कृषिमा प्रविधिको प्रयोगले उत्पादन बढ्याे

हिमाल प्रेस २५ फागुन २०७९ १७:०४
4
SHARES
कृषिमा प्रविधिको प्रयोगले उत्पादन बढ्याे चितवनमा धान रोप्ने मेशिनबाट धान रोपिदै। तस्बिर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

गलेश्वर- कृषिमा यान्त्रीकरण भएपछि म्याग्दीमा उत्पादनमा वृद्धि भएको छ। परम्परागत रूपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोगले कम लागतमै उत्पादनमा वृद्धि भएको हो।

किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यहाँका किसान कृषि यान्त्रीकरणतर्फ आकर्षित भएका छन्।

बेनी नगरपालिका–२ खवराका किसान चन्द्रबहादुर कार्कीले पुर्खौंदेखि हलोको प्रयोग गरी खेत जोत्दै आएकोमा अहिले छाडिसकेको बताए।

अहिले खेतबारी जोत्नका लागि गोरुको ठाउँमा (पावर टिलर) को प्रयोग गरेको उनको भनाइ छ। ‘कम श्रममा एकैपटक धेरै खेत जोत्न सकिने भएपछि गोरु बेचेर पावर टिलर किनेको हुँ,’ उनले भने, ‘गोरु पाल्नका लागि घरका अरु सदस्यले घाँस काट्ने, खुवाउने र चराउने काम पनि घटेको छ। काम न्यून लागतमा छिटोछरितो भएको छ।’

पावर टिलरको प्रयोग गरेपछि चार दिनको काम दुई घन्टामा पूरा भएको कृषकको भनाइ छ। कृषि यन्त्रको प्रयोगले काममा सहज र समयको बचत भएको कार्कीको भनाइ छ।

विगतको तुलनामा कृषि उत्पादन पनि दोब्बरले वृद्धि भएको कार्कीले बताए। उनका अनुसार पावर टिलरले जोतेको खेतमा उब्जनी बढेको छ।

गोरुले जोतेकोभन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुने उनको भनाइ छ।

आफ्नो खेत जोतेर अरुको खेत पनि जोत्ने गरेका उनले त्यसबाट पनि आम्दानी हुने बताए। ‘गाउँघरका अरुका खेतबारी जोतेर आम्दानी हुने गरेको छ,’ उनले भने, ‘अहिले आफूसँग कर्नसेलर, पावर टिलर र रिपरलगायतका कृषि यन्त्र छन्।’

मालिका गाउँपालिका–२ का भीमबहादुर बुढाले विगत तीन वर्षदेखि खेतबारी जोत्न पावर टिलरको प्रयोग गर्दै आएका छन्। उनले प्रयोग गर्ने पावर टिलर अनुदानमै पाएका हुन्।

पावर टिलरले जोतेको माटो मसिनो र एकनाशले जोतिने भएकाले बाली लगाउनलाई सजिलो हुने र मेलो सजिलै सर्ने उनको अनुभव छ।

यसले कृषि उत्पादनमा समेत वृद्धि भएको कृषक बुढा बताउँछन्। ‘धान, गहुँलगायतका बाली भित्र्याउँदा विगतमा धेरै जनशक्ति प्रयोग गरेर बाली भित्र्याइन्थ्यो,’ उनले भने।

कृषिमा परम्परागत साधनको प्रयोगले पहिलेपहिले मजदुरको सहयोग लिँदा धेरै खर्च हुने गरेको मंगला गाउँपालिका रणबाङका कृषक हरिकृष्ण पौडेलले बताए।

आधुनिक कृषि यन्त्रको प्रयोगले समय र लागतसमेत कम भएको उनको भनाइ छ। मजदुर पनि नपाइने भएकाले यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिएको पौडेलको भनाइ छ।

नगरपालिका–५ पुलाचौरका राम बानियाँले पहिले पहिले घरपरिवारका लागि अन्न उब्जाउन मात्रै खेतीपाती गर्दै आएका थिए। पछिल्लो समय अनुदानमा पावरटिलर र रिपर पाएपछि व्यावसायिक तरकारीखेतीमा लागेको उनले बताए। ‘यन्त्रको प्रयोग भएपछि काममा सजिलो भएको छ,’ उनले भने, ‘खनजोत गोडमेल गर्न ज्यालामा मजदुर खोज्न परेको छैन।’

व्यावसायिक खेती गर्ने अधिकांश किसानले परम्परागत रूपमा प्रयोग गर्दै आएका कृषि साधनको साटोमा आधुनिक कृषियन्त्रको प्रयोग गरेकाले सबैलाई खेती गर्न सजिलो भएको छ। अहिले यान्त्रिक हलो प्रयोग गर्न थालेपछि गाउँघरमा व्यावसायिक खेती गर्नेको संख्या बढेको उनले बताए।

खतजोत गर्न सजिलो भएपछि ग्रामीण क्षेत्रका कृषकले वर्षभरि नै मौसमी र बेमौसमी तरकारी उत्पादनमा लागेका छन्।

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले व्यावसायिक किसान छनोट गरी उत्पादकत्व बढाउन सहयोग पुगोस् भनेर ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरिएको बताए। रासस

प्रकाशित: २५ फागुन २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =