काठमाडौँ- उपराष्ट्रपति पदको निर्वाचनमा उम्मेदवारी दिएका चारै जनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले सबैको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो।
जसपाबाट उम्मेदवार बनेका रामसहायप्रसाद यावदविरुद्ध उजुरी परेको थियो। उनलाई उजुरी खण्डन हुने सबुत प्रमाणसहित हाजिर हुन भनिएको थियो। आइतबार यादवले आफ्नो उम्मेदवारी संविधान र कानुनबमोजिम भएको दाबी गर्दै उजुरी खारेज गर्न माग गरेका थिए।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि यादवसहित एमाले नेत्री अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जसपा नेत्री प्रमिला कुमारीले उम्मेदवारी दिएका छन्।
जसपाबाट दुई जनाको उम्मेदवारी परेपछि एक जनाको उम्मेदवारी फिर्ता गराइने भएको छ। जसपाका एक नेताका अनुसार प्रमिला कुमारीको उम्मेदवारी फिर्ता गराउने तयारी भएको हो।