उर्मिला अर्याल : स्ववियु उपसभापतिदेखि राष्ट्रियसभाको उपाध्यक्षसम्म

हिमाल प्रेस २३ माघ २०७९ १३:१४
42
SHARES
उर्मिला अर्याल : स्ववियु उपसभापतिदेखि राष्ट्रियसभाको उपाध्यक्षसम्म

काठमाडौँ- पाँच दशकभन्दा बढी समयदेखि वामपन्थी राजनीतिमा संलग्न उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। एमालेमा छँदा उनले राज्यमन्त्री र मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन्। २०७८ मा माओवादीबाट राष्ट्रियसभा सदस्य बनेकी अर्याल समकालीन महिला नेत्रीहरूमध्ये अनुभवी मानिन्छिन्।

२०२६ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा लागेकी उनको संसद् प्रवेशचाहिँ २०५६ मा भएको थियो। त्यतिबेला उनी पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी थिइन्।

यसअघि २०४८ र २०५१ मा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिए पनि उनका लागि फलिफाप भएको थिएन।

अर्याल २०६३ चैत १० देखि २०६४ जेठ १० गतेसम्म महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री बनेकी थिइन्। २०६७ चैतदेखि २०६८ भदौ ११ गतेसम्म स्थानीय विकास मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव पनि उनीसँग छ। अर्याल २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

पार्टी राजनीतिमा संलग्नता

२०२६ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेकी अर्यालले २०३५ सालमा कम्युनिस्ट पार्टीको संगठित सदस्यता प्राप्त गरेकी थिइन्।

२०३५ साल चैतमा तत्कालीन नेकपा चौम जिल्ला कमिटी सदस्य र २०३६ सालमा तत्कालीन चौमअन्तर्गत अनेम संघको केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य बनेकी अर्याल २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियु उपसभापतिमा निर्वाचित भएकी थिइन्।

यस्तै २०३८ सालमा तत्कालीन चौमअन्तर्गत अयोध्यामा भएको अनेम संघको पहिलो राष्ट्रिय सम्मेलनबाट पहिलो केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।

२०३८ सालमा अखिल भारत नेपाली एकता समाजको राष्ट्रिय सम्मेलनको अध्यक्षता गरेकी अर्यालले २०३८ सालमा शान्ति क्षेत्र प्रस्तावको औचित्यबारे अखिल भारत नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन दिल्लीमा अध्यक्षता गरेकी थिइन्।

अर्याल २०४६ सालमा नेकपा एमालेमा प्रवेश गरेकी हुन्। २०५० सालमा नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी उनी सोही वर्ष राजविराजमा सम्पन्न अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन्।

२०५९ माघको सातौँ महाधिवेशनबाट एमालेको वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनी एमालेको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यमा निर्वाचित भएकी थिइन्। यस्तै उनले २०६४ सालमा महिला लोकतान्त्रिक सञ्जालको केन्द्रीय अध्यक्षको जिम्मेवारी पाएकी थिइन्।

एमाले पार्टी स्कुल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भएकी उनी २०७० जेठ ४ गते माओवादीमा प्रवेश गरेकी हुन्। हाल उनी नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य छिन्।

२०१३ असोज २० गते पर्साको मसिहानीमा जन्मिएकी अर्याल विद्यावारिधि (पीएचडी) का अनुसन्धानरत छिन्। उनले इन्दिरा गान्धी विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्।

प्रकाशित: २३ माघ २०७९ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =