विराट गोल्डकपमा आठ टिम, पहिलो पुरस्कार १५ लाख

हिमाल प्रेस ६ चैत २०७९ २२:०७
16
SHARES
विराट गोल्डकपमा आठ टिम, पहिलो पुरस्कार १५ लाख

काठमाडौँ- विराटनगरमा हुन लागेको विराट गोल्डकपको पुरस्कार राशिमा वृद्धि गरिएको छ। चैत ९ देखि १७ गतेसम्म हुने यो प्रतियोगिताको उपाधि जित्ने टिमले अब २० लाख १५ हजार र उपविजेताले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक विराट गोल्डक ट्रस्टले जानकारी दिएको छ।

गत वर्ष नेपाल एपीएफ क्लब च्याम्पियन बन्दा १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले ७ लाख ५१ हजार प्राप्त गरेका थिए।

प्रतियोगिताका लागि सहिद रंगशालाको मर्मत सकिएको बताइएको छ। जहाँ कुल आठ क्लबले प्रतिस्पर्धा गर्नेछन्। सहिद स्मारक ए डिभिजन लिगका तीन विभागीय टिम एपीएफ, त्रिभुवन आर्र्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसँगै संकटा, जावलाखेल र आयोजकका तर्फबाट विराटनगर सिटी एफसी प्रतियोगितामा भिड्नेछन्।

त्यसैगरी दक्षिण भारतको केरलाबाट लुका सकर क्लबसँगै भुटानको ड्रुक लयुल क्लब प्रतियोगितामा भाग लिन विराटनग आउनेछन्। भारतीय घरेलु फुटबलको तेस्रो श्रेणीको लिग आई–लिग टु खेल्ने दिल्ली एफसीले नाम फिर्ता लिएपछि उसको स्थानमा भुटानी क्लबले लिन लागेको जानकारी दिइएको छ।

नकआउट पद्धतिमा हुने प्रतियोगिताको पहिलो खेलमा विराटनगर सिटी एफसीले पुलिसको सामना गर्नेछ। फाइनल खेल चैत १६ गते हुने तालिका छ।

आयोजकका अनुसार दर्शकले खेल टिकट ‘खल्ती एप’ बाट खरिद गर्न सक्नेछन्। क्वार्टरफाइनलसम्मका खेलका लागि दुई सय र सेमिफाइनल तथा फाइनलका लागि पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ। खल्तीबाटै खरिद गरेमा सेमिफाइनल तथा फाइनल खेलका टिकटमा एक सय रुपैयाँको छुट रहेको बताइएको छ।

२०१८ बाट महेन्द्र गोल्डकपको नामबाट सुरु यो प्रतियोगिता २०५७ मा भने विराट गोल्डकपमा परिणत भएको थियो। यसपालिको संस्करण आयोजना गर्न करिब दुई करोड ५० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ।

प्रकाशित: ६ चैत २०७९ २२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =