खाद्यान्न अभाव भइरहने कर्णालीमा २८ प्रतिशत जमिन बाँझै

हिमाल प्रेस १६ फागुन २०७९ १६:०३
2
SHARE
खाद्यान्न अभाव भइरहने कर्णालीमा २८ प्रतिशत जमिन बाँझै

सुर्खेत- कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको पाइएको छ। बाँझो जमिन सदुपयोग गर्ने सरकारी नीति भए पनि कर्णाली प्रदेशभर करिब २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो।

कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्छ। कर्णाली प्रदेशको खेतीयोग्य जमीनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्यांक छ। मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनूसार देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक कृषिमा निर्भर छन्।

दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिनमा तीन लाख ३९ हजार नौ सय नौ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको मन्त्रालयको तथ्यांक छ।

जबकी कर्णालीमा वार्षिक तीन लाख ५८ हजार तीन सय १६ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ। बाँझो जमिन उपयोग गर्न सरकारले फलफूल, तरकारी खेती लगायतमा जोड दिएको प्रवक्ता कठायतले बताए। ‘हामीले बाँझो जमिन सदुपयोग गर्न विभिन्न योजना बनाएर काम गरिरहेका छौँ’ उनले भने, ‘हिमाली जिल्लामा स्याउ, ओख्खर खेती र पहाडी जिल्लामा सुन्तला, किबी र विभिन्न जातका फलफूल खेतीका लागि किसानलाई प्रोत्साहित गरिरहेका छाैँ।’

गरिबी न्यूनीकरण र खाद्यान्न अभाव कम गर्न बाँझो रहेको जग्गा सदुपयोग गर्दै आएको प्रदेश सरकारले बताएको छ। खेतीयोग्य जमीन बाँझो राखेर खाद्यान्न उत्पादन बढाउन नसकिने भन्दै त्यसका लागि किसान आकर्षण कार्यक्रम सरकारले ल्याएको कठायतको भनाइ छ। रासस

प्रकाशित: १६ फागुन २०७९ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =