सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने संकेत

हिमाल प्रेस १९ माघ २०७९ १७:३२
6
SHARES
सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने संकेत

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत् सेयर धितोमा रहेको १२ करोडको सीमा हटाउने संकेत दिएको छ।

राष्ट्र बैंकले आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीतिमा सेयर बजारलाई कडाइ गर्न मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ को नीति लिएको थियो। तर चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् उक्त व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले ४ करोडको सीमा हटाएर १२ करोडको सीमा कायम राखेको थियो।

यो कडाइका कारण सेयर बजारमा नकारात्मक प्रभाव परेको भन्दै अर्थमन्त्री विष्णु पौडेलले समाधानका लागि राष्ट्र बैंकसँग छलफल गर्ने बताए। उनले भने, ‘१२ करोडको नीतिबारे अर्थ मन्त्रालय, राष्ट्र बैंक र सरोकारवाला निकाय बसेर एउटा निचोडमा पुग्छौँ।’

अर्थमन्त्रीले ब्याजदर र सेयर बजारमा रहेको कडाइका विषयमा नीतिगत समाधान खोज्न सकिने भन्दै त्यसको लागि गभर्नरसमेत सकारात्मक रहेको बताएका हुन्। पौडेलले भने, ‘राष्ट्र बैंक स्वायत्त संस्था हो, मन्त्रालयले दबाब दिन मिल्दैन तर सेयर बजारलाई सुधार्ने हाम्रो सुझाव सधैँ रहन्छ।’

यस्तै राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले वित्तीय स्थायित्वका लागि गरिएका कतिपय नीतिगत कडाइ बिस्तारै हटाउँदै गएको बताए। ‘अर्थतन्त्र संकटमा पुग्ने अवस्था देखिएको समयमा सेयर धितोमा कडाइ गरिएको थियो,’ उनले भने, ‘तर यो व्यवस्था सधैँ रहिरहन्छ भन्ने पनि छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + five =