एपीएफमाथि हिमालयन शेर्पाको फराकिलो जित, एनआरटीको समस्या गहिरिँदै

हिमाल प्रेस २९ चैत २०७९ १७:४२
18
SHARES
एपीएफमाथि हिमालयन शेर्पाको फराकिलो जित, एनआरटीको समस्या गहिरिँदै

काठमाडौँ– संकटा क्लबले सहिद स्मारक ए डिभिजनमा तेस्रो जित दर्ता गरेको छ। संकटाले दशरथ रंगशालामा बुधबार दिउँसो न्युरोड टिम एनआरटी लाई २–१ ले हराउँदा मनिष डाँगी निर्णायक सावित भए। उनले एक गोल गरे भने अर्को गोलका लागि असिस्ट गरे।

बुधबारकै अर्को खेलमा हिमालयन शेर्पा क्लबले नेपाल एपीएफ क्लबलाई ५–३ ले स्तब्ध बनायो। हिमालयन शेर्पाका लागि सत्यम शर्माले दुई गोल गरे। त्यसैगरी सुदिप श्रेष्ठ, अबायोमी फाकुन्ले र विश्वास श्रेष्ठले एक–एक गोल गरे।
एपीएफका लागि अर्मान्ड बिडौम, सनिस श्रेष्ठ र प्रदीप लामाले एक–एक गोल फर्काए।

गत आइतबार मछिन्द्र क्लबसँग २–१ ले हारेको संकटाका लागि जुनियर ओनगुएने एन्केंगुले पहिलो हाफको २२ औँ मिनेटमा गोल गरेका थिए। मनिषले प्रहार गरेको कर्नरबाट आएको बललाई एन्केंगुले गोलमा परिणत गरेका थिए। उनले लिगमा दोस्रो पटक गोल गरेका हुन्।

संकटाले पहिलो हाफ नसकिँदै अग्रता दोब्बर बनाएको थियो। नेल्सन युनिओ कोन्फोरले दिएको थ्रुबल लाई नियन्त्रणमा लिँदै मनिषले आत्मविश्वासी ढंगमा फिनिसिङ गरेका थिए।

एनआरटीले दोस्रो हाफको ५२ औँ मिनेटमा गोल फर्कायो। एनआरटीका तर्फबाट प्रभावकारी देखिएका निकोल सर्ज सङले गोल गरेका थिए। गोलको मुभ सङ र लालनुन्जामाबीचको वान टु वान पासका कारण बनेको थियो।
संकटाको बक्समा पुगेका लालनुन्जामाले गरेको बल पोस्टमा ठोक्किएर फिर्ता आएको थियो। रिबाउन्डमा आएको बललाई सङले जाली चुमाइदिए। सङले दोस्रो हाफमा अरु थुप्रै मौका पाए पनि गोल थप्न सकेननन्। जसकारण एनआरटी चौथो हार भोग्न बाध्य भयो।

जितपछि संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले दोस्रो हाफ पहिलो हाफ जसरी खेल्न नसकेको प्रतिक्रिया दिए। ‘पहिलो हाफमा हामीले ठिकठाक खेल्यौँ। तर दोस्रो हाफमा हाम्रो प्रदर्शन खस्कियो। एनआरटीले दबाबमा राख्यो,’ सल्यानले भने।

दोस्रो हाफमा दबाब सहनु परे पनि आखिरमा तीन अंक बटुल्न सकेकाले आफू सन्तुष्ट रहेको सल्यानको भनाइ थियो। ‘फुटबलमा गोल चाहिने हो। जितका लागि गोल नै गनिन्छ। हामीले चाहिएको बेला गोल ग¥यौँ। तीन अंक आफ्नो पक्षमा पार्‍यौँ। यसकारण सन्तुष्ट छु,’ सल्यानले थपे।

जितले संकटालाई सातौँ स्थानमा पुर्‍याएको छ। आठौँ खेल खेलिसक्दा संकटाको १२ अंक भएको छ, जुन शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबको भन्दा तीन कम हो। मनाङले बुधबार सातदोबाटो युथ क्लबलाई पराजित गरे, शीर्षस्थानमाथिको पकड थप बलियो बनाउनेछ। तर मनाङ हारे सातदोबाटो लिग लिडर बन्नेछ।

पाँचौँ र छैटौँ स्थानमा रहेका त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबको पनि १२–१२ अंक नै छ। गोल अन्तरले यी तीन टिमलाई छुट्याएको हो।

उता पराजित एनआरटी भने १२ औँ स्थानमा छ। आठ खेलमध्ये एकमा मात्र जित हासिल गरेको एनआरटीसँग ६ अंक छ। पुछारका दुई स्थानमा रहेकम नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबले सात–सात खेल खेलेर चार–चार अंक जम्मा गरेका छन्।

लिगमा चौथो पटक २–१ को हार व्यहोरेपछि एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य निराश देखिए। ‘गोल भइरहेको छ। पुनरागमनको प्रयास नभइरहेको पनि होइन। तर पनि हारिरहेका छौँ,’ राजुकाजीको सुरुवाती प्रतिक्रिया थियो।

आफ्ना खेलाडीहरूले बारम्बार उही गल्ती दोहोर्‍याइरहँदा गोल खानु परिरहेको राजुकाजीको भनाइ थियो। ‘प्रत्येक दिन अभ्यासमा खेलाडीहरुलाई सम्झाउने गरिएको छ। उनीहरुले बुझ्न नसकेको हो वा नटरेको, थाहा छैन। तर प्रत्येक खेलमा सेटपिस डिफेन्ड गर्न नसक्दा अप्ठ्यारो परिरहेको छ,’ राजुकाजीले भने।

खेलाडी बारम्बार घाइते र बिरामी हुँदा टिम सेट हुन नसकेको पनि राजुकाजीले बताए। ‘यही लय जारी रहे, हामीलाई निकै गाह्रो हुनेवाला छ,’ राजुकाजीले निराशा पोखे।

सातदोबाटो र जावलाखेल युथ क्लबसँग २–१ को पराजय भोगेको एनआरटी मनाङसँग ३–१ ले निराश बनेको थियो। चर्च ब्वाइज युनाइटेडसँग २–२, त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–३ अनि नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको एनआरटीले जावलाखेल युथ क्लबलाई भने २–१ ले पन्छाएको थियो।

मछिन्द्र र खुमलटार युवा क्लबबीचको खेलमा १० गोल भएको भोलिपल्ट पनि च्यासलमा गोलको वर्षा भएको छ। त्यहाँ हिमालयन शेर्पाले एपीएफमाथि पहिलोे हाफमै तीन गोल गरेको थियो।

सुदिपले आठौँ मिनेटमा गोल गरेपछि अघि बढेको हिमालयन शेर्पाका लागि सत्यमले २४ र २९ औँ मिनेटमा गोल थपे। सत्यमले यसअघि मछिन्द्रविरुद्ध पनि गोल गरेका थिए।

पहिलो हाफ सकिनै लाग्दा एपीएफले एक गोल फर्काएको थियो। बिडौमले लिगमा तेस्रो पटक गोल गरेका हुन्। उनले थ्रीस्टार क्लबमाथिको जित र मनाङसँगको हारमा पनि गोल गरेका थिए।

राष्ट्रिय टिमका फुलब्याक सनिस श्रेष्ठ र प्रदीप लामाले ४७ तथा ६३ औँ मिनेटमा गोल थपेपछि एपीएफ खेलमा फर्किएको थियो। तर फाकुन्ले र विश्वास श्रेष्ठले ७५ र ८९ औँ मिनेटमा हिमालायनको गोल लयलाई जारी राखेपछि एपीएफ तेस्रो हार व्यहोर्न बाध्य भयो।

हारपछि एपीएफ आठौँ स्थानमा झरेको छ। एपीएफसँग ११ अंक छ। हिमालयन शेर्पा भने नौ अंकसहित १० औँ स्थानमा छ।

प्रकाशित: २९ चैत २०७९ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =