स्टार्टअप नीति पारित गर्न माग

हिमाल प्रेस २० चैत २०७९ १८:३४
8
SHARES
स्टार्टअप नीति पारित गर्न माग

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालबीच भेटवार्ता भएको छ। नवनियुक्त मन्त्री रिजाललाई बधाई तथा शुभकामना दिन गएको महासंघको टोलीले मन्त्रीसँग स्टार्टअप नीति पारित गर्न माग गरेको हो।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा सोमबार मन्त्री रिजाललाई भेट्न गएको टोलीले स्टार्टअप नीति पारित गर्न माग गरेको हो। महासंघको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा रहेको भन्दै चाँडो पारित हुनुपर्ने अध्यक्ष गोल्छाको भनाइ थियो।

महासंघ स्टार्ट अप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारि भएको स्टार्ट अप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि पनि नीति कार्यान्वयन आवश्यक रहेको औंल्याए।

त्यस्तै अध्यक्ष गोल्छाले अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा परेको बताए। अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उनको भनाइ थियो।

बजारमा माग नहुँदा उद्यम व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेकोले स्मरण गराउँदै गोल्छाले बजारमा विश्वास बढाउनुपर्ने सुझाव मन्त्रीलाई दिए। ‘अवस्था सहज बनाउन सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनैपर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘वितरणमुखी हुने कुरामा हामी गयौँ भने संकटमा पर्छौँ।’

त्यस्तै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भए पनि बजारमा लगानी बढाउन र निजीक्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नुपर्ने सुुझाव दिए।

अध्यक्ष गोल्छाले बाह्य लगानी ल्याउन दाताहरूसँग सम्मेलन गर्न पनि सुुझाव दिए। बजारमा उधारोको समस्या विकराल बन्दै गएको भन्दै ढकालले उधारो उठाउने सम्बन्धि कानुन चाँडो ल्याउन माग पनि गरे।

मन्त्री रिजालले महासंघकातर्फबाट आएका सुुझावलाई कार्यान्वयन गर्न महासंघसँग नियमित संवाद र नजिक बसेर कार्य गर्ने बताए। स्टार्टप नीतिबारे सबैसँग सल्लाह गरी पारित गरिने पनि उनले बताए। व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहकार्य गर्ने मन्त्री रिजालको भनाइ थियो।

प्रकाशित: २० चैत २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =