 
                            
                                            काठमाडौँ- नेपाली बलरहरूले फेरि एकपल्ट अनुपम बलिङ गरेपछि पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पीएनजीलाई धराशयी बनाउन सन्दीप लामिछानेले पाँच विकेट लिए।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको शृंखलाको खेलमा आइतबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७१ रनमा समेटेको थियो। यूएईलाई हराएपछि एकदिवसीय मान्यता सुरक्षित गरेको नेपाल आज पीएनजीलाई पराजित गर्दै विश्वकप छनोटको नजिक पुग्ने सुरमा छ।
टस जितेर हारेर ब्याटिङ गरेको पीएनजीले ३२ ओभरसम्म टिक्यो। नेपालविरुद्ध बनाएको ९५ रन पीएनजीले एकदिवसीयमा बनाएको दोस्रो सर्वाधिक योगफल हो।
पाहुना टिमका लागि कप्तान असाद भालाले बनाएको २० रन नै सर्वाधिक स्कोर रह्यो। ओपनरद्वय किप्लिन डोरिगा र हिरी हिरीले पहिलो विकेटका लागि मात्र पाँच रनको साझेदारी गरेको पीएनजीले लगातार विकेट गुमाइरह्यो। डोरिगाले दुई र हिरीले १४ रन बनाए।
कप्तान भालाबाहेक सेसे बाउ, चाल्र्स अमिनी, हिला भारे र सेमो कामिआ सन्दीपको बलिङको सिकार बने। बाउ १८, अमिनी १६ र भारे सात रनमा आउट भए भने कामिआ शून्यमा सीमित भए।
यूएईविरुद्धको खेलमा २० रन खर्चिएर पाँच विकेट लिएका ललित राजवंशीले पीएनजीका दुई विकेट हात पारे। उनले जम्मा १३ रन मात्र खर्च गरे। तीन ओभर बलिङ गरेका कुशल मल्लले दुई विकेट लिए।
लिग-२ मा नेपाल र पीएनजी छैटौँ पटक खेलिरहेका हुन्। यसअघिका पाँचै भिडन्त नेपालले जितेको थियो। नेपाल लिग-२ को अंक तालिकामा चौथो स्थानमा छ। ३४ खेलबाट ३६ अंक बनाएको नेपाल चार खेलमा अपराजित छ। पीएनजी भने ११ अंकका साथ पुछारमा छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 