नियात्रा

भेडेटारको सौन्दर्यपान गरेर तमोरको तीरैतीर

राजाराम बर्तौला २५ चैत २०७९ २१:२३
86
SHARES
भेडेटारको सौन्दर्यपान गरेर तमोरको तीरैतीर

२०७९ चैत १४। यसपालि दुई जना साथीसहित घुम्न निस्किएँ। ऋतुराज भण्डारी, राजन खड्का र म पूर्वतिर हानियौँ फिरन्ते यायावर जसरी। काठमाडाँैबाट पूर्वको भूगोललाई उहिले प्रजातन्त्र आउनुअघि र पछि लामो समयसम्म पूर्व १, २, ३, ४ नं. किरात भनेर चिनिथ्यो।

देश संघीयतामा गएपछि पनि धेरै समयसम्म यो १ नं. प्रदेश बनेर बस्यो। उहिलेको त्यही किरात प्रदेश या हालै नामकरण गरिएको कोशी प्रदेश। त्यसकै दर्शन गर्न हिँडेका थियौँ हामी।

काम केही नहुनेको पनि काम हुन्छ। त्यो भनेको हामीजस्तै ‘कुम्लो बाँधेर ठाउँ चहार्ने’। यसरी ठाउँठाउँ चहार्दा खल्तीमा भ्वाङ परे पनि आँखा, दिमाग र दिललाई शान्ति मिल्छ।

वैदिक कालदेखि ऋषिहरूको तपस्यास्थल थियो, कौशिकी प्रदेश। उचित सम्मान गर्न नजानेर पो हो कि यो ठाउँ अहिलेसम्म देशदर्शनको सूचीमा पर्न नै कठिन भएको। बराह रूपमा भगवान् स्वयं कोशी तटमा मन्दिर बनाएर विराजमान भएको किंवदन्ती छन्। अतः कौशिकीको बराह क्षेत्र अवलोकन गर्नु र पितृलाई जलअर्पण गर्नु पनि भ्रमणको उद्देश्य थियो।

धुलिखेलबाट दक्षिण सिन्धुलीतर्फको यात्रा नेपालका चर्चित लोकतान्त्रिक जननेता विश्वेश्वरप्रसाद कोइरालाका नाममा जापानले बनाइदिएको बीपी मार्ग हुँदै अगाडि बढ्यो। सुनकोशी र तामाकोशीले जलप्रवाहको गति पूर्वतर्फ मोडिएपछि हामी सिन्धुलीतर्फ लाग्यौँ। बागमती खोलामा यहाँको पानी हालेर रौतहट धनुषा, महोत्तरी, सर्लाही र बारामा सिँचाइ सुविधा उपलब्ध गराउन सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम हुँदैछ।

सेल्फीडाँडा, ऐनामोड हेर्दै कमलामाई नगरपालिका पुग्यौँ। सिन्धुली जिल्ला जुनारका लागि प्रसिद्ध भएको हुँदा बाटा छेउका पसलमा हेर्दै हिँड्यौँ। चैत लागेर होला बोटमा फलेको देख्ने कुरै भएन, जुनार र सुन्तला बजारमा पनि कमै देखियो।

सिन्धुलीगढीबाट ओरालो लागेपछिको दृश्य भनेको सालको मञ्जरी देखिनु हो। भिमानदेखि उदयपुरको पूर्वीसीमा कोशीतटसम्म सालघारीको मनोहारी दृश्य देखिन्छ। सायद नेपालमा सबैभन्दा बृहत्तर साल वृक्षले ढाकेकोे साल वन यही होला। अतिसय सालघारी भएर वा सजिलै काठ पाइने भएकाले होला प्रायः घर काठैकाठबाट बनेका देखिन्छन्।

हेटौँडाबाट सुरु भएको मदन भण्डारी मार्ग भिमान हुँदै उदयपुरको कटारी, गाईघाट हुँदै धरानसम्म जोडिन पुग्छ। भर्खरै बन्दै गरेको भएर हो कि कालो पिचबाटोमा सवारी मनग्गे देखन्छन्। बाटोको दुवैतर्फ घना सालघारी र त्यसको बीचमा पिचबाटोको यात्रा रमणीय लाग्छ। मदन भण्डारी मार्ग चुरेको खोचैखोच बनाएको हुँदा चुरेबाट बग्ने खहरे खोलाको कोपभाजनमा पर्ने देखिन्छ। अहिल्यै पनि धेरै ठाउँमा पुल–पुलेसा बन्न सकेका छैनन्।

भिमानदेखि कोशीको तटसम्म यात्रा गर्दा यहाँका मानिस विकासको राष्ट्रिय मूलधारबाट वञ्चित रहेको बुझिन्छ। वर्षायाममा कमला नदीले दिने दुःख र विपत्ति एकातिर छँदैछ, आवागमनको कठिनाइ अर्को, भित्री मधेश भन्दै गर्दा पनि भौगोलिक विकटता पनि छ। कटारी बजार हुँदै पूर्व लाग्दा दनुवार र थारूहरूको बाक्लो बस्ती देखिन्छ।

उदयपुरको बाटो नागबेली शैलीमा छ। मदन भण्डारी मार्ग बन्दै गर्दा स्थानीयले उनीहरूको घर भत्काउन नपाउने भन्दै आन्दोलन गरिएकोले बाटो नागबेली बनाउन परेको भन्दा रहेछन्। राज्यमाथि विश्वास कम भएपछि नागरिक आफ्नो स्वामित्वको जायजेथा सार्वजनिक प्रयोजनमा दिन खासै रुचाउँदैनन्। त्यसैका परिणाम हुन्छन्, नागरिक उत्तेजना वा आन्दोलन। तर अहिले सडक राम्रो बनेको छ। यसले स्थानीयलाई लाभ पनि पुर्‍याएको छ।

सिन्धुली र उदयपुरको फाँटले मनै लोभ्याउँछ। सम्भावना नै सम्भावनाले भरिएको, राष्ट्रिय राजनीतिको केन्द्रमा पर्न नसकेको, विकास योजनामा हिस्सा पाउन पनि नसकेको एउटा नितान्त प्राकृतिक अवस्थामा रहेको बस्ती हो सिन्धुली र उदयपुर।

चतरा, धरान हुँदै भेडेटार पुग्दा साँझ परिसकेको थियो। भेडेटारको तोङ्बा सम्झँदै त्यही बास बस्ने निधो गरियो। डाँडाबाट आधुनिकताले छोएको धरानलाई बिजुलीको रंगीन प्रकाशमा हेर्दा छुट्टै आनन्द आउँदो रहेछ। सहरलाई हेर्दै चिसो हावामा तोङ्बा पिउनुको मज्जा झनै बेग्लै। कोदोको तोङ्बामा तातो पानी मिसाउँदै रमरम तातिँदै रमाउनु भेडेटारको विशेषता हो।

भेडेटार पहिलेको जस्तो रहेन। अहिलेको भेडेटारमा सिंह र भेडा सँगै बस्छन्। भेडेटारमा स्काइवाक बन्दैछ र तारे होटल पनि। सीमित होटेलका कारणले बास पाउन कठिन हुने रहेछ। यहाँ जिपलाइन बन्दैछ। प्याराग्लाइडिङका लागि पनि काम भइरहेको छ। नजिकै रहेको नमस्ते झरनाले पर्यटकलाई लोभ्याउने रहेछ। चैतको खडेरीमा हामीले तुरतुरे झरनाको दर्शन गर्‍यौँ। १२७ वटा चिहान खनेर आत्माघर बनाइएको छ। भेडेटार गएर भेडाको सुकुटीको स्वाद लिन चुक्नै भएन।

धरान धनकुटा बीचमा पर्‍यो भेडेटार। न जाडो न चिसो। ठिक्क अनुकूल ठाउँ। तराईको तातोले सताइएकाहरूलाई भेडेटारको शीतल हावाले स्वागत गर्छ। मोरङ–सुनसरीका धनाड्यदेखि सीमानजिकका भारतीयहरूको गन्तव्य रहेछ भेडेटार।

भेडेटारको सौन्दर्यपान गरेर हामी लाग्यौँ कोशीमार्गबाट पूर्वतर्फको यात्रामा। ओरालो लाग्दै गर्दा यो बाटो धनकुटा पुगिन्छ। मध्यपहाडी मार्गको एउटा हिस्सा। मूलघाटको पुल तरेर उत्तरतर्फ गइयो भने धनकुटा पुगिन्छ। हाम्रो यात्रा तमोरको किनारैकिनार पूर्वतर्फ हुँदै थियो।

तमोरको किनार भन्नाले नदीसँगै बाटो जोडिएको छैन। यो मध्यपहाडी लोकमार्ग पहाडको बीचबाट गएको छ, न त तल नदीको किनार, न त माथि डाँडाको शिर। बाटो अझै निर्माणाधीन छ। बर्खामा यो बाटो प्रयोग नगर्दा राम्रो। एकदमै थोरै सवारीको चाप, बाटोको अवस्थाले गर्दा सम्भावित दुर्घटनामा एक्लै परिने वा मौकामा सहयोग पाउन सक्ने अवस्था पनि निकै कम छ।

उता सिन्धुली र उदयपुरमा देखिएको घना जंगलले उत्प्रेरित र उद्वेलित भएका हामी यहाँको फुस्रे डाँडा देखेर निराश भयौँ। काला चट्टानको अजेय भीर देखिन्छ तमोरको किनारमा। यस्तो अवस्थामा पनि हाम्रो साथी सम्भावना खोज्दै थिए। उनको विचारमा रक क्लाम्बिङ तालिम तथा प्रतिस्पर्धा केन्द्रको स्थापना गर्न यो ठाउँ अति उत्तम रहेछ। हुन पनि यो ठाउँ साहसिक पदयात्रा, रक क्लाइम्बिङ, र्‍याफ्टिङ र विद्युत् उत्पादनका लागि उपयुक्त जस्तो देखियो।

मानव बस्ती भेट्न निकै मुस्किल पर्ने यो अनकन्टार ठाउँबाट बाटो खनेर राष्ट्रिय राजमार्ग बनाउनुको उपादेयता र लाभ कति होला अनुमानमात्र गर्न सकिएला। रणनीतिक महत्त्वकै भरमा यस किसिमको निर्माणले विकासको उद्देश्य पूरा गर्न कतिसम्म सापेक्षता राख्दछ भन्ने विषय योजनाकार नै जानून्। तर यात्रामा सहभागी हामी तीनै जनाको मतमा यस किसिमको निर्माण गर्दा अध्ययन नपुगेको हो कि भन्ने रह्यो।

हामी ताप्लेजुङ जान हिँडिरहेका थियौँ। बाटो बिराइएछ। पाँचथरको माझीटार, तमोरपुल पुगेर नदी पार गर्दै निकै पर पुग्दा थाहा भयो हामी तेह्रथुमको बाटो लागेका रहेछौँ। फेरि फर्केर माझीटार आयौँ। खाना खायौँ अनि उकालो लाग्यौँ। मेची मार्ग हुँदै ताप्लेजुङको सदरमुकाम फुङलिङतर्फ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast