बुद्धस्थल सगरहवाको प्रवर्द्धनका लागि मूर्ति निर्माण गरिने

हिमाल प्रेस १६ माघ २०७९ १८:००
16
SHARES
बुद्धस्थल सगरहवाको प्रवर्द्धनका लागि मूर्ति निर्माण गरिने

बुटवल– प्राचिन कपिलवस्तु राज्यका शाक्यहरूको सामूहिक बध गरेको बुद्धकालीन कपिलवस्तुको सगरहवामा आगामि फागुन २३ गते देखि कपिलवस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला हुने भएको छ।

लुम्बिनी विकास कोषले गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी विश्वसम्पदामा सूचीकृत भएको २५ औं वर्षको उपलक्ष्य पारेर सगरहवा क्षेत्रको पुरातात्त्विक महत्त्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरी मूर्तिकला कार्यशाला गरिने भएको हो।

सोमबार कोषले कपिलवस्तुका राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यसहित स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता एवम् सरोकारवालाहरूको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गरी सगरहवाको प्रचा

प्रसार र प्रवर्द्धन गर्न प्राज्ञ कलाकारहरूबाट बौद्धकालीन चित्रण मूर्तिमा उतार्ने गरी कार्यशाला गर्ने निर्णय गरिएको हो।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभा सदस्य विमला घिमिरेले प्राचिन राजधानी र गौतमबुद्धले २९ वर्ष बिताएको तिरौटाकोट दरबारसहित ७ वटा बुद्धका महत्त्वपूर्ण क्षेत्र भएर पनि ओझेलमा परेको बताइन्।

उनले कपिलवस्तुको सगरहवा पुरातात्त्विक र ऐतिहासिक थलो भएकाले यहाँ हुने मूर्तिकार्यशालाले थप उर्जा थप्ने बताइन्।‘कपिलवस्तु आफैमा खुला संग्रालय हो,’ राष्ट्रिय सभा सदस्य घिमिरेले भनिन्, ‘अब कपिलवस्तुका बौद्ध क्षेत्रहरूको विकास, अन्वेषणमा राज्यले ध्यान दिनुपर्छ।’

कार्यक्रममा कपिलवस्तु १ का प्रतिनिधिसभा सदस्य बलराम अधिकारीले गौतमबुद्धको घर र परिवार नै कपिलवस्तु राज्यमा बिताएकाले यो क्षेत्रको विकासमा कन्जुस्याइँ भइरहेको बताए।

उनले विकास कोषले सगरहवाको पुरातात्त्विक र ऐतिहासिकता प्रदर्शन गर्ने गरी कार्यशाला गर्न लाग्नु सकरात्मक भएको भन्दै यसले कपिलवस्तुको बुद्धकालीन क्षेत्रको विकासमा टेवा पुग्ने बताए।

यस्तै कपिलवस्तु १ (क) का लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले लुम्बिनीमा आउने लाखौं पर्यटकलाई मध्यनजर गरेर सगरहवामा बुद्धका विचार र सन्देश दिने गरी मूर्ति बनाउन आवश्यक रहेको बताए।

उनले सगरहवा प्राचिन शाक्यहरूको राज्य रहेकाले यसको विकाससँगै त्यहाँको पुरातात्त्विक महत्त्व पनि आम मानसिहरूलाई थाहा हुने बताए। पन्थीले सगरहवा अहिले पोखरीमात्रै रहेकाले यहाँ पर्यटकका लागि मूर्ति कार्यशालाले टेवा पुग्ने बताउँदै स्थानीयहरूलाई आम्दानीसँग पनि जोड्ने बताए।

शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलवस्तु राज्यका शाक्यहरूको बध गरेको स्थानका रूपमा सगरहवालाई चिनिन्छ। संरक्षणविहीन अवस्थामा रहेको र नजिकै मानवनिर्मित जगदिशपुर तालसँग जोड्दै पर्यटक आर्कषित गर्न स्थानीयहरूको समेत अपनत्व हुने गरी कार्यशाला गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए।

उनका अनुसार लुम्बिनी विकास कोष मूख्य आयोजक र कपिलवस्तु नगरपालिका आयोजक रहने गरी प्रारम्भिक तयारीका लागि कमिटीहरू गठन गरिएको छ।

आगामी फागुन २३ गते फागु पूर्णिमादेखि चैत पूर्णिमासम्म एक महिनाको अवधि राखेर सगरहवाको ऐतिहासिक तथा बौद्धकालीन पुरातात्व झल्कने गरी मूर्ति निर्माण गरिने कोषाध्यक्ष भट्टराईले बताए।

अन्तरक्रिया कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कपिलवस्तु आफैमा बौद्धकालीन सभ्यताले भरिपूर्ण रहेकाले मूर्तिकार्यशाला सम्पन्न गर्न आफूहरू सहयोग गर्न तयार रहेको बताए। उनले पुरातात्त्विक स्थलमा नगरपालिकाले निर्माणका कामहरू गर्न नसके पनि बाहिरी क्षेत्रलाई बुद्धमय बनाउने गरी काम गर्ने प्रतिबद्धता जनए।

कपिलवस्तुका स्थानीय एवम् बौद्ध बिषयका विज्ञ पोमनारायण पौडेलले सगरहवा शाक्य वंशको सामूहिक बध गरिएको र सम्झनामा सयौं स्तुपा निर्माण गरिएको चिनियाँ यात्रीहरूले यात्रा वर्णनमा उल्लेख गर्दै बताउँदै यो क्षेत्र बुद्धकालीन सभ्यताको प्रमाणका रूपमा रहेको बताए।

सगरहवामा ३ हजार वर्षअघिका पुरातात्त्विक वस्तुहरूको संरक्षण गर्ने गरी विकास कोष र पुरातात्व विभागले काम गर्नुपर्ने बताए। मूर्तिकार्यशालाले सगरहवाको प्रचार प्रसारमा ठूलो सहयोग पुर्‍याउने बताउँदै दीर्घकालीन रूपमा यसको संरक्षण गर्ने गरी स्पष्ट योजना ल्याउन उनको सुझाव छ।

उनले कपिलवस्तुमा बुद्धकालीन अवस्थाका महत्त्वपूर्ण स्थलहरू रहेकाले यहाँको विकासका लागि छुट्टै प्राधिकरण आवश्यक रहेको बताए। सगरहवामा सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्वारा गरिएको उत्खनन अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा स-सना स्तुपा र १७ वटा ठूला स्तुपा एवम् मुख्य स्तुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल, रुवीलगायतका सामग्री भेटिएको थियो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमल चुँदाली, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. अब्दुल रसिद खाँन, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य गीता अञ्जान केसी, नेकपा एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्मा, कपिलवस्तु नगरपालिका ९ का वडाअध्यक्ष दीपक गुरुङ, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चाका नेता, साथै नेपाल ललितकला प्रज्ञ प्रतिष्ठानका प्राज्ञसभा सदस्य गोविन्द चौधरीले बोल्दै कार्यशालाले पर्यटन प्रवर्द्धन र सगरहवाको ऐतिहासिकताको प्रचार हुने बताए।

मूर्तिकार्यशालाअन्तर्गत पहिलो चरणमा छलफल गरिएको र आगामि दिनमा स्थानीय आमा समूह, सामुदायिक वन एवम् सरोकारवाला सबै पक्षलाई समेटेर अगाडि बढ्ने लुम्बिनी विकास कोष कपिलवस्तु कार्यालयका प्रमुख माधव आचार्यले जानकारी दिए।

कोषले कार्यशाला सम्पन्न गर्न कपिलवस्तुबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरूलाई संरक्षक, सबै राजनीतिक पार्टीका एक/एक जना प्रतिनिधिहरूलाई सल्लाहकार र विज्ञहरूको छुट्टै कमिटी गठन गरेर तयारीमा जुट्ने जनाएको छ।

प्रकाशित: १६ माघ २०७९ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =