अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने

हिमाल प्रेस १७ माघ २०७९ १९:२३
38
SHARES
अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने

काठमाडौँ- सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ। अपांग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए।

यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाधरुपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन्। सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको छ।

‘गृह मन्त्रालयसँग समन्वय गरेर भोलिदेखि अपांग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेश गर्न सहजीकरण गर्ने उद्देश्यले सो व्यवस्था गरिएको हो,’ मन्त्री अर्यालले भने।

अपांग र अशक्त नागरिकलाई राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा सुरक्षाकर्मीले उनीहरु सवार भाडाका गाडीलाई सहजरुपमा सिंहदरबार प्रवेश गराउने उनको भनाइ छ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरलाई थप व्यवस्थित गर्दै ‘समाधानः २४ घण्टे श्रम सहायता केन्द्र’को पनि सुरुवात गरेको छ। अर्यालले श्रमिकको गुनासोलाई सुन्न र समाधान गर्नका लागि २४ घण्टे श्रम सहायता केन्द्र बनाइएको जानकारी दिए ।

उनले श्रम सहायता केन्द्रमा आएका सबै गुनासोहरुलाई सरकारले समाधान गर्ने गरी काम सुरु गरिएको बताए।

मन्त्री अर्यालले ६ महिनाभित्र श्रमाधान मोबाइल एप सञ्चालन गर्ने र श्रमसम्बन्धी सम्पूर्ण कार्यहरुको टाइम कार्ड लागु गरिने जानकारी दिए। त्यस्तै, उनले अशक्तहरुलाई सिंहदरबार प्रवेश गर्दा ट्याक्सी लैजान सक्ने व्यवस्था गरिएको बताए।

त्रिभुवन विमानस्थलको अध्यागमनमा विदेश जाने सबै नेपालीको लागि एउटै लाइनको पनि व्यवस्था भएको उनको भनाइ छ। यसले गर्दा वैदेशिक रोजगारमा जानेहरुले काठमाडौं विमानस्थलमै अपहेलित महसुस गर्न नपर्ने मन्त्री अर्यालले बताए।

पत्रकार सम्मेलनमा मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशका जेलमा परेका नेपालीहरुको आवश्यक तथ्यांक संकलन हुन थालेको भन्दै उद्धारका लागि आवश्यक पहल गर्न निर्देशनसमेत दिइसकेको बताए।

प्रकाशित: १७ माघ २०७९ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =