पुरानै गठबन्धन ब्युँतियो : राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति जसपालाई

हिमाल प्रेस १२ फागुन २०७९ १९:३९
356
SHARES
पुरानै गठबन्धन ब्युँतियो : राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति जसपालाई

काठमाडौँ- बालुवाटारमा जारी दलहरूको बैठकले निर्वाचनअघिको गठबन्धन ब्युँताउने सहमति गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित सानादलबीच भएको छलफलले राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपालाई दिने गरी भागबन्डा गरेको हो। यससँगै गठबन्धनमा आठ दल भएका छन्। अब गठबन्धन दलमा  कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोसपा र जनमोर्चा भएका छन्।

त्यस्तै माओवादीले दुई वर्ष, कांग्रेसले दुई वर्ष र नेकपा एकीकृत समाजवादीलाई एक वर्ष प्रधानमन्त्री दिने सहमति पनि दलहरूले गरेका छन्। बालुवाटारको आजको बैठकमा अन्य दलहरू नागरिक उन्मुक्ति, जनमत, लोसपा र जनमोर्चाले पनि सहभागी थिए। आठ दलको संयुक्त बैठकले नै कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

बैठकपछि खड्काले भने, ‘बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्वसम्मतले निर्णय गरेको छ।’

पुस १० गते एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर एमालेले कांग्रेस, माओवादीसहितको गठबन्धन टुटाएको थियो। अहिले राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर कांग्रेसले फेरि एमालेलाई माओवादीसँगको गठबन्धनबाट टाढा बनाएको छ।

पुस १० गते माओवादीलाई प्रधानमन्त्री दिने सहमति गर्दा एमालेले राष्ट्रपति लिने सहमति भएको थियो। तर प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा कांग्रेसले पनि मत दिएको थियो। त्यसपछि माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाउँदै आएको थियो।

कांग्रेसभित्र पनि सभापित शेरबहादुर देउवासँगै रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई राष्ट्रपतिको रुपमा चर्चा गरिएको छ।  सभापति देउवाले शनिबार बिहान राष्ट्रपतिको उम्मेदवारको नाम दिने गठबन्धनको बैठकमा बताएका छन्।

प्रकाशित: १२ फागुन २०७९ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =