‘सीप भए पैसा कमाउन ग्राह्रो छैन’

हिमाल प्रेस १३ माघ २०७९ ८:१४
4
SHARES
‘सीप भए पैसा कमाउन ग्राह्रो छैन’

धनकुटा- सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आएका कृष्ण रसाइली।

धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ। तराईमा जमिन किन्न होडबाजी छ। तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइँसराइ गरी धनकुटा आए।

रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका वडा नं ९ को ग्रामीण क्षेत्रमा आएका हुन् । विसं २०६३ मा उनी रोजगारका सिलसिलामा मलेसिया जानुभएको थियो। सोचेजस्तो पारिश्रमिक नपाउँदा खान–बस्नसमेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिकरूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गरे।

सो समयमा मासिक १८ हजार रुपैयाँ नेपाली तलबमा काम गरेका रसाइली अनधिकृतरूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किए। उनले भने, ‘विदेश बसेर पैसा कमाउन सकिएन, नेपाल आएर पुख्र्यौली पेसामा लागेँ।’

पुर्खौली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली सोही कामका लागि सात वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आएका छन्। पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाए।

रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ देखि घरमै उद्योग सञ्चालन गरे। दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक २० हजार रुपैयाँ पारिश्रामिक दिएर दुई सहयागी र ५५ हजार रुपैयाँ पारिश्रमिक दिएर तीन कालिगढ राखे।

साठीदेखि ७० प्रकारका काठका सामग्री बनाएर बिक्री गर्दैआएका रसाइलीले एउटा सामानको दुई सय रुपैयाँदेखि २२ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। वार्षिक २५ लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म कारोबार गरेर मासिक दुई लाख रुपैयाँ कमाइ गरिरहेका रसाइलीले भने, ‘श्रम र सीप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ।’

समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उनको सुझाव छ। कुनै तालिम नलिई युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाडौँलगायत क्षेत्रमा बेच्दै आएका छन्।

महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा हरेक वर्षको श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिदैआएका रसाइलीले आफ्नो व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सहयोग गरेको बताए।

प्रकाशित: १३ माघ २०७९ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =