बालीमा वन्यजन्तु लागेपछि किसानको बिलौना, ‘नोक्सानी देख्दा धुरुक्क रुन मन लाग्छ’

रासस २८ माघ २०७९ १२:४१
2
SHARE
बालीमा वन्यजन्तु लागेपछि किसानको बिलौना, ‘नोक्सानी देख्दा धुरुक्क रुन मन लाग्छ’ प्रतिनिधिमूलक तस्बिर।

महोत्तरी- खेतबारीमा बाँदर, निलगाई र बँदेलले बालीनाली नोक्सान पार्न थालेपछि किसान पीडामा परेका छन्। दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसानको हैरानी बढेको छ।

वनक्षेत्र नजिकका बस्तीमा दुःख दिने बाँदर भने जिल्लाका तल्लो भेगका बस्तीमा देखिँदैनन् तर नीलगाई र बँदेलचैँ हुलमै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमीटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन्। बाँदर र दुम्सीले भने वन क्षेत्र नजिकका बस्तीमा सताउने गरेका छन्।

पूर्वपश्चिम राजमार्गबाट करिब पाँच किलोमिटर दक्षिणको बर्दिबास–७ मनहरिपुरकी ७० वर्षीया इन्द्रमायाँ पौडेल वन्यजन्तुले हैरान खेलाएको बताउँछिन्। ‘यता बाँदर त लाग्दैनन्, तर नीलगाई र बँदेलले खेतबारीको बाली नोक्सान पारेर धुरुक्क रुवाए’, पौडेलले भनिन्।

खासगरी कोवी, बन्दा, केराउजस्ता तरकारी बाली र अहिले लहलहाउँदै गरेको गहुँ नीलगाई र बँदेलले नोक्सान गर्ने गरेका पौडेलको भनाइ छ।

आफ्नो बस्तीमा बँदेल र नीलगाईले बाली नोक्सान गरेर सताएको भारतीय सीमावर्ती बस्ती सम्सीका मुनेश्वर यादव बताउँछन्। दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको यादवको भनाइ छ । बँदेलले रातीमात्र बाली नोक्सान गर्छ ।

तर ठूलै समूहमा देखिने नीलगाईले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका भारतसँग जोडिएको सोनमा गाउँपालिका–३ रघुनाथपुरका रामप्रताप यादव बताउछन्।

नीलगाईचैँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेलले भने रातिमा बस्तीभित्रै पसेर घरकरेसाका केराका थामसमेत लडाउने गरेको सम्सी गाउँका इम्तियाज अहमद बताउँछन्।

नीलगाई मानिसको डरले भाग्ने गरे पनि बँदेलचैँ झम्टन आउने गरेपछि खेतबारी डुल्न डर भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताए। बँदेलले प्रत्येक रातजसो फूलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गर्छ।

जिल्लाको बर्दिबास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरीपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भुचक्रपुर, राजपुर र धतियाटोलतिर चार(पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ।

बँदेलले त कैयन छिमल बच्चा यतै हुर्काइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउँछन्। दुम्सी आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका दाहालको भनाइ छ।

नीलगाई र बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैन। उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनिंया र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर दुःख दिने गरेको छ।

वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती(बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेका हरुको भनाइ छ।

प्रकाशित: २८ माघ २०७९ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =