शिक्षण पेसाबाट राजनीतिमा फड्किएका यादव बने उपराष्ट्रपति

हिमाल प्रेस ३ चैत २०७९ १६:४५
218
SHARES
शिक्षण पेसाबाट राजनीतिमा फड्किएका यादव बने उपराष्ट्रपति

काठमाडौँ- रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। उपराष्ट्रपति पदका लागि शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै निर्वाचित भएका हुन्।

५२ वर्षीय यादव शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका व्यक्तित्व हुन्। २०४८ सालमा विद्यालय शिक्षकका रूपमा जागिर खान थालेका उनी ०६४ सालसम्म पढाउँथे।

२०४७ सालमा नेपाल सदभावना पार्टीमा प्रवेश गरेका यादव नेपाल शिक्षक मञ्च बाराको संस्थापक अध्यक्ष हुन्। नेपाल शिक्षक मञ्च, केन्द्रीय समितिको कोषाध्यक्षको जिम्मेवारी वहन गरेका उनी २०५० सालमा भएको नेपाल सदभावना पार्टीको तेस्रो महाधिवेशन पर्यवेक्षक भएका थिए भने विराटनगरमा भएको पार्टीको चौथो महाधिवेशनमा प्रतिनिधि भएका थिए।

यादव २०५७ सालमा नागरिकता विधेकमा काठमाडौँमा भएको विरोध प्रदर्शनमा सहभागी भएका थिए। त्यस क्रममा गिरफ्तारीमा परेका उनी २०५९ सालमा पार्टीको पाँचौँ महाधिवेशन प्रतिनिधि भएका थिए।

राजविराज महाधिवेशनका क्रममा पार्टी एकता कायम राख्न सप्तरी सेवा आश्रममा आमरण अनशन बसेका थिए। उनलाई आनन्दीदेवीले अनशन तोड्न लगाएकी थिइन्। २०५९ पछि यादव मधेसी जनअधिकार फोरम, नेपालमा आबद्ध भए।

२०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजक भएका उनी २०६० साल मधेसी जनअधिकार फोरम, नेपाल केन्द्रीय सदस्य भए। २०६२/०६३ को जनआन्दोलमा सक्रिय सहभागिता जनाएका उनी काठमाडौँमा गिरफ्तारीमा परेका थिए। पहिलो संविधानसभामा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएका यादवले २०६५ सालमा पार्टीको महासचिवको जिम्मेवारी पाएका थिए।

पहिलो संविधानसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्य भएर काम गरेको अनुभव पनि उनको छ। २०७२ सालमा मधेसी जनअधिकार फोरम, नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम, नेपालको महासचिव भए।

२०७२ मधेश आन्दोलनमा निषेधाज्ञा तोड्ने क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए। २०७४ सालमा प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित यादव २०७५ सालमा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव भएका थिए।

०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य बनेका यादव २०७८ सालमा वन तथा वातावरणमन्त्री बनेका थिए। २०७९ को प्रतिनिधिसभामा बारा–२ बाटै विजयी यादव जनता समाजवादी पार्टी, नेपालको संसदीय दलका नेता हुन्।

२०४३ सालमा कंकाली मावि, सिम्रौनगढ, बाराबाट एसएलसी उत्तीर्ण यादवले गणित र विज्ञानमा स्नातक गरेका छन्।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

प्रकाशित: ३ चैत २०७९ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =