होली रिसराग परित्याग गर्ने र प्रेम सद्भाव बढाउने पर्व : राष्ट्रपति

हिमाल प्रेस २२ फागुन २०७९ ७:४६
4
SHARES
होली रिसराग परित्याग गर्ने र प्रेम सद्भाव बढाउने पर्व : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् ।

‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो’, शुभकामना सन्देशमा भनिएको छ, ‘तसर्थ, फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास मैले लिएको छु।’

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसीयालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसंगीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिबिम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

प्रकाशित: २२ फागुन २०७९ ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =