बालुवाटारमा तीन दल : राष्ट्रपतिमा कांग्रेसको आफ्नै दाबी, अरू दलले माधव नेपालको नाम लिए

हिमाल प्रेस १२ फागुन २०७९ १२:५७
96
SHARES
बालुवाटारमा तीन दल :  राष्ट्रपतिमा कांग्रेसको आफ्नै दाबी, अरू दलले माधव नेपालको नाम लिए फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफलमा जुटेका कांग्रेस, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीको बैठक निष्कर्षमा नपुगी सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अहिलेको बैठकमा दलहरूका आफ्नो आफ्नो दाबीको विषयमा छलफल भएको कांग्रेसका महामन्त्री गगनकुमार थापाले जानकारी दिए। उनका अनुसार छलफल सकरात्मक भए पनि दलभित्रै छलफल गर्न आवश्यक भएकोले साँझ बस्ने गरी बैठक सकिएको छ।

‘राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसले कहिले छुट्टाछुट्टै, कहिले संयुक्त छलफल गरिरहेको छ। अन्य दलहरु पनि छलफलमा छन्। अहिले बिहान पनि हामी चारवटा दल एक ठाउँमा बसेर लामो छलफल गर्‍यौँ। विभिन्न विकल्पमा छलफल भएको छ,’ उनले भने, ‘छलफल सकारात्मक छ। कांग्रेसले आफ्नो उम्मेदवारलाई सहयोग गर्न प्रस्ताव गर्‍यो। अन्य दलले पनि उम्मेदवार दिने विषयमा प्रस्ताव राखिएको छ। यसबारे आ-आफ्नो दलभित्र छलफल गर्नुपर्ने भएको छ।’

अन्य दलले माधव नेपाललाई राष्ट्रपतिलाई प्रस्ताव गरेका हुन् भन्ने प्रश्नमा थापाले भने, ‘ हामीले हाम्रो कुरा राख्यौँ अन्य दलहरूले पनि उम्मेदवारको विषयमा कुरा गर्नु भयो।’

थापाले साँझ पाँच बजे बैठक बसेर अन्तिम टुंगोमा पुग्ने पनि दाबी गरे। उनले भने, ‘हामीले आफ्नो आफ्नो प्रस्ताव राख्यौँ। तर हामी एउटै उम्मेदवार हुनुपर्छ भन्नेमा एकमत छौँ। साँझ पाँच बजे अन्तिम टुंगोमा पुग्नेछौँ। पुस १० गते भंग भएको पाँच दलीय गठबन्धनका दलहरुबीच राष्ट्रपतिलाई लिएर सहमति जुटाउन बसेको बैठकमा निष्कर्षमा नपुगी सकिएको हो। कांग्रेससहितका दल चुनावको बेलाको गठबन्धन ब्युँताउने कसरतमा पनि छन्।

प्रकाशित: १२ फागुन २०७९ १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =