बुधबारदेखि लागू हुने गरी घट्यो ब्याजदर

हिमाल प्रेस ३० फागुन २०७९ १५:०८
12
SHARES
बुधबारदेखि लागू हुने गरी घट्यो ब्याजदर

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएका छन्। बुधबारदेखि लागू हुने गरी वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएका हुन्।

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले चैतदेखि कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो। सोहीअनुसार मंगलबार सूचना जारी गर्दै ब्याजदर घटाएको जानकारी गराएका हुन्।

बुधबार अर्थात् चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरिएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए।

ऋणको ब्याजदर घटाउनमा संघ केन्द्रित रहेको केसीले बताए। हाल बैंकहरूले कर्जाको आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए। अब एक प्रतिशत घटेपछि आधारदरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन्।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन्। यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो।

मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ। हाल बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्। संस्थागततर्फ नौ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ। विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ।

संघको निर्णयअनुसार विकास बैंकहरूले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ।
त्यस्तै, एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम गरिएको छ।

हाल विकास बैंकहरूले एकवर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका छन्। ब्याजदर घटाएसँगै विकास बैंकहरूले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम छ दशमलव ६० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन्।

त्यसैगरी, नेपाल वित्तीय संस्था संघ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २० प्रतिशतले घटाएको छ। संघले तीन महिनामाथिको निक्षेपको ब्याजदर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरेको छ।

फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा बुधबारदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम गरेका छन्। रासस

प्रकाशित: ३० फागुन २०७९ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =