पार्टी बैठक रोकेर विवाद टार्ने देउवा रणनीति

सन्तोष अधिकारी १२ माघ २०७९ १६:०५
142
SHARES
पार्टी बैठक रोकेर विवाद टार्ने देउवा रणनीति सभापति शेरबहादुर देउवा

काठमाडौँ- पार्टीमा बढ्दै गएको अन्तरविरोधले राष्ट्रपति निर्वाचनमा असर पार्ने भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरि सारेको छ। माघ १५ गतेका लागि डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। यसअघि गत पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि सारिएको थियो। २८ गते पनि बैठक बस्न नसकेपछि माघ १५ का लागि सारिएको थियो।

बैठकमा प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचनको समीक्षा, राष्ट्रपतिको निर्वाचनलगायतका विषयमा छलफल गर्ने तयारी थियो। तर तीन दिनअघि सूचना जारी गरेर कांग्रेसले अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ। नेताहरूले बैठक सर्नुको मूल कारण पार्टीमा बढ्दै गएको अन्तरविरोध भएको बताएका छन्। पहिला पार्टीभित्रको अन्तरविरोध समाधान नगरी बैठक बस्दा फलदायी नहुने बुझाइ कांग्रेस नेतृत्वको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको विषयमा कांग्रेसभित्र अन्तरविरोध चर्किरहेको छ। गत साता शेखर कोइराला समूहले विश्वासको मत दिनु गलत रहेको निष्कर्ष निकालेको थियो। उक्त समूहले केन्द्रीय समितिमा पेस गर्न रणनीति पनि तयार पारिसकेको छ। चुनावअघि गठबन्धन गर्न नहुने पक्षमा रहेको कोइराला समूह चुनावपछि भने गठबन्धन तोडिँदा कांग्रेस संस्थापनसँग रुष्ट छ। साथै कोइराला समूहले पन्ध्रौँ महाधिवेशन सभापतिको उम्मेदवारमा कोइरालालाई अघि सार्न तयारी गरिसकेको छ।

इतर समूहले बैठकमा नेतृत्वको आलोचना गर्ने सक्ने शंकामा सभापति शेरबहादुर देउवाले पटकपटक बैठक सार्दै आएका छन्। प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको समीक्षासमेत गर्न नभ्याएको कांग्रेसले राष्ट्रपति निर्वाचनअघि पार्टीको विवाद बाहिर नल्याउने भन्दै केन्द्रीय समितिको बैठक सारेको हो।

कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी केन्द्रीय समिति बैठक राख्दा राष्ट्रपतिको कुरा उठ्ने र त्यसमा विवाद हुने भएकाले बैठक स्थगित गरिएको बताउँछन्। उनले हिमाल प्रेससँग भने, ‘हामी राष्ट्रपति निर्वाचनमा केन्द्रित हुनुपर्नेछ। चुनावअघि केन्द्रीय कार्यसमिति बैठक राख्दा विवाद उत्पन्न हुन सक्छ। त्यसैले बैठक स्थगित गरिएको हो।’

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भए पनि लोकतान्त्रिक वाम गठबन्धन जोगाउन नसक्दा कांग्रेस केन्द्रदेखि सातै प्रदेशमा सरकारबाहिर छ। तर पनि कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दियो। सभामुख, उपसभामुख एवम् राष्ट्रपति पद पाइने आसमा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिइएको भनिए पनि सभामुख र उपसभामुख सत्ता गठबन्धनबाटै चयन भइसकेका छन्। राष्ट्रपति पनि कांग्रेसले पाउने सम्भावना क्षीण हुँदै गएपछि यति बेला कांग्रेस अन्योलको अवस्थाबाट गुज्रिरहेको स्वयं कांग्रेस नेताहरू बताउँछन्।

सभापति शेरबहादुर देउवाको लक्ष्य भने राष्ट्रपति पद कसरी आफ्नो दलले लिने भन्ने देखिन्छ। यसका लागि कांग्रेसका नेताहरूले राष्ट्रिय सहमतिका कुरा उठाउन थालेका छन्।

सोही बुझेर हुन सक्छ, संसद् बैठकमा सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको कुरा उठाएका थिए। कतिपयले कांग्रेसबाट राष्ट्रपतिका आकांक्षी रहेका पौडेलले अन्य दललाई आफ्नो पक्षमा पार्न राष्ट्रिय सहमतिको कुरा उठाएको टिप्पणी गरेका छन्।

पौडेलले भनेका थिए, ‘राजनीतिक अस्थिरताबाट देशलाई जोगाउनु छ। अराजतकताबाट देशलाई बचाउनु छ। विभिन्न राजनीतिक सत्ताको खेलबाट लोकतन्त्र जकडिएको अवस्थामा छ। यो जकडिएको लोकतन्त्रलाई कसरी जोगाएर सबल बनाएर अगाडि बढाउने। यसका लागि पनि सहमतिको खोजी गर्नुपर्छ कि पर्दैन?’

‘फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। त्यसका लागि केही कसरत गर्नुपर्नेछ। अन्य दलसँग छलफल गरेर राष्ट्रपतिको निर्वाचनको तयारीमा लाग्नुपर्ने समयमा पार्टीकै विवादले भाँडभैलो होला भनेर अहिले बैठक स्थगित गरिएको हो।’

पौडेलले मात्रै होइन प्रवक्ता डा. प्रकाशरण महतले पनि राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताए। उनले बाँकेमा बिहीबार आयोजित कार्यक्रममा भने, ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो।’ सरकारलाई समर्थन गरे पनि पार्टी प्रतिपक्षमै बस्ने उनको भनाइ छ। साथै उनले प्रधानमन्त्री प्रचण्डले संविधानरक्षाका लागि ‘म उभिन्छु र समझदारी निर्माण गर्छु’ भन्ने  प्रतिबद्धता गरेकाले परीक्षणका लागि सरकारलाई समर्थन गरेको बताए। संविधान रक्षाको जिम्मेवारी राष्ट्रपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको महतको भनाइ छ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला भने सरकारलाई विश्वासको मत दिएको विषय अब सकिएकाले अन्तरविरोध नरहेको दाबी गर्छन्। विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको विवाद नरहेको स्पष्ट पारेका हुन्। उनले  राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको बताए।

चुनावअगाडि अहिले कांग्रेससँग रहेका चार दल र माओवादी केन्द्र एउटै गठबन्धनमा थिए। चुनावपछि फेरिएको समीकरणबाट माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए। एमाले नेता देवराज घिमिरे सभामुख भए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर उपसभामुख भइन्।

कांग्रेसको आन्तरिक विवादलाई अहिलेकै अवस्थामा राखेर अन्य रणनीति बनाउन भन्दै केन्द्रीय समितिको बैठक सरेको छ। कांग्रेसभित्र सरकारको नेतृत्व गुमाएको, पार्टीमा सभापति शेरबहादुर देउवा र उनको समूहले एकलौटी गरेको भन्दै विवाद चर्किँदो छ।

‘फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। त्यसका लागि केही कसरत गर्नुपर्नेछ। अन्य दलसँग छलफल गरेर राष्ट्रपतिको निर्वाचनको तयारीमा लाग्नुपर्ने समयमा पार्टीकै विवादले भाँडभैलो होला भनेर अहिले बैठक स्थगित गरिएको हो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘पार्टीभित्रै थुप्रै विषयमा विवाद छ। विवादलाई थाती राखेर राष्ट्रपतिको चुनावका लागि लाग्ने निर्णय पदाधिकारीको बैठकले गर्‍यो।’

अब राजनीतिक दलहरू राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारीमा जुटेका छन्। निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गर्ने तयारी गरेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदैछ।

राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवार निर्वाचित हुने कांग्रेसका नेताहरूको सार्वजनिक अभिव्यक्ति छ। राष्ट्रपतिको चुनाव जित्न कांग्रेसलाई सत्तारूढ दल माओवादी केन्द्रको साथ चाहिन्छ। प्रधानमन्त्रीमा विश्वासको मत दिएका कारण माओवादीले राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्ने आशमा कांग्रेस छ। प्रवक्ता विश्वप्रकाश शर्मा पनि कांग्रेसबाटै राष्ट्रपति हुने बताउँछन्। उनले गत साता पत्रकारसँग भनेका थिए, ‘का‌ंग्रेसले नै अघि सारेका व्यक्ति राष्ट्रपति हुनेछन्।’

नेताहरूले  कांग्रेसबाट राष्ट्रपति बन्ने भने पनि त्यसको आधार भने बताउन सकेका छैनन्। संसद्को अंकगणितअनुसार सत्ता साझेदार दल एक ठाउँ उभिएसम्म कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव जित्न सक्दैन। त्यसको आधार खोज्नकै लागि तोकिएको बैठक स्थगित गरिएको नेताहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =