आईपीएल : डिफेन्डिङ च्याम्पियन गुजरातको विजयी सुरुवात

हिमाल प्रेस १८ चैत २०७९ ७:४०
12
SHARES
आईपीएल : डिफेन्डिङ च्याम्पियन गुजरातको विजयी सुरुवात

काठमाडौँ- शुभमन गिलले ३६ बलमा ६३ रन बनाएपछि डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले यसपालिको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा चार पटकको विजेता चेन्नाई सुपर किंग्सलाई पाँच विकेटले पराजित गरेको छ।

प्रतिस्पर्धात्मक १७९ रनको लक्ष्य पछ्याएको गुजरातलाई शुक्रबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जिताउन राहुल टेवाटिया र रशिद खानले अविजित २६ रनको साझेदारी गरे। जसले गुजरातलाई चार बल बाँकी रहँदा जित दिलाउन महत्त्वपूर्ण साबित भयो।

त्यसअघि रुतुराज गाइकवार्डको ९२ रनको मद्दतमा चेन्नाईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७८ रनको योगफल तयार पारेको थियो। तर ओपनर गिलले गुजरातलाई मजबुत ढंगमा अघि बढाएपछि चेन्नाईको केही सीप चलेन। गुजरातका लागि अर्का ओपनर रिद्दिमान शाहले २५ रन जोडेका थिए। यी दुईले सुरुवाती विकेटका लागि ३७ रनको साझेदारी गरे।

विजयी टिमका लागि सब्स्टिच्युट साई सुधरसनले १७ बलमा २२ रन बनाए। उनलाई घाइते केन विलियमसनको स्थानमा प्रयोग गरिएको थियो। त्यसैगरी विजय शंकरले २७ र कप्तान हार्दिक पान्ड्याले आठ रन जोडे।

चेन्नाईका लागि राजबद्र्धन हांगरग्रेकरले ३६ रन खर्चिएर तीन विकेट हात पारे। त्यसैगर तुसार देशपान्डे र रविन्द्र जडेजाको नाममा एक–एक विकेट रह्यो।

टस हारेर ब्याटिङ गरेको चेन्नाईका ओपनर डेभोन कोनवे एक रनमा सीमित हुँदा बेन स्टोक्स सात रनमा आउट भए। अर्का इंग्लिस ब्याट्सम्यान मोइन अलीले भने १७ बलमा २३ रन बटुले। आठौँ नम्बरमा ब्याटिङ गरेको कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रनको योगदान गरेका थिए।

बलिङतर्फ गुजरातका मोहम्मद शामी, रशिद खान र अल्जारी जोसेफले दुई–दुई विकेट लिए। जोस लिटलले एक विकेट थपे।

आईपीएलको दोस्रो दिनको खेलमा शनिबार पंजाब किंग्सले मोहालीमा कोलकता नायट राइडर्स र लखनउ सुपर जायन्ट्सले घरेलु मैदानमा दिल्ली क्यापिटल्सको सामना गर्नेछन्।

इम्प्याक्ट प्लेयर
आईपीएलमा इम्प्याक्ट प्लयेरको अवधारणा यही सिजनबाट ल्याइएको हो। जस अन्तर्गत सबै टिमले पहिलो एघारबाहेक थप चार खेलाडी बेन्चमा राख्न सक्छन्। त्यही चारमध्ये एक खेलाडीलाई कप्तानले सब्स्टिच्युट गर्न पाउँछन्।

तुसार देशपान्डे शुक्रबार सुरु भएको आईपीएलको पहिलो इम्प्याक्ट प्लेयर बने। आफ्नो इनिङ्स सकिएपछि धोनीले बलर देशपान्डेलाई ब्याट्सम्यान अबती रायडुको स्थानमा पहिलो एघारमा राखेका थिए। भारतीय घरेलु क्रिकेटका अन्य प्रतियोगितामा मुम्बईबाट खेल्ने देशपान्डेले एक विकेट लिए।

कुनै पनि टिमले पहिलो एघारमा चार विदेशी खेलाडी राखेको छ भने उसले भारतीय खेलाडीलाई मात्र इम्प्याक्ट प्लेयरका रुपमा प्रयोग गर्न पाउँछ। तर तीन विदेशी खेलाडीलाई पहिलो एघारमा राखेको भए, अर्का विदेशी खेलाडीलाई इम्प्याक्ट प्लेयरका रुपमा उपयोग गर्न पाउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =