बालबालिकासँग काम गर्दा बच्चै बन्नुपर्छ : केदार श्रेष्ठ [अन्तर्वार्ता]

संगीता श्रेष्ठ १८ चैत २०७९ १४:२२
426
SHARES
बालबालिकासँग काम गर्दा बच्चै बन्नुपर्छ : केदार श्रेष्ठ [अन्तर्वार्ता]

काठमाडौँ, कीर्तिपुरस्थित थिएटर मलका संस्थापक निर्देशक हुन्, केदार श्रेष्ठ। सर्ट फिल्म ‘जुनुको जुत्ता’का लेखक तथा निर्देशक र फिल्म ‘ऐना झ्यालको पुतली’का कास्टिङ डिरेक्टर पनि हुन् उनी। यसर्थ उनको पहिचान बालसाहित्य र बाल नाटकमा छ। भनिन्छ, समाज समृद्ध हुन कला र साहित्यको महत्त्वपूर्ण भूमिका हुन्छ। कला र साहित्यमार्फत बालबालिकाको व्यक्तित्व विकासमा जोड दिनुपर्छ, त्यसपछिमात्र समाज समृद्ध हुन्छ भन्ने मान्यता राख्ने रंगकर्मी केदार श्रेष्ठसँग हिमाल प्रेसकी संगीता श्रेष्ठले गरेको कुराकानी :

अचेल केमा व्यस्त हुनुहुन्छ?

‘जुनुको रिबन’को कार्यशालामा व्यस्त छु। फिल्मको छायांकन वैशाख १० पछि सुरु गर्ने सोच छ। त्यसकै लागि बालबालिकासँग व्यस्त र मस्त छु। थिएटर मलले ‘बालबालिकाका लागि थिएटर कार्यशाला’ पनि सञ्चालन गर्दैछ। कार्यशाला हरेक वर्ष आयोजना गर्ने गरेका छौँ। कोभिड-१९ महामारीमा रोकिए पनि फेरि सुरु गरेका छौँ। कार्यशाला चैत २१ देखि वैशाख ५ सम्म हुनेछ। यो कार्यशालाको नवौँ संस्करण हो।

कार्यशालामा के-के हुने गर्छ?

विद्यालयको अन्तिम परीक्षापछि बालबालिका बिदामा हुन्छन्। उनीहरूको छुट्टीको मौका छोपेर कार्यशाला हुने हो। जसमा ६ देखि १४ वर्षसम्मका नानीबाबु सहभागी हुन्छन्। सुरुसुरुमा त १०-१५ जनालाई मात्र समेटेर पनि कार्यशाला गरियो। तर हरेक वर्ष सहभागीको संख्या बढ्दै गएको छ। पछिल्लो समय ४५ देखि ५० बालबालिकासम्म सहभागी हुँदै आएका छन्। कार्यशालामा नाटक, अभिनयसँगै स्टोरी टेलिङ, पब्लिक स्पिकिङ, चित्रकलालगायत क्रियाकलाप हुन्छन्। १५ दिने कार्यशालामा बच्चाहरूले खेलखेलमा नयाँ-नयाँ कुरा सिक्न पाउँछन्।

कार्यशालाको उद्देश्यचाहिँ के हो?

यसको उद्देश्य ससाना नानीबाबुलाई अभिनय सिकाउनु र पूर्ण कलाकार बनाउनु कदापि होइन। बरु कलामार्फत उनीहरूको व्यक्तित्व विकासमा सघाउनु हो। बालबालिकालाई ‘भविष्यको कर्णधार’ भनिन्छ। कर्णधारमात्र होइनन् उनीहरू भविष्य हुन्। त्यसैले कलासाहित्यमार्फत उनीहरूको व्यक्तित्व विकास, मानसिक विकास, सिर्जनशीलतामा जोड दिनुपर्छ भन्ने लाग्छ।

कलाका माध्यमबाट बालबालिकाको सर्वांगीण विकासका लागि शैली थिएटरले रुसी सांस्कृतिकको सहकार्यमा ‘राष्ट्रिय बाल नाटक महोत्सव’ गर्छ। जसमा बालबालिकाका विषयवस्तुलाई केन्द्रमा राखेर नाटक मञ्चन गरिन्छन्। केही समयअघि त्यसको १४ औँ संस्करण सम्पन्न भएको छ।महोत्सवको सुरुवातमा पाँच वर्षसम्म म पनि त्यसमा आबद्ध थिएँ।

बालबालिकाकै क्षेत्रमा बढी सक्रिय हुनुको कारणचाहिँ के रहेछ?

मेरो बढी बाँच्ने चाहनाले बालबालिकासँग काम गर्न प्रेरित गर्छ। उनीहरूसँग काम गरियो भने धेरै बाँचिन्छ भन्ने मेरो मान्यता हो। अहिलेका ससाना नानीबाबु ७०, ८०, ९० वर्षसम्म त बाँच्छन् होला। तिनलाई अहिले सिकाएका कुरा त्यति वर्षसम्म बाँच्ने भए। त्यो सिकाइसँगै उनीहरूको दिमागमा म पनि बाँच्ने भएँ। मेरो यही लोभले उनीहरूसँग काम गर्न लगाउँछ।

अर्को कुरा जुन समाजले बालबालिकालाई प्राथमिकतामा राख्छ, त्यो समृद्ध हुन्छ। हाम्रोमा अझै पनि नानीबाबुलाई प्राथमिकतामा राखिएको छैन। तर बच्चाहरूलाई सम्मानित स्थानमा राख्नुपर्छ। उनीहरूका लागि मञ्च हुनुपर्छ।

ससाना केटाकेटीका लागि कस्तो किसिमको मञ्च खोज्नुभएको हो?

बालबालिकाका लागि मञ्च भन्दाखेरि नानीबाबु स्टेजमा उत्रिनुपर्छ भन्ने होइन। बच्चाका लागि बच्चाले नै प्रस्तुति दिनुपर्छ, नाटक गर्नुपर्छ भन्ने पनि होइन। बच्चाहरूका लागि ठूलोले काम गरिदिने हो। व्यावसायिक मान्छेहरूले काम गरिदिने हो। बालनाटकमा ठूला कलाकारले काम गर्ने हो। जस्तै बालसाहित्य उमेर पुगेकाहरूले लेख्छन् बालबालिकाले लेख्दैनन्। त्यस्तै हो।

बालबालिकासँग काम गर्दा उनीहरूलाई कुरा बुझाउन कत्तिको गाह्रो हुन्छ?

बच्चाहरूसँग काम गर्दा बच्चै बन्नुपर्छ। उनीहरूको अगाडि ठूलो बन्नुको कुनै अर्थ छैन। उनीहरूलाई के मतलब म जोसुकै भए नि! जस्तो ठूलो मान्छे भए नि! तिनका लागि सबै मान्छे समान हुन्। कोही ठूलोसानो होइन। बालबालिकासँग काम गर्नु गाह्रो पनि छ, रमाइलो पनि। उनीहरूलाई जबर्जस्ती दबाब दिएर होइन, खेलखेलमा सिकाउने हो। त्यसो हुँदा उनीहरूले खेल्दै धेरै कुरा सिक्छन्।

तपाईंको यही बालप्रेमले ‘जुनुको जुत्ता’ बनाउन प्रेरित गरेको हो?

त्यस्तै भनौँ। कुरा २०६७-६८ ताकाको हो। यशु श्रेष्ठको ‘उल्टो जुत्ता’ कथा पढेँ। कथाको अन्तिममा उल्टो जुत्ताको प्रसंग छ। कथाको त्यसै भागबाट प्रभावित भएँ। त्यस कथाको अन्त्यबाट मैले आफ्नो कथा आरम्भ गरेँ। ‘जुनुको जुत्ता’मा उल्टो जुत्ता लगाउने पाँच वर्षीया सानी नानीको कथा छ। उल्टो जुत्ता लगाउँदा घरपरिवार, शिक्षकबाट नमीठो गालीपछि उनले सुल्टो जुत्ता लगाउन गरेको उपायको खोजी फिल्ममा देखाइएको छ।

सोलुखुम्बुकी येशे लामाले जुनुको पात्र निर्वाह गरेकी छन्। ‘जुनुको रिबन’मा पनि उनी नै छिन्। यतिखेर उनी आठ वर्षकी भइन्। यो चरित्रसँगै पात्रको पनि कथा हो। जुनुसँगै येशेको जीवनयात्रा पनि हेर्न सक्नेछौँ। यो ‘च्याप्टर स्टोरी’ हो। जसमा थुप्रै कथा छन्। एउटा कथाको अर्कोसँग सम्बन्ध रहे पनि हरेक कथा आफैँमा पूर्ण छ। एउटा नहेर्दा अर्को हेर्न मिल्दैन भन्ने छैन।

‘जुनुको रिबन’मा के हुनेछ?

सबै कथा त भन्न मिल्दैन। तर हामी खुट्टाबाट टाउकोमा पुगेका छौँ। उतिखेर जुनु जुत्तामा अल्झिरहेकी थिई भने यसपालि रिबनसँग कथा जोडिएको छ।

‘च्याप्टर स्टोरी’ भन्नुभयो, जुनुमाथि कतिवटा फिल्म बनाउने सोच छ?

मसँग चारपाँच कथा छन्। सबै बनाउन सकिएला-नसकिएला थाहा छैन। किनकि यसमा आर्थिक पाटो पनि जोडिएको हुन्छ। एउटा फिल्म बनाउन पैसासँगै समय पनि खर्च गर्नुपर्छ। ती सबै जुटाउन सकिने-नसकिने कुरा अहिल्यै भन्न सकिँदैन। तर जुनुको रिबनचाहिँ जसरी पनि बन्छ।

जुनु अर्थात् येशेलाई कहाँ र कसरी भेट्नुभयो?

‘जुनुको जुत्ता’ को कथा २०६८ मा लेखेको हुँ। फिल्म बन्यो २०७६ मा। मैले कथा लेख्दा त जुनु अर्थात् येशे जन्मिएकी पनि थिइनन् होला। २०७६ मा ‘सुपरमंक’ फिल्मको छायांकनका लागि सोलुखुम्बु जुनबेसी पुगेका थियौँ। त्यहीँ हो मैले पहिलोपटक सानी येशेलाई देखेको। उनलाई देख्नेबित्तिकै आफ्नो कथा सम्झिएँ। ‘जुनु यही नानी बन्नुपर्छ’ भन्ने लाग्यो। उनको परिवारसँग कुरा गरेँ। येशेलाई बोकेर त्यहाँका केही ठाउँ घुम्यौँ फोटो, भिडियो खिच्यौँ। उनको परिवारलाई आफ्नो कथा सुनाएर एक वर्षपछि आउने बाचा गर्‍यौँ। अर्को वर्ष टिमसहित त्यहाँ पुग्दा येशेको परिवार छक्क परेको थियो।

‘जुनुको जुत्ता’ तपार्ईंको ‘टार्गेट अडियन्स’सम्म पुगेको छ कि छैन?

बालबालिकाका लागि फिल्म, नाटक बनाइयो भने उनीहरूमात्र हेर्न आउँदैनन्। अभिभावक पनि आउँछन्। ठूलोका लागि बनाइएको फिल्म ठूलाले मात्र हेर्न पाउने भए। तर बच्चाका लागि बनेको फिल्म बच्चासँगै तिनका अभिभावकले पनि हेर्न पाउँछन्।

‘जुनुको जुत्ता’ले सन् २०१९ मा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा नेपाल पनोरमाअन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ जितेको थियो। यो हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। त्योबाहेक थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ।

विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औँ संस्करणमा पनि यसले अवार्ड जित्यो। जसमा विश्वभरिबाट ६५ सयभन्दा बढी फिल्मले आवेदन दिएका थिए। तीमध्ये उत्कृष्ट एक सय फिल्म छनोट भए। त्यसमा एसियाबाट १९ फिल्म छानिएका थिए। त्यसमा नेपालबाट ‘जुनुको जुत्ता’ छनोटमा परेको थियो।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको यस अन्तर्राष्ट्रिय सर्ट फिल्म महोत्सवमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ‘चिल्ड्रेन्स एन्ड युथ फिल्म कम्पिटिसन’ विधाअन्तर्गत छनोट भएको थियो।
फिल्मले ‘जुरी अवार्ड’ जित्यो। त्यस जुरीमा बच्चाहरू नै निर्णायक थिए। ‘अवार्ड किन दिइयो?’ कारण खुलाएर उनले आफ्नो निर्णय आयोजकलाई सुनाएका थिए। बच्चाहरूले फिल्म मन पराएर अवार्डका लागि सिफारिस गरे भने हाम्रो फिल्म टार्गेट अडियन्ससम्म पुगेको छ भन्ने मानेका छौँ।

प्रकाशित: १८ चैत २०७९ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =