‘नीति तथा कार्यक्रममा महासंघले दिएका सुझाव समेटिएका छन्’

हिमाल प्रेस ६ जेठ २०८० १६:२९
2
SHARE
‘नीति तथा कार्यक्रममा महासंघले दिएका सुझाव समेटिएका छन्’

काठमाडौँ- सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रम आफ्नै सुझावअनुसार आएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक प्रतिक्रिया दिएको छ। उद्योगी व्यवसायीरको छाता संगठन महासंघले आफ्ना सुझाव नीति तथा कार्यक्रममा समेटिएकाले नीति तथा कार्यक्रम सकारात्मक रहेको बताएको हो।

महासंघले अहिलेको आर्थिक अवस्था, अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको संकुचन, उच्च ब्याजदरलगायतलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताएको छ।

त्यस्तै मूल्य वृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन तथा बाह्य क्षेत्र सन्तुलनमा परेको चापलाई सम्बोधन गरिने विषय नीति तथा कार्यक्रममा समावेश गरिएका महासंघले बताएको छ।

नीति तथा कार्यक्रममा परेका विषय बजेटले पनि सम्बोधन गर्नुपर्ने महासंघले उल्लेख गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीति तथा कार्यक्रममा समावेश गरिएका विषय बजेटमार्फत कसरी सम्बोधन हुन्छ हेर्न बाँकी रहेको बताए। महासंघले दिएका विषय समेटिएकाले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदारका रूपमा सरकारले लिएको उनको भनाइ थियो।

सरकार र निजी क्षेत्रको बलियो साझेदारीमार्फत उत्पादन तथा उत्पादकत्व बढाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ। त्यस्तै विदेशी लगानीलाई प्राथमिकताका साथ परिचालन गरिने विषयलाई पनि महत्त्वका साथ समावेश गरिएको भन्दै महासंघले सन्तुष्टि व्यक्त गरेको छ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाउने तथा कर प्रणालीमा पुनरावलोकन गर्ने, पूँजी बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्ने, विकास आयोजनाका लागि जग्गा प्राप्ति, वन क्षेत्रको उपयोग, वातवरणीय प्रभाव मूल्यांकन र खरिद प्रक्रियामा सरलीकरण गर्न कानुन ल्याउनेलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका छन्।

उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी सीमा पुनरावलोकन, उद्योगलाई आवश्यक पहुँचमार्ग र प्रसारण लाइन लगानीकर्ता स्वयंले बनाएमा निश्चित रकम सोधभर्ना दिने उद्योगहरूमा निर्वाध विद्युत् आपूर्ति सुनिश्चित गर्नेलगायतका महत्त्वपूर्ण पक्षलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको महासंघले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =