसमा धान रोपाइँ गर्ने, हिलो छ्यापाछ्याप गर्ने, धानबाट बनेका परिकार खाने आदि क्रियाकलाप गर्ने गरेको पाइन्छ।

काठमाडौँका व्यापारी शंखधर शाख्वाले ऋणको समस्यामा परेका काठमाडौँवासीहरूलाई ऋणमुक्त गरेर नयाँ संवत् नेपाल सम्वत् सुरु गरेको इतिहास छ। कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल भरका नेवार समुदायले विशेष उत्सवका रूपमा मनाउने गरेकोमा आजभोलि अन्य समुदायमा समेत बिस्तार भएको पाइन्छ।

भाषा साहित्यतर्फ भानु जयन्ती सबैभन्दा लोकप्रिय छ। यो नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मदिनका अवसरमा मनाइन्छ। यसको प्रभाव भाषा साहित्यका विद्यार्थीदेखि सर्वसाधारण अनि नेपालदेखि बाहिर नेपाली भाषी मानिस भएका विश्वका सबै ठाउँमा परेको देखिन्छ।

देवकोटा जयन्ती लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषासाहित्यमा पुर्याएको योगदानको कदर गर्दै उनको जन्मदिनमा मनाउने गरिन्छ। त्यस्तै बालकृष्ण सम, गोपालप्रसाद रिमाल, भूपि, शंकर लामिछाने, पारिजातलगायत धेरै लेखकहरूका स्मृतिमा उनीहरूको योगदानको कदरस्वरूप जयन्ती या दिवस मनाउने गरिन्छ।

राजनीतितर्फ विश्वेश्वरप्रसाद कोइरालाको जन्मदिनमा भाद्र २४ गते मनाइने बीपी जयन्ती अनि असार १५ गते पुष्पलाल श्रेष्ठको जन्मदिनमा मनाइने पुष्पलाल स्मृति दिवस सर्वाधिक लोकप्रिय छन्। करिब एक दशक अगाडिदेखि नेपालमा टोपी दिवसको प्रचलन सुरु भएको देखिन्छ।

यो दिवस अंग्रेजी सम्वतको नयाँ वर्ष जनवरी १ का दिन प्रस्तावित भई संसारभर छरिएर रहेका नेपालीहरूबिच ढाका टोपी लगाएर शुभकामना आदानप्रदान गरेर मनाउन थालिएको छ। आजभोलि ढाकाटोपीका अलावा दौरा सुरुवाल लगाउने चलनसमेत यसमा थपिएको छ।

दिवस प्रस्ताव र मनाउने सैद्धान्तिक वैचारिक आधार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसका आयाम र सन्दर्भको अध्ययन अनि मूल्यांकन गर्दा दिवस मनाउने मुख्य तीन सैद्धान्तिक आधारहरू देखिन्छन्।

१. अधिकारमुखी दिवस (नागरिक र पेसागत अधिकारको सुनिश्चिता हेतु : विश्वपरिवेशमा हेर्ने हो भने उत्तर औपनिवेशकालमा सुरु भएका दिवसहरू यसअन्तर्गत पर्दछन्।

उदाहरणको रूपमा अन्तर्राष्ट्रिय महिला दिवस, बाल दिवस, मजदुर दिवस, आदिवासी दिवस इत्यादि। नेपालको सन्दर्भमा हेर्ने हो भने अधिकारमुखी सैद्धान्तिक आधारमा दिवस प्रस्ताव गर्ने र मनाउने परम्परा निकै कम छ। २००७ सालको प्रजातन्त्रिक परिवर्तनपछि नागरिक र पेशागत अधिकारको प्रत्याभूती गर्ने हेतुले बाल दिवस, शिक्षा दिवस आदि यस अन्तर्गत पर्ने देखिन्छ।

२. संरक्षण तथा प्रवर्धनमुखी (मौलिक इतिहास, संस्कृति, परम्पराको सम्झना, संरक्षण र जगेर्ना हेतु) : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूमध्ये अमेरिकाको आदिवासी दिवस र थेङ्सगिभिड, चिनको कियुझी दिवस, भारतको स्वतन्त्रता दिवस, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, विश्व किताब दिवस, अन्तर्राष्ट्रिय कविता दिवस, नेपालको टोपी दिवस आदि यसअन्तर्गत पर्ने देखिन्छ।

३. मूल्यांकनमुखी (घटना, समूह या व्यक्तिको महत्त्व, प्रशंसा, गौरव, योगदानको मूल्यांकन हेतु) :  यसअन्तर्गत अमेरिकी राष्ट्रिय लेखक दिवस, विश्व सोच दिवस, भ्यालेन्टाइन डे, नेपालको शहिद दिवस, भानु जयन्ती, पृथ्वी जयन्ती आदिलाई लिन सकिन्छ।

नेपालमा राष्ट्रिय लेखक दिवस वैशाख १६ मा मनाउने सन्दर्भ र आयाम

नेपाली लेखक संघले वैशाख १६ का दिन राष्ट्रिय लेखक दिवस मनाउन गरेको प्रस्ताव माथि उल्लिखित मूल्यांकनमुखी तेस्रो सैद्धान्तिक आधारको नजिक रहेको छ।

सरल रूपमा भन्ने हो भने यो प्रस्ताव ऐतिहासिक विशिष्ट घटना र त्यससँग सम्बद्ध समूहको योगदानको मूल्यांकनमा आधारित रहेको छ। वैशाख १६ गते नेपाली भाषा-साहित्यको इतिहासमा पुस्तकालय पर्वको रूपमा परिचित विशिष्ट घटनासँग सम्बन्धित दिन हो।

पुस्तकालय पर्व वि सं १९८७ सालको घटना थियो। त्यसबेला राणा प्रधानमन्त्री श्री ३ महाराज भीमशमशेर थिए। राणा शासकहरूमध्ये पनि भीम शमशेर कठोर मानिन्थे तथापि उनैले देशमा नेपाली, हिन्दी, अग्रेजी र नेवारीमा भाषाको उन्नति गर्न भनेर इस्तिहार जारी गरे (शर्मा, २०६४)।

यता काठमाडौँका केही नेवारी भाषी सचेत युवाहरूमाझ मातृभाषा नेवारी भाषाको साहित्यको पुनर्जागरण गर्नुपर्यो भन्ने चेतना पलाउँदै थियो। यस्तो चेतना जाग्नुमा भारतको बङ्गाल प्रान्तमा मातृभाषालाई दिइएको प्राथमिकताले काम गरेको थियो (लाकौल, २०५२)।

भीमशमशेरको इस्तिहारबाट प्रभावित भएर पठन संस्कृतिको विकास तथा देशविदेशका कुरा थाहा पाउन पुस्तकालयको आवश्यकता महसुस गरी काठमाडौँ सरहदभित्र रहेका, आधुनिकताको चेतना जागिसकेका युवा, लेखक तथा साहित्यकारहरूमा जनस्तरबाट पुस्तकालय स्थापना गरी वादविवाद तथा देशविदेशका सूचना लिने मञ्च खडा गर्ने सोच पलायो (पंगेनी, २०६८, बस्नेत, २०७६, शर्मा, २०६४, शर्मा, २०५६)।

ती युवाहरू भारतमा भइरहेको अङ्ग्रेज धपाउ अभियान र त्यसले ल्याएको नवजागरणसँग सुपरिचित थिए।

यस्ता युवाहरूमा योगवीरसिंह कंसाकार, तुलसी मेहर र भर्खर मात्र भीमशमशेरको अनुमतिले नेपाल प्रवेश गर्न पाएका कृष्णप्रसाद कोइराला मुख्य थिए। उनीहरूबिच सरस्वती गुठी नामक संस्था खोली सामाजिक कार्य गर्ने अनि भारतमा भइरहेको क्रान्तिबारे काठमाडौँका युवाहरूलाई सुसूचित गर्ने उद्देश्यमा पनि छलफल भएको थियो (लाकौल, २०५२)।

उनीहरूले त्रिचन्द्र कलेजका साथै भारतबाट अध्ययन गरेर फर्केका अन्य पढेलेखेका युवाहरूलाई पनि पुस्तकालय स्थापना गर्ने उक्त अभियानमा सामेल गराउन चाहे।

त्यस्तो पुस्तकालय महेन्द्रबहालमा राख्ने योजनासहित ४५ जना युवाहरूले श्री ३ भीमशमशेरसमक्ष निवेदन पेस गर्न हस्ताक्षर अभियान चलाए। हस्ताक्षर गराउने जिम्मा बैकुण्ठप्रसाद लाकौलले पाएका थिए (लाकौल, २०५२, पंगेनी, २०६८ पृ. ४५)।

केही समयपश्चात हस्ताक्षर संकलन समेत भईवरी दरबारमा पत्र बुझाइयो। तर रामचन्द्र अधिकारी नामक अर्का युवाले हस्ताक्षरकर्ता युवाहरूको अभियान राजनीतिक उद्देश्यको भएकोर श्री ३ को गाथगादी ताकेका छन् भन्ने उजुरी दरबारमा चढाए (पंगेनी, २०६८, शर्मा, २०६४, बस्नेत, २०७६)। यसरी सरस्वती गुठी नामक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय खोल्नेकार्यलाई राजनीतिक आवरणको आरोप लागेपछि दरबारले पत्रका हस्ताक्षरकर्ता सबैलाई पक्राउ गर्न उर्दी जारी गर्‍यो।

अधिकांश हस्ताक्षरकर्ताहरूलाई पक्राउ गरी बयान लिने क्रममा उक्त घटनालाई लाइब्रेरी पर्व भनी मुद्दा जाहेर भयो।

वि सं १९८७ साल वैशाख १६ र १७ गते दुई दिन गरी पुस्तकालय खोल्ने अभियानका युवाहरूलाई पक्राउ गरियो (बस्नेत, २०७६, पृ. ४३)। हस्ताक्षरकर्ताहरू मध्ये खण्डमानलाई मृत्युदण्ड दिइयो, उमेश शाहलाई देश निकाला गरेको र मैनाबहादुर, खड्गमान, रंगनाथ आदिलाई जन्मकैदको सजाय सुनाइएको थियो (पंगेनी, २०६८, पृ ४५)।

लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णप्रसाद कोइरालालगायतलाई रु. १०० जरिवाना र अबका १२ वर्ष जनस्तरका कुनै कार्य गर्ने छैन भन्ने कागज गराई छोडियो (बस्नेत, २०७६, पंगेनी, २०६८, शर्मा, २०६४)। राज खानदानका भएर पनि दुनियाँका छोराहरूका साथ हिँडेको भनी जितेन्द्रबहादुर शाह र पद्म शाहलाई जनही रु. १००० जरिवाना गरिएको थियो ( पंगेनी, २०६८, पृ. ४५)।

पुस्तकालय खोल्न पाऊँ भनी पत्रमा हस्ताक्षर गर्ने ४५ जना युवाहरूमध्ये केहीको नामावली यसप्रकार छ : १) कृष्णप्रसाद कोइराला २) चित्तधर हृदय ३) योगवीरसिंह कंसाकार ४) हर्षदास तुलाधर ५) लक्ष्मीप्रसाद देवकोटा ६) सिद्धिचरण श्रेष्ठ ७) महेन्द्रविक्रम शाह ८) शंकरदेव पन्त ९) हरिकृष्ण श्रेष्ठ १०) बैकुण्ठप्रसाद लाकौल ११) प्रेमबहादुर कंसाकार १२) धर्मराज थपलिया (कैद) १३) जितेन्द्रबहादुर शाह (रु. १००० जरिवाना) १४) कृष्णप्रसाद खतिवडा १५) तुलसी मेहर १६) चन्द्रबहादुर १७) मदनबहादुर १८) कृष्णदेव भट्टराई १९) धर्मवीर सिंह २०) सिद्धिरत्न कंसाकार २१) झंकनाथ उपाध्याय २२) लीलाराज तुलाधर २१) नारायण मल्ल २२) तिलकमणि आ.दी. २३)पद्मबहादुर शाह (रु. १००० जरिवाना) २४) केशवबहादुर क्षेत्री २५) नारायणभक्त २६) वासुदेव शर्मा २७) खड्गमान न्यौपाने २८) लक्ष्मीरञ्जन जोशी २९) भैरवप्रसाद जोशी ३०) ठाकुरनाथ ३१) शंकरप्रसाद नेपाल ३२) राजाराम शर्मा ३३) वसन्तमणि आ. दी. ३४) चित्रधर उपासक (पंगेनी, २०६८) ३५) उमेश शाह ३६) मैनाबहादुर ३७) रंगनाथ (पंगेनी, २०६८, बस्नेत, २०७६, शर्मा २०६४)।

पुस्तकालय खोल्ने योजना र भीम शमशेरको आदेशमा पक्राउ पर्नुका सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले यस्तो विचार व्यक्त गरेका छन् :  सन् १९३० मा बीए फाइनल जाँच दिएर घर फर्केको मात्र थिएँ। केही साथीहरूले पब्लिक लाईब्रेरी (जन पुस्तकालय) खोल्ने विचार गरेर बनाएको कार्यक्रममा सही गराए। त्यसको करिब एक महिनापछि एक दिन भात खान लाग्दा त्यस बखतका प्रधानमन्त्री महाराजले हामीलाई ३-३ वर्षको जेल सुनाए। त्यसबखत मेरो ब्रह्म क्रोध जाग्यो तर केही गर्न सकिनँ। आखिर कसो कसो कुरा कहेर १०० रूपियाँ जरिमाना र १२ वर्ष जनहितको कुनै किसिमको काम नगर्ने कागज गरिदिएपछि हामीले छुटकारा पायौँ (पंगेनी, २०६८, पृ ४६)। प्राप्त सूचना र अध्ययन सामग्री केलाउँदा लाइब्रेरी पर्व नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक तथा भाषिक इतिहास समेट्ने एक बहुआयामिक घटनाका रूपमा देखापर्दछ।

१. लाइब्रेरी पर्व राणा प्रधानमन्त्री भीमशमशेरको शासनमा जनसहभागिता होस्भन्ने ध्येयको उपज थियो।

२. लाइब्रेरी पर्व सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गर्ने उद्देश्यसँग जोडिएको घटना थियो।

३. लाइब्रेरी पर्वलेराजनीतिक, साहित्यिक, सामाजिक तथा सांस्कृतिक चेतना भएका युवाहरूको सामूहिक अभियानको प्रतिनिधित्व गर्दछ।

४. लाइब्रेरी पर्व मातृभाषाको संरक्षण र मातृभाषी साहित्यको उत्थानसँग सम्बन्धित घटना देखापर्दछ।

५. लाइब्रेरी पर्व लेखक/स्रष्टाहरूले सामूहिक रूपमा दण्ड र सजाय पाएको बृहत घटनाको प्रतिनिधित्व गर्दछ।

६. लाइब्रेरी पर्वले पठन संस्कृतिको आवश्यकता र महत्त्वको प्रतिनिधित्व गर्दछ।

७. लाइब्रेरी पर्वले परम्परागत नेपाली समाज आधुनिकतातर्फ रूपान्तरण हुने क्रममा रहेको समयको प्रतिनिधित्व गर्दछ।

निष्कर्ष

लाइब्रेरी पर्व नेपाली लेखक साहित्यकार तथा बुद्धिजीवीहरू सहभागी भएको एक ऐतिहासिक तथा बहुआयामिक अभियानको रूपमा देखापर्दछ। यस पर्वले संस्था, साहित्य, राजनीति, समाज, संस्कृति र मातृभाषाको प्रत्यक्ष रूपमा सम्बोधन गरेको देखिन्छ। लेखन, प्रकाशन तथा वैचारिक स्वतन्त्रता जस्ता पक्षहरू समेत लाइब्रेरी पर्वले समेट्ने देखिन्छ। लेखकहरूका लागि त पुस्तकालय जीवित बिम्ब नै हो।

नेपालमा राजनीतिक दल गठन हुनुभन्दा अगाडिको अभियान भएको हुनालेलाइब्रेरी पर्व घटित भएको समयमा वैचारिक आधारमा लेखक बुद्धिजीवीहरू विभाजित भएको पनि देखिंदैन। यस अर्थमा उक्त पर्व सबै लेखक साहित्यकारहरूका लागि साझा पर्वका रूपमा देखापर्दछ। लाइब्रेरी लेखकहरूका लागि एउटा जीवित संस्था हो भने सामाजिक हिसाबले सूचना र जागृतिको केन्द्र हो। राजनीतिक हिसाबले संगठन र प्रशिक्षणको लागि मञ्च हो लाइब्रेरी।

अभिव्यक्ति र प्रकाशन स्वतन्त्रताको विम्व पनि हो लाइब्रेरी। यस अर्थमा लाइब्रेरी पर्वको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक आयाम र प्रभावको मूल्यांकनस्वरूप नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने आधार भेटिन्छ।

त्यसकारण यसका अभियन्ता लेखक बुद्धिजीवीहरूलाई पक्राउ गरेको मिति १९८७ साल वैशाख १६ र १७ गते मध्ये सुरु दिन वैशाख १६ गतेलाई लेखक दिवस मनाउनुउपयुक्त हुने देखिन्छ। राष्ट्रिय लेखक दिवस कसरी मनाउने ! विभिन्न दिवस मनाउने ऐतिहासिक तौरतरिकाको अध्ययनका आधारमा नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने सम्बन्धी केही तौरतरिका यहाँ प्रस्ताव गरिएको छ :

१. लेखकहरूबीच एकआपसमा शुभकामना साटासाटा गर्ने

२. कुनै नयाँ रचना या पुस्तक लेखेर या प्रकाशन गर्ने

३. लेखकहरू पुस्तकालयमा भेला भई रचना सुन्ने सुनाउने, पढ्ने, अन्तर्क्रिया तथा विमर्श गर्ने

४. विभिन्न गोष्ठी सभा समारोहको आयोजना गर्ने

५. मातृभाषाको संरक्षण, जगेर्नासम्बन्धी कार्यक्रम तथा मातृभाषाको साहित्य सिर्जना गर्ने

६. कुनै नयाँ सामाजिक तथा साहित्यिक संस्था स्थापना गर्ने

सन्दर्भ सामग्री

कोइराला, बीपी (२०७६), बीपी कोइरालाको डायरी, २००८-२०१३, काठमाडौँ, शिखा बुक्स

नेपाल, रत्नमणि (२०७८), विचार र बहसका पक्षमा, लेखक वर्ष १३ अंक ४

प्रधान, हृदयचन्द्र सिंह (२०२७), श्री ५ सित जागरणका सम्पादकको भेट (पृ. ५२९-५३३), श्री ५ त्रिभुवन स्मृतिग्रन्थ, काठमाडौँ, त्रिभुवन स्मारक समिति

पंगनी, भवेश्वर (२०६८) केन्द्रीय पुस्तकालयका पाँच दशक (वि सं २०१६-२०६६), काठमाडौँ, त्रिवि केन्द्रीय पुस्तकालय

बस्नेत, पुरुषोत्तम (२०७६ ते. सं.), नेपाली कांग्रेसको इतिहासको प्रारूप भाग १, काठमाडौँ, शिखा बुक्स

भट्टराई, तुलसी (२०६५), लेखक संघः विगत र आगत, लेखक वर्ष १ अंक १

मल्ल, विजयबहादुर (२०३९), संस्मरण, प्रज्ञाप्रतिष्ठानका अविस्मरणीय क्षण, काठमाडौँ, ने. रा. प्र. प्र., पृ. ६३-८३

मल्ल, गोविन्द बहादुर (२०३९), संस्मरण, प्रज्ञा प्रतिष्ठानका अविस्मरणीय क्षण, काठमाडौँ, ने. रा. प्र. प्र. पृ. १७-२७

शर्मा, तारानाथ (२०५६) नेपाली साहित्यको इतिहास, काठमाडौँ, साझा प्रकाशन

शर्मा, श्यामप्रसाद (२०६५), मेरा डायरीका पाना (१९४५-१९६०), सम्पादक नरनाथ लुइँटेल, काठमाडौँ, साहित्य सदन

शर्मा, सुकुम (२०६४), नेपाली भाषा साहित्यमा आन्दोलन काठमाडौँ, एकेडेमिक बुक

एट्जिओनी, अमिटाइ एन्ड ब्लुम, यारेड (सन् २००४), वी आर ह्वाट वी सेलिव्रेट अन्डरस्ट्यान्डिङ्हो लिडेज एन्ड रिटुअल्स, (https://www.researchgate.net/publication/313985952_We_Are_What_We_Celebrate_Understanding_Holidays_and_Rituals)

ड्याडम्यान एन्ड मडानी, (सन्२०२१) इन्भेस्टसगेट द कन्सेप्ट अफ फेस्टिभल एन्ड सेलिव्रेसन एमोङ कल्चरल एन्ड हिस्टोरिकल विल्डिङ, (https://journal.unesa.ac.id/index.php/jpips/article/view/15471/7818)

Internationalwormendss.com

medium.com

nationaldaycallender.com

unesco.org

www.un.org

(डा. नेपालद्वारा हालै झापामा आयोजित नेपाली लेखक संघको गोष्ठीमा प्रस्तुत कार्यपत्र)

प्रकाशित: २ वैशाख २०८० ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =