रजतपट २०७९

सर्वाधिक कमाउने फिल्म कबड्डी ४, उत्कृष्ट सातमा कुन कुन?

हिमाल प्रेस २९ चैत २०७९ ६:१८
8
SHARES
सर्वाधिक कमाउने फिल्म कबड्डी ४, उत्कृष्ट सातमा कुन कुन?

काठमाडौँ- चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्मको विवरण सार्वजनिक गरेको छ। बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १ सय ३५ चलचित्र प्रदर्शन भएका थिए। बोर्डले तीमध्ये १ सय ३२ वटा फिल्मको कमाइ सार्वजनिक गरेको छ।

बोर्डको विवरणअनुसार फिल्म ‘कबड्डी  ४ः द फाइनल म्याच’ को ७ लाख ६६ हजार ७ सय टिकट बिक्री भएबापत रु. २१ करोड ३८ लाख १३ हजार ४ सय ६२ ग्रस व्यापार गरेको छ।  विदेशीतर्फ कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ ले ६ लाख ७७ हजार ६ सय ९९ टिकेट बिक्री भएबापत रु. १९ करोड २९ लाख १३ हजार ७ सय ५८ ग्रस कमाएको छ। नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई फिल्म हुन्।

बोर्डले सार्वजनिक गरेको तथ्यांकमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए।

तथ्यांकअनुसार यस वर्षभरमा प्रदर्शन भएका फिल्म शिवानीको पाँचवटा टिकट मात्रै बिक्री भएका छन्। जसबाट चलचित्रले रु.५ सय २० ग्रस कलेक्सन गरेको छ।

‘सबै चलचित्र भवनमा बक्सअफिसको प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुन सक्छ। केहीले नियतवश पनि गरिरहेका हुन्छन्। तर बोर्डले यसमा अनुमगन बढाएको छ,’ अधिकृत पाण्डेले भने, ‘हामीसँग रहेको आधिकारिक तथ्यांक सार्वजनिक गरेका हौँ।’

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक व्यापार गर्ने सात नेपाली फिल्म

कबड्डी ४- द फाइनल म्याच

‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। बोर्डको विवरणअनुसार फिल्म ‘कबड्डी ४- द फाइनल म्याच’ को ७ लाख ६६ हजार ७ सय टिकट बिक्री भएबापत रु २१ करोड ३८ लाख १३ हजार ४ सय ६२ ग्रस व्यापार गर्न सफल भएको छ। बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय छ।

छक्का पञ्जा ४

हास्यकलाकारको समूहले टेलिशृङलामा पाइरहेको लोकप्रियतालाई ठूलोपर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत फिल्म निर्माण सुरु गरे। त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन्। गत फागुन १९ देखि प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ४’ले बोर्डको विवरणअनुसार ६ लाख ८ हजार ४ सय २ टिकट बिक्री भएबापत रु १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ ग्रस व्यापार गरेको छ।

प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ। राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको चलचित्रमा पिताको विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताका रुपमा चित्रण गरिएको छ। हेमराज विसी निर्देशित फिल्ममा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ।

प्रेम गीत ३

‘प्रेम गीत’ को तेस्रो शृङलाका रूपमा प्रदर्शन भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो। सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठ लगायतको अभिनय छ। प्रेम कथानक फिल्मको पहिचान बनाएको शृङ्खलाबाटै अभिनेता खड्का अहिलेको उचाइमा पुगे। चलचित्रले नेपाली भाषामा २ लाख ६९ हजार ७ सय ४४ टिकट बिक्री भएबापत रु ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ र हिन्दी भाषामा ८३ हजार १ सय ४४ टिकट बिक्री भएबापत २ करोड २७ लाख २९ हजार ३ सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ।

महापुरुष

सर्वाधिक कमाई गर्ने चौथो फिल्म ‘महापुरुष’ बनेको छ। फिल्मले २ लाख ४७ हजार ५ सय १७ टिकट बिक्री भएबापत ७ करोड ३८ लाख ९० हजार ६ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइलीलगायत कलाकारले अभिनय छ। यसमा एक्लो जीवन बिताइरहेका अभिभावकको कथा र चाहनालाई देखाइएको छ।

दुई नम्बरी

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने फिल्मको पाँचौँ नम्बरमा छ। फिल्मको १ लाख ४१ हजार ६ सय ३९ टिकट बिक्री भएबापत रु ३ करोड ८४ लाख ७३ हजार ५ सय २० को ग्रस कलेक्सन भएको छ। मित्रताको कथामा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुष्‍कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

फूलबारी

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘फूलबारी’ सर्वाधिक कमाई गर्ने फिल्मको सूचीमा छैटौँ स्थानमा छ। अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय छ। फिल्मले १ लाख २६ हजार १  सय ९० टिकट बिक्री भएबापत ३ करोड ५२ लाख ८९ हजार ४ सय ५९ रुपैयाँको ग्रस व्यापार भएको छ। अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारलाई कथा बनाइएको फिल्ममा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा लेखन छ।

झिङेदाउ

ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिङेदाउ’ सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीको सातौँ स्थानमा छ। बोर्डको विवरणअनुसार चलचित्र १ लाख २२ हजार २ सय ९० टिकट बिक्री भएबापत ३ करोड ४१ लाख १३ हजार २ सय २३ रुपैयाँ ग्रस व्यापार गरेको छ। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायतले अभिनय छ। भीमनिधि तिवारीको सोही नामको कृतिमा आधारित फिल्म ‘झिङेदाउ’ मा प्राचीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ। देउरानी-जेठानीको सामान्य झगडाबाट परिवारमा आउने आरोहअवरोहलाई प्रस्तुत गरिएको फिल्ममा आमा र दुई दाजुभाइको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ।

प्रकाशित: २९ चैत २०७९ ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =