मौलिक चाडपर्वले नयाँ उमंग र उत्साह पैदा गरेको छ : प्रधानमन्त्री

हिमाल प्रेस १६ फागुन २०७९ १२:३४
4
SHARES
मौलिक चाडपर्वले नयाँ उमंग र उत्साह पैदा गरेको छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वले नयाँ उमंग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।

माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रुपमा उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुकका रूपमा उल्लेख गर्दै प्रधानमन्त्रीले विकासका पूर्वाधार, जलविद्युत्, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेसा बिस्तारै लोप हुँदै गएको उल्लेख गरेको छ।

‘माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्बन्धलाई थप उजागर र स्थापित गर्नेछ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।

वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको प्रधानमन्त्री दाहालले सो सन्देशमा भनेका छन्।

प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायका बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपिल गरेका छन्।

प्रकाशित: १६ फागुन २०७९ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =