लिग-२ : घरेलु मैदानमा नेपालको सम्झनलायक क्लिन स्विप

हिमाल प्रेस ९ फागुन २०७९ १७:२४
32
SHARES
लिग-२ : घरेलु मैदानमा नेपालको सम्झनलायक क्लिन स्विप

काठमाडौँ- कप्तान रोहित पौडेल र करण केसीले नवौँ विकेटमा ७५ रनको साझेदारी गरेपछि नेपालले स्कटल्यान्डमाथि मंगलबार दुई विकेटको जित हासिल गरेको छ। स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले अविजित ९५ रन बनाएको थिए। उनलाई साथ दिएका करणको नाममा ३१ रन रह्यो।

यो जितपछि नेपालले घरेलु मैदानमा भएको शृंखला क्लिनस्विप गर्‍यो। नेपालल् यसअघिका तीनै खेलमा जित दर्ता गरकोको थियो। आईसीसी क्रिकेट विश्वकप लिग-२ का कुनै पनि शृंखलामा नेपालले चार खेल जित्न सकेको थिएन।

लिग–२ मा अब नेपालको अंक २६ पुगेको छ। सात टिमसम्मिलित लिग-२ मा २८ खेल खेलेको नेपाल छैटौँ स्थानमा छ। नामिबिया भने ३४ खेलबाट ३७ अंक बटुलेर तेस्रो स्थानमा यथावत छ। स्कटल्यान्ड भने ३६ खेलबाट ५० अंक जम्मा गर्दै लिग–२ च्याम्पियन बन्यो।

घरेलु मैदानमा भएको शृंखलामा आफ्ना सबै खेल जित्ने लक्ष्य बनाएको नेपालले स्कटल्यान्डविरुद्ध सुरुवात भने राम्रो गर्न सकेको थिएन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख एक र १२ रन बनाएर आउट भएका थिए। त्यसैगरी ज्ञानेन्द्र मल्ल २१ रनमा सीमित भए।

सातौँ ओभरमा १९-२ को स्थितिमा रहेको नेपाली इनिङ्स रोहितको धैर्यपूर्वक ब्याटिङका कारण उकासिएको थियो। उनलाई करणले अन्तिमसम्म साथ दिए। ३२ औँ ओभरबाट ब्याटिङ सुरु गरेका करणले ३१ बल सामना गर्दा एक छक्का र दुई चौका प्रहार गरे।

नेपालले मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानहरुलाई सस्तैमा गुमाएको थियो। कुशल मल्ल १७, सन्दीप लामिछाने ९, दीपेन्द्र सिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप जोरा १ रनमा आउट भएका थिए।

टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डलाई ४६.१ ओभरमा २१२ रनमा रोक्न सन्दीप लामिछानेले चार र करण केसीले तीन विकेट लिएका थिए। त्यसैगरी ललित राजवंशी र कुशल मल्लको नाममा एक–एक विकेट रह्यो।

नेपालसँगको पहिलो खेल तीन विकेटले गुमाएको स्कटल्यान्डले मंगलबार सन्तोकजनक सुरुवात गरेको थियो। ओपनर कायल कोएट्जेर र जर्ज मुन्सेले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे। यो शृंखलामा स्कटल्यान्डका ओपनरले गरेको सबैभन्दा ठूलो साझेदारी यही हो।

आठौँ ओभरको पाँचौँ बलमा सन्दीपले एलबीडब्लू धरापमा पार्नुअघि कोएट्जेरले २३ बलमा २२ रन जोडे। अर्का ओपनर मुन्सेले ५० बल सामना गर्दा दुई छक्का र नौ चौकाको सहारामा ६० रन बटुले। मुन्सेलाई पनि सन्दीपले नै पभेलियन फर्काएका थिए।

उपल्लो क्रमका अन्य दुई ब्याट्सम्यान क्रिस्टोफर म्याकब्राइड २२ रन र कप्तान रिची बेरिङटन शून्यमा आउट भए। त्यसैगरी म्याथ्यु क्रसले ४१ र ब्रान्डन म्याकुलमले ३१ रनको योगदान गरे।

नेपालविरुद्धको पहिलो खेलमा १०७ रन बटुलेका माइकल लिस्क यसपटक खाता नखोली पभेलियन फर्किए। लिस्कबाहेक तल्लोक्रमका अरु ब्याट्सम्यानको पनि ब्याटिङ चलेन। क्रिस ग्रिभ्स सात र मार्क वाट आठ रनमा आउट भए। त्यसैगरी साफयान शरिफको नाममा आठ रनमा अविजित रहे।

लिग-२ मा बाँकी खेलः
नामिबियाविरुद्ध यूएई, फेब्रुअरी २३
नामिबियाविरुद्ध यूएई, फेब्रुअरी २५
पीएनजीविरुद्ध नेपाल, फेब्रुअरी २७
पीएनजीविरुद्ध यूएई, फेब्रुअरी २८
नेपालविरुद्ध यूएई, मार्च २
पीएनजीविरुद्ध नेपाल, मार्च ३
पीएनजीविरुद्ध यूएई, मार्च ५
नेपालविरुद्ध यूएई, मार्च ६
नेपालविरुद्ध पीएनजी, मार्च ९
पीएनजीविरुद्ध यूएई, मार्च १०
नेपालविरुद्ध यूएई, मार्च १२
नेपालविरुद्ध पीएनजी, मार्च १३
पीएनजी यूएई, मार्च १५
नेपालविरुद्ध यूएई, मार्च १६

प्रकाशित: ९ फागुन २०७९ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =