सांसदहरूले आफ्नो भूमिका र गरिमा बुझ्नुपर्छ : सभामुख देवराज घिमिरे

हिमाल प्रेस ११ माघ २०७९ १०:५४
4
SHARES
सांसदहरूले आफ्नो भूमिका र गरिमा बुझ्नुपर्छ : सभामुख देवराज घिमिरे सभामुख देवराज घिमिरे।

एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ। खेलका नियमहरू भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतिसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुराहरू हुन्छ।

प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ। माघ ५ गते निर्वाचित भएका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको एउटा बैठक सञ्चालन गरिसकेका छन्। एमालेबाट निर्वाचित सभामुख घिमिरेसँग आगामी काम, कर्तव्य र संसद्‍मा आफ्नो भूमिकाबारे न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश :

प्रतिनिधिसभालाई कसरी हेर्नुभएको छ र कसरी बुझ्नुभएको छ?

प्रतिनिधिसभा स्वाभाविक रूपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरूको सभा हो। अथवा जनताको सार्वभौमसत्ता प्रयोग हुने थलो हो। संसद्‌मा हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरू आएका छन्। नयाँनयाँ पार्टी, नयाँनयाँ नेताहरू आउँदा राजनीतिकभन्दा बाहिरका अनुभवहरूसहित आएका छन्।

त्यसबाहेक एउटा प्रणालीबाट आएका छन्। पार्टीबाट आएका छन् र दलगत प्रणालीमा आएका छन्। त्यसमा हिजोको तुलनामा अलि फरक छ भन्नु स्वाभाविक हो। तर आधारभूत रूपमा त्यस्तो खास फरक छैन। त्यस्तो नयाँ मैले महसुस गरेको छैन।

परम्परागत रूपमा रहेका राजनीतिक शक्ति र उनीहरूको प्रतिस्पर्धीका रूपमा आएका शक्तिहरूबीचको द्वन्द्व देखिने हो कि भन्ने शंका पनि छ। तपाईँ सभाको रेफ्रीको भूमिकामा हुनुहुन्छ, कसरी कार्यसम्पादन गर्नुहुन्छ?

एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ। खेलका नियमहरू भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतिसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुरा हुन्छ। त्यस दिशामा सबै माननीयले भूमिका निर्वाह गर्नेछन्। जिम्मेवार नेताहरूको थलो भएको हुनाले, जिम्मेवार पार्टीहरू त्यहाँ भएको हुँदाखेरी आइपरेका चुनौतीलाई जिम्मेवारीपूर्वक नै समाधान गर्न सकिन्छ। मलाई त्यो सहयोग पाउँछु भन्ने आत्मविश्वास छ।

अहिलेको संसद् त्रिशंकु अनि सरकार पनि, सरकार आफू बलियो भइराख्न संसद्को सबैभन्दा बढी सहारा खोज्ने गर्छ, यस्तो बेलामा तपाईँ तटस्थ हुने कि सापेक्ष सहयोगी हुने?

राजनीतिले सबै कुराको छिनोफानो गर्छ। संसद् राजनीतिक छलफल, बहस गर्ने ठाउँ हो। त्यसलाई निकास दिनकै लागि तदनुकूलकै यसका व्यवस्था गरेका हुन्छन्। ऐन पनि तदनुकूल बनेको हुन्छ। नियमावली पनि तदनुकूल बनेका हुन्छन्। निष्कर्ष पनि तदनुकूल नै निस्किन्छ। त्यही दिशाबाट जाँदा संसद्को स्वरूप सरकारमा हुनु स्वाभाविक छ। सरकार संसद्‍माथि निर्भर हुनु पनि स्वाभाविक छ। तर त्यसको निकास त्यही ढंगले जानुपर्छ भन्ने मान्यता मैले राख्छु।

संसद्‌भित्र सांसदहरूको प्रस्तुति, भाषाशैली खस्किँदै गएको भन्ने गरिन्छ। संसद्को गरिमालाई फर्काउन कसरी काम गर्नुहुन्छ?

यसलाई फर्काउने र धेरै अगाडि बढिसकेको वा हिजो यस्तोचाहिँ बेठिक थियो भनेर धेरै टिप्पणी गर्ने भन्दा पनि ठिक ढंगले लैजान के गर्नुपर्छ भन्ने दिशाबाट सोच्नुपर्छ। त्यो सोच्नका लागि मूलतः जिम्मेवार राजनीतिक पार्टीहरू र निर्वाचित भएर आएका आम सांसदहरू हामी कुन ठाउँमा छौँ? हाम्रो गरिमा के हो? हाम्रो महत्त्व के हो? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ? मान्न योग्यहरूले गर्ने व्यवहार के हुन्छन्? तरिका के हुन्छन्? प्रणालीहरू के हुन्छन्? भन्ने कुरामा काहीँ कतै कमजोरी विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भीर बनाउनुपर्छ।

गम्भीर बनाउने मामिलामा सबैको दायित्व छ। सञ्चारको हिसाबले भन्ने हो भनेदेखि यहाँहरूको पनि त्यो दिशामा सहयोग हुँदै आएको छ र अरु बढी सहयोगको जरुरी पनि पर्न सक्छ।

संघीय संसद् विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरूको एजेन्डा चलाउने जस्तो भयो भन्ने आलोचना पनि छ। यी अवाञ्छित क्रियाकलापहरूबारे तपाईँको बुझाइ के छ?

यहाँले जुन तहमा भन्नुभयो, अहिले म त्यो तहमा बुझाई राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन।

पत्रकारहरूमार्फत संसद्का विषयवस्तुको सही सम्प्रेषणका लागि कस्तो भूमिका हुन्छ?

विगतबाट शिक्षा लिनु नै पर्छ। विगतमा त्यस्ता नकारात्मक शिक्षाहरू केही छन्, त्यस्ता केही घटना छन्, त्यस्तो प्रवृत्ति छन् भने त्यसलाई बिना पूर्वाग्रह त्यसबाट शिक्षा लिने र आफ्नो भूमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने गर्नुपर्छ। पक्ष, विपक्ष भएर आएको छ भने दुवै पक्ष यसमा जिम्मेवार भएर अगाडि बढेर राम्रो वातावरण बनाएर संसद्लाई प्रभावकारी पार्ने कुरामा मिलाएर जानुपर्छ।

प्रकाशित: ११ माघ २०७९ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =