पत्नीको शव लुकाउन ढिला हुँदा यसरी फन्दामा परे रमेश साह

विवेक विवश रेग्मी ९ फागुन २०७९ १६:३२
76
SHARES
पत्नीको शव लुकाउन ढिला हुँदा यसरी फन्दामा परे रमेश साह

इटहरी- मोरङको बूढीगंगा गाउँपालिका २ अमाहीस्थित स्थानीय नरसिंह चौधरीको ग्वालीमा सोमबार एक महिलाको शव विभत्स अवस्थामा फेला पर्‍यो। हत्या गरी बोरामा पोको पारेर राखेको अवस्थामा प्रहरी शव फेला पारेको थियो।

शव विराटनगर १९ की २८ वर्षीया प्रियंका सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए। उनका अनुसार घटनामा संलग्नलाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ वर्षीय उमेश सरदार, ६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका-७ का ५३ वर्षीय श्रीराम चौधरी र २९ वर्षीय रमेश साह छन्। साह मृतक प्रियंकाका पति रहेको डीएसपी कार्कीले बताए।

हत्यापछि बोरामा पोको पारी पराल र भुसले छोपिएको अवस्थामा शव भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रियंकाले परपुरुषसँग हिमचिम बढाएको र सम्बन्ध राखेको शंकामा हत्या गरेका हुन्। प्रहरीको अनुसन्धानअनुसार भारतको बिहार माइत भएकी प्रियंकाको रमेशसँग मागी विवाह भएको हो।

उनीहरूका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन्। प्रहरीका अनुसार प्रियंकाका पति रमेशको विराटनगर १९ मिलनचोकमा सुन पसल छ। परपुरुषसँग सम्बन्ध राखेको भन्दै रमेशले पटकपटक झगडा गर्दै आएका थिए। ‘विगतदेखिको पारिवारिक झगडा अहिले आएर हत्यामा परिणत भएको पाइयो,’ कार्कीले भने, ‘घरदेखि अर्कै ठाउँमा पुर्‍याएर महिलालाई मारेछन्।’

यसरी खुल्यो रहस्य

पक्राउ परेकामध्ये रमानन्द राम आइतबार मध्यराति कोसी अस्पतालमा शव वाहन खोज्दै पुगेका थिए। उनी अलि हतास र त्रसित जस्ता देखिन्थे। शव वहनको गाडी खोजेपछि नजिकै रहेका प्रहरीले शंका लागेर सोधपुछ गरे। रमानन्दले भने सुनसरीको बर्जुमा आफ्नाी नातिनीको मृत्यु भएको भन्दै प्रहरीलाई ढाँटे।

‘हस्पिटल वरिपरि गएर गाडी खोज्ने क्रममा त्यहीँ ड्युटी गर्ने प्रहरीले शंका लागेर समातेछ,’ डीएसपी कार्कीले भने, ‘प्रहरीले समातेपछि घटनाबारे विस्तृत जानकारी अनुसन्धानका क्रममा खुलेको हो।’

सुरुमा पतिपत्नीबीचको झगडा रमेशले रमानन्दलाई सुनाए। रमानन्दले ‘त्यस्तो जाबो म मिलाइहाल्छु नि’ भनेर मार्ने योजना बनाएको प्रहरीको भनाइ छ।

डीएसपी कार्कीका अनुसार मार्ने ठाउँ पनि हेरेपछि रमेशले ७ गते धामी हेर्न भनेर लिएर घटनास्थल पुगे। ‘उपचारका लागि भनेर पत्नीलाई पनि लिएर गएछन्। घरभेटीलाई एक सय रुपैयाँ दिएर रक्सी खान पठाएपछि घटनाले हत्याको रूप लियो,’ कार्कीले भने, ‘घटनापछि बोरामा हालेर त्यही दिन बेलुका सुनसरीको चतरास्थित सप्तकोसीमा लगेर फाल्ने योजना रहेछ, तर भ्यान नपाएका कारण त्यस दिन त्यहाँबाट उम्कन पाएनन्।’

भ्यान नपाएका कारण शव वाहन खोज्न हस्पिटल वरिपरि घुम्दै शंकास्पद गतिविधि गरेपछि घटनाको रहस्य खुलेको कार्कीले बताए। उनका अनुसार हत्यापछि तरास्थित सप्तकोसीमा फाल्ने योजना बनाए पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल छ।

अनैतिक सम्बन्ध राखेको शंकाकै भरमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकामाथि बुधबार जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। शव भने पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ।

प्रकाशित: ९ फागुन २०७९ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =