पानी सुकाउने सहर

केशव राना क्षेत्री २२ चैत २०७९ ९:३१
256
SHARES
पानी सुकाउने सहर काठमाडौँ उपत्यका।

काठमाडौँ उपत्यकामा भूमिगत पानीको दोहन अत्यधिक छ। कंक्रिटसहितको अव्यवस्थित सहरीकरणले पुनर्भरण रोक्दा भूमिगत पानीको स्रोत घट्दै गएको छ।

सन् १९९० मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काठमाडौँ उपत्यकामा भूमिगत पानीको अवस्थाबारे अध्ययन गर्‍यो। चार वर्षसम्म गरेको अध्ययनमा भूमिगत पानीको सतह १० मिटर घटेको पाइएको थियो।

जाइकाले हरेक वर्ष भूमिगत पानीको सतह घट्दै गइरहेको निष्कर्ष निकाल्दै यसलाई गम्भीर भनेको थियो। सँगै जाइकाले हरेक दिन १५ हजार क्युबिकमिटर अर्थात् डेढ करोड लिटरभन्दा बढी भूमिगत पानी नतान्न सिफारिस पनि गरेको थियो।

उपत्यकामा सिफारिसभन्दा झण्डै ९ गुणा बढी पानी तानिन्छ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार अचेल दैनिक १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएको छ। बोर्डका हाइड्रोजिओलोजिस्ट प्रवीणचन्द्र केसी उपत्यकाका ५४९ ठाउँबाट भूमिगत पानी तान्ने गरिएको बताउँछन्।

४२३ वटा निजी कम्पनीले भूमिगत पानी तान्ने अनुमति लिएका छन् भने १२६ वटा प्रक्रियामा र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको २२४ वटा ट्युबेल छन्। उनले भने, ‘पहिले स्यालोवाटर निकालिरहेकाहरू पनि डिपट्युबेलमा गएका छन्।’

सतहभन्दा ३० मिटर गहिरोबाट निकालिएको पानीलाई स्यालोवाटर भनिन्छ भने ३० मिटरभन्दा तलकोलाई डिपवाटर भनिन्छ।

केसीका अनुसार सहरी क्षेत्रमा आपूर्ति हुने पानीमध्ये ४० प्रतिशत स्रोत भूमिगत हो। ट्यांकर, पानी उद्योग, हाउजिङ, अस्पताल, होटल, व्यावसायिक भवनलगायतले भूमिगत पानीको अत्यधिक दोहन गरिरहेका छन्।

कति छ भूमिगत पानी?

काठमाडौँ उपत्यकामा भूमिगत पानीको वैज्ञानिक अध्ययन भएको छैन। अहिले पनि जाइकाले नै गरेको अध्ययनलाई आधार बनाएर ससाना अध्ययन हुँदै आएका छन्।

हाइड्रोजिओलोजिस्ट केसीका अनुसार उपत्यकामा स्यालोवाटर ७ हजार २६० मिलियन क्युबिक मिटर (७२ खर्ब ६० अर्ब लिटर) र डिपवाटर (तल्लो सतहको पानी) ५६ हजार १८३ मिलियन क्युबिक मिटर (५६१ खर्ब ८३ अर्ब लिटर) रहेको अनुमान छ।

‘जाइकाको अध्ययनलाई आधार बनाएर परिमार्जित तथ्यांक निकालेका हौँ,’ उनी भन्छन्, ‘जाइका र हामीले गरेको हिसाब नमिल्ने देखिन्छ। काठमाडौँमा सानासाना बेसिन धेरै छन्।’ उपत्यकालाई एउटा खाल्डो नसम्झेर सानासाना बेसिनहरूको अध्ययन हुनुपर्ने उनको भनाइ छ।

काठमाडौँ उपत्यकामा भूमिगत पानी घट्दै गएको आवाज उठेपछि खानेपानी व्यवस्थापन बोर्डले सन् २०१७ मा ट्युबेलको तथ्यांक संकलन गरेको थियो। ‘अध्ययनले कुनै ठाउँमा पानीको सतह घटेको र कुनै ठाउँमा नघटेको देखियो,’ केसी भन्छन्, ‘सुक्खा समयमा घट्ने र मनसुनमा सोही स्तरमा पुगेको पनि देखियो।’

बोर्डले प्रयोग भइरहेका ट्युबेलकै अध्ययन गरेको थियो। जसले गर्दा यकिन तथ्यांक आउन नसक्ने भएकाले ‘काठमाडौँ उपत्यका मनिटरिङ वेल नेटवर्क’ बनाउनुपर्ने बोर्डको निष्कर्ष आयो। नेटवर्कले पानीको दोहन नभएको स्थानको अध्ययन गरेर यकिन तथ्यांक दिन्छ।

खानेपानी व्यवस्थापन बोर्डको परिसरमा राखिएको मनिटरिङ वेल।

अहिले बोर्डले भूमिगत पानीको अवस्थाबारे जानकारी लिन ४० वटा मनिटरिङ वेल बनाइरहेको छ। ‘पहिलो चरणमा २० वटा बनाउँदैछौँ। १० वटा पूरा भइसक्यो,’ केसीले भने, ‘एउटामा सेन्सरसमेत जोडिएको छ, अन्यमा आगामी साउन महिनाभित्र जडान गरिसक्ने योजना छ।’ बोर्डको कन्सल्टेन्टले भने ६० ठाउँमा यस्ता मनिटरिङ वेल बनाउनुपर्ने सुझाव दिएको छ।

पहिलो चरणमा काठमाडौँको आरुबारी, बाँसबारी, पानीपोखरी, मूलपानी, भक्तपुरको सल्लाघारी र बाँसबारी, ललितपुरको बालकुमारी, हरिसिद्धि, सुनाकोठी र सुन्दरीघाटमा मनिटरिङ वेल राख्ने तयारी छ। त्यस्तै रत्नपार्क, सिंहदरबार परिसर, सामाखुसी, टोखा, जडीबुटीलगायतका क्षेत्रमा मनिटरिङ वेल राख्ने योजना बोर्डको छ।

मनिटरिङ वेल पूर्ण रूपमा सञ्चालनमा आएपछि २ वर्षको तथ्यांक संकलन गरेर विश्लेषण गरिनेछ। त्यसपछि कुन ठाउँमा कति पानी घटिरहेको छ वा छैन भनेर वैज्ञानिक रूपमा भन्न सकिने हाइड्रोजिओलोजिस्ट केसीले बताए। विज्ञहरूका अनुसार मोनिटरिङ वेलले भूमिगत पानीको अवस्थाबारे ‘रियलटाइम डाटा’ दिन्छ।

स्रोत कति सुरक्षित ?

भूमिगत पानीको पर्याप्तता, जलतह, जलउपयोगको अवस्था, पुनर्भरणको सम्भावना, जनघनत्वलगायतलाई आधार मानेर भूमिगत पानीको उपलब्धतालाई तीन भागमा विभाजन गरिएको छ। पहिलो सुरक्षित क्षेत्र, दोस्रो अर्धसंवेदनशील र तेस्रो संवेदनशील।

भूमिगत पानी उपलब्धताको पर्याप्त सम्भावना रहेका ठाउँ सुरक्षित क्षेत्रमा पर्छन्। जसमा काठमाडौँमा गोंगबु, धापासी, सांग्ला, नेपालटार, गोलढुंगा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, खड्काभद्रकाली, बूढानीलकण्ठ, चपली, महांकाल, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मूलपानी, गोठाटार, नयाँपाटी, थली, झोरमहांकाल र इचंगुनारायण पर्छन्। भक्तपुरको बोडे र मनहरा पनि सुरक्षित क्षेत्रमा पर्छन्।

जलाधारविद् मधुकर उपाध्या भूमिगत पानी तान्ने क्रम नघट्नुमा भित्री चलखेल हुन सक्ने शंका गर्छन्। ‘मेलम्चीको पानी आइसकेपछि काठमाडौँमा पानीको व्यवसाय हराउँछ भनिएको थियो,’ उनी भन्छन्, ‘तर अझै पानीको व्यवसाय उही गतिमा छ।’

उपत्यकाको मध्य क्षेत्रचाहिँ अर्धसंवेदनशील क्षेत्रमा पर्छ। यहाँ भूमिगत पानीको सामान्य वा औसत सम्भावना छ। काठमाडौँ महानगरका सबै क्षेत्र, सीतापाइला, स्युचाटार, नैकाप, तिनथाना, बलम्बु, मच्छेगाउँ, सतुंगल, मातातीर्थ, बाडभन्ज्याङ, ललितपुरका कुपण्डोल, ज्वागल र भक्तपुरको सहरी क्षेत्र अर्धसंवेदनशीलमा पर्छन्।

उपत्यकाका दक्षिण क्षेत्र संवेदनशील क्षेत्रअन्तर्गत पर्छ। यहाँ भूमिगत स्रोतको पानी उपलब्धता औसतभन्दा कम छ। यसमा काठमाडौँको दक्षिणकाली, शेषनारायण, छैमले, ललितपुरको कुपण्डोल, ज्वागलबाहेकका सबै भाग एवं भक्तपुरमा उत्तरी क्षेत्रमा नपरेका र सहरी क्षेत्रबाहेकका सबै भाग पर्छन्।

पानीबिनाको सुन्धारा। तस्बिरः दिपेश श्रेष्ठ

झारा टार्ने अनुगमन

‘भूमिगत स्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्नेसम्बन्धीे निर्देशिका’ अनुसार घरायसी प्रयोगबाहेक सुरक्षित क्षेत्रमा ३० मिटर गहिराइसम्मको पानी र अन्य क्षेत्रमा ५० मिटर गहिराइभन्दा माथिको पानी निकाल्न पाइँदैन। उक्त गहिराइसम्म ग्राभेल प्याक र क्ले सिलिङ गर्नुपर्छ भने भूमिगत पानीको सतह नाप्न मिल्ने गरी संरचना तयार बनाउनुपर्छ।

जलाधारविद् मधुकर उपाध्या काठमाडौँमा भूमिगत पानीको अत्यधिक दोहन देख्दादेख्दै सरोकारवाला निकाय आँखा चिम्लेर बसेको बताउँछन्। ‘पानी उद्योग, होटललगायत संस्थाले भूमिगत पानी भरमार तानेका छन्,’ उनले भने, ‘तर पनि यसको प्रभावकारी नियमन भएको देखिन्न।’

खानेपानी व्यवस्थापन बोर्डले अनुगमनका क्रममा बल्क मिटर बिग्रेर परिवर्तन नगरेको, तोकिएको सीमाभन्दा बढी पानी तान्ने गरेको, ट्युबेल सफा नगरेको, फोहोर फालेको भेटे पनि कारबाही भने गर्न सकेको छैन। हदैसम्म भए अनुगमन समितिले ५० हजारसम्म जरिबाना गर्ने गरेको छ।

‘मापदण्डअनुसार नभए बन्दसमेत गर्न सक्ने आधार छ। तर अहिलेसम्म कुनै पनि ट्युबेल बन्द गरिएको छैन,’ हाइड्रोजिओलोजिस्ट केसी भन्छन्, ‘जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले पनि गाह्रो छ, बन्द गरिदिँदा धेरैलाई असर पर्छ।’

केही पानीट्यांकर व्यवसायीहरूले सीमाभन्दा बढी पानी तान्ने गरेको अनुगमनमा भेटिएको भन्दै उनले जरिबाना गर्ने गरिए पनि कडा रूपमा प्रस्तुत हुन नसकेको निरीहता व्यक्त गरे।

‘चाहेर बन्द गर्ने अवस्था छैन। मेलम्ची आइसकेपछि कडाइ गर्ने भनिएको हो। तर त्यो पनि कहिलेकाहीँ बन्द हुने भएकाले कडाइ गर्न सकिएको छैन,’ उनले भने। ट्युबेल नचलाएर राखेको स्थितिमा भने निवेदन लिएर बन्द गर्ने गरिएको उनी बताउँछन्। अहिलेसम्म ६ वटा त्यस्ता ट्युबबेल बन्द गरिएको छ।

जलाधारविद् उपाध्या भूमिगत पानी तान्ने क्रम नघट्नुमा भित्री चलखेल हुन सक्ने शंका गर्छन्। ‘मेलम्चीको पानी आइसकेपछि काठमाडौँमा पानीको व्यवसाय हराउँछ भनिएको थियो,’ उनी भन्छन्, ‘तर अझै पानीको व्यवसाय उही गतिमा छ।’

धसिँदै भूसतह

सन् २०१४ मा त्रि–चन्द्र कलेजको भूगर्भ विभागले नास्ट र अमेरिकी संस्था युनाभ्कोसँग मिलेर काठमाडौँ उपत्यकाको भूसतहको अध्ययन गरेको थियो। त्यसको निचोड भने आउन बाँकी छ।

यद्यपि तथ्यांकहरूले भूसतह हरेक वर्ष ३ देखि १६ सेन्टिमिटरसम्म धसिँदै गएको देखिएको अध्ययनमा संलग्न भूगर्भविद् डा. अनन्त गजुरेलले बताए।

‘अहिलेसम्म निष्कर्षमा पुगेको छैनौँ, तर हरेक वर्ष भूसतह धसिँदै गएको देखिन्छ,’ उनले भने, ‘जीपीएसका माध्यमबाट लामो तथ्यांक लिएका छौँ, विश्लेषण गर्न बाँकी छ।’

भूसतह धसिँदै जानुमा पानीको अत्यधिक दोहन पनि एउटा कारण भएको डा. गजुरेल बताउँछन्। ‘सहरीकरण बढ्यो, संरचना थपिँदै गए,’ उनी भन्छन्, ‘भूसतहको पानी रिचार्ज हुन पाएन।’

छैन पुनर्भरण

दैनिक करोडौँ लिटर भूमिगत पानी तानिए पनि पुनर्भरण हुने गरेको छैन। व्यापक सहरीकरण र जताततै कंक्रिट भएकाले प्राकृतिक रूपमा पानी जमिनमुनि पुग्न पाउँदैन।

पुनर्भरण नहुँदा भूमिगत पानीको भण्डार रित्तिन सक्ने जलाधारविद् उपाध्या बताउँछन्। ‘भूमिगत पानी सधैँका लागि होइन, पुनर्भरण नहुनु ठूलो चिन्ताको विषय हो,’ उनले भने, ‘हाम्रै आवश्यकता पनि कसरी पूर्ति गर्ने भन्ने समस्या पैदा हुन सक्छ।’

भूगर्भविद् डा. गजुरेल पनि भूमिगत पानीको संरक्षणमा ढिला भइसकेको बताउँछन्। जमिनमुनिको पानीलाई सन्तुलित बनाउन विस्तृत अध्ययन आवश्यक रहेको उनले बताए। उनका अनुसार विभिन्न ठाउँबाट पानी जमिनमुनि छिराउने व्यवस्था मिलाउनुपर्छ।

‘भूमिगत पानीको स्रोतका लागि सडकसमेत पर्यावरणमैत्री बनाउनुपर्छ। गाडी गुड्ने ठाउँमा मात्रै कंक्रिट, अन्य ठाउँमा खाली छोड्ने हो भने पानी रिचार्जमा धेरै सहयोग हुन्छ।’

‘सहर पूरै कंक्रिट भएकाले आकासेपानी, खोलाको पानी जमिनभित्र घुस्न पाउँदैनन्,’ उनी भन्छन्, ‘जसकारण काठमाडौँमा डुबानको समस्या पनि हुने गरेको छ। त्यसैले पुनर्भरणका लागि खुला ठाउँको व्यवस्थापन गर्नुपर्छ।’

जलाधारविद् उपाध्याले सडक, घरआँगन सबै कंक्रिटको भएकाले पुनर्भरण हुन नसकेको बताए। ‘पानी पर्दा सिमेन्टले टालिएको सडक, घरआँगनलगायते गर्दा पानी सतहभित्र जान सक्दैन,’ उनले भने, ‘पहिले खेतीपाती हुन्थ्यो, जमिन खाली थियो, प्राकृतिक रूपमा पुनर्भरण हुन्थ्यो, अहिले अवस्था दयनीय छ।’

उनले पुनर्भरणका लागि हरेक घर, संस्थाले प्रयास गर्नुपर्ने बताए। आकासेपानी सीधै ढलमा हाल्नुभन्दा जमिनमा राख्दिने, छानामाथि परेको पानी पाइपबाट इनारमा राख्नेजस्ता काम गर्नुपर्ने सुझाव उपाध्याले दिए।

हाइड्रोजिओलोजिस्ट केसीले भूमिगत पानीको पुनर्भरणमा समस्या रहेको बताए। प्राकृतिक रूपमा पुनर्भरण हुने क्षेत्रहरू बूढानीलकण्ठ, जोरपाटी, कपन, चन्द्रागिरिलगायत हुन्। उनका अनुसार यी क्षेत्रमा पनि अव्यवस्थित सहरीकरण भएकाले ‘रिचार्ज जोन’ हरू भत्किँदै छन्।

बोर्डले पुनर्भरणका लागि विभिन्न ठाउँमा आकासेपानी संकलन गरेर जमिनमा पठाउनेलगायत काम भने गरेको केसीको दाबी छ। ‘काठमाडौँको दक्षिणी र मध्य क्षेत्रमा कालीमाटी १०० देखि २५० मिटरसम्म बाक्लो छ। त्यसैले पुनर्भरणमा समस्या हुने गरेको छ,’ उनी भन्छन्, ‘१०-१५ वर्षअघिसम्म खेतीपाती गर्दा आफैं पुनर्भरण हुने गर्थ्यो, अहिले कृत्रिम रूपमा पुनर्भरण गराउनुपरेको छ।’

वातावरणविज्ञ प्रा.डा सुबोध शर्मा पुनर्भरण र घरायसी प्रयोजनमा आकासेपानीको बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताउँछन्। ‘यो पानी पिउन, लुगा धुन, खाना पकाउन, नुहाउन हरेक काममा प्रयोग गर्न सकिन्छ,’ उनले भने।

उनका अनुसार पुनर्भरणका लागि घरको आँगनमा ढलान नगरी दुबो लगाउनुपर्ने, खोलानाला थुनछेक नगर्ने र डाँडामा सानाठूला पोखरी बनाएर वर्षातको पानी सञ्चय गर्नुपर्छ। ‘भूमिगत पानीको स्रोतका लागि सडकसमेत पर्यावरणमैत्री बनाउनुपर्छ,’ उनले भने, ‘गाडी गुड्ने ठाउँमा मात्रै कंक्रिट, अन्य ठाउँमा खाली छोड्ने हो भने पानी रिचार्जमा धेरै सहयोग हुन्छ।’

प्रकाशित: २२ चैत २०७९ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =