घर जलेपछि खोटाङमा १३ जनाको परिवार बिचल्लीमा

हिमाल प्रेस ५ फागुन २०७९ २०:१८
2
SHARE
घर जलेपछि खोटाङमा १३ जनाको परिवार बिचल्लीमा

खोटाङ- डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेको छ। जंगलबाट भएको आगलागीले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात जलेपछि बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेको हो। आगलागीमा उनको पशु पनि जलेका छन्।

स्थानीय आमकासुकसे सामुदायिक वनमा लागेको डढेलोको आगो हावाहुरीले उडाएर उनको घरको छानामा पुर्याएपछि बुधबार साँझ बस्नेत परिवारको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ। आगलागीमा बस्नेत परिवारको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।

आगलागी पीडित बस्नेत परिवार अहिले छिमेकी गणेश कार्कीको घरमा आश्रय लिएर बसिरहेको छ। पीडित बस्नेत परिवारले तत्काल उचित व्यवस्थापनको अपेक्षा गरेको छ। आगलागीमा बस्नेतको स्कुल पढ्दै गर्ने छोराछोरीका पुस्तक, कापी, कलम तथा विद्यालय पोशाकसमेत जलेर नष्ट भएको स्थानीय तामन राईले बताए। बाँदरले खाने डरले सबै अन्नपात घरभित्र राख्ने गरेकामा उक्त अन्नपात पनि जलेर खरानी भएको बस्नेत परिवारले बताएको छ।

आगलागी पीडित परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार रुपैयाँ सहयोग गरेको छ। कोषका हलेसी प्रतिनिधिमार्फत् वडाका जनप्रतिनिधिको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको कोषका सचिव युगशन किराँतले जानकारी दिए।

नगरपालिकाले पीडितलाई सहयोग गरेको प्रतिक्रिया दिएको छ । नगरपालिकाको तर्फबाट तत्कालका लागि करिब दुई महिना पुग्ने खाद्यान्नसहित अत्यावश्यक सामग्री उपलब्ध गराइएको नगर उपप्रमुख रमेशकुमार राउतले बताए। तत्कालका लागि छिमेकीकामा बसेको बस्नेत परिवारलाई पुनःस्थापित गर्न नगरपालिकाले सहयोग गर्ने उनको भनाइ छ। राससको सहयोगमा

प्रकाशित: ५ फागुन २०७९ २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =