अफगानमा खोसिएका महिला सपना

हिमाल प्रेस ११ माघ २०७९ १५:०२
22
SHARES
अफगानमा खोसिएका महिला सपना

एपीका एकजना फोटोग्राफरले अफगान महिलाका केही तस्बिर आफ्नो क्यामराको लेन्समा कैद गरेका छन्। तस्बिरमा महिलालाई आफ्ना मन पर्ने खेल सामग्री समातेको देख्न सकिन्छ। उनीहरू खेल्दा लगाउने जर्सी र जुत्तामा सजिएका छन्।

यति कुराले अफगान महिलाको सुन्दर तस्बिर प्रस्तुत गर्छ। तर ती तस्बिरले अफगानिस्तामा महिलाको अवस्थाको कुरूप तस्बिर दर्शाउँछ। तस्बिरले उनीहरूका खोसिएका सपनाको कथा भन्छ।

किनकि तस्बिरमा आफ्नो प्रिय खेलको सामग्री र जर्सी मात्र होइनन् उनीहरूले पूरै अनुहार छोपिने गरी बुर्का पहिरिएका छन्। तालिबानी अधिकारीहरूले अफगान महिलालाई सार्वजनिक स्थानमा अनुहार पूरै छोप्ने गरी बुर्का लगाउन अनिवार्य गरेको छ।

तालिबान प्रशासनमा आफ्ना सपनाको कुर्बानी दिन बाध्य भएका छन् महिलाहरू। विशेष गरी महिला खेलाडी मारमा परेका छन्। घरबाहिर निस्किँदा पनि पुरुष साथमा हुनुपर्ने आदेश जारी भएको तालिबान शासनमा महिलालाई खेलकुदमा सहभागी हुन दिने कुरै भएन।

खेलकुदबाट वञ्चित हुन पुगेका महिला खेलाडीले आफ्ना सपनाको तिलाञ्जली दिइरहेका छन्। त्यही कुरालाई फोटोग्राफरले तस्बिरबाट प्रस्ट पार्न खोजेका छन्।

अफगानिस्तानमा तालिबानी प्रशासनअघि परम्परागत रूढिवादी सोच भएका परिवारमा महिलालाई खेलकुदमा सहभागी हुने अनुमति थिएन।

अफगानिस्तानको पूर्वसरकार खेलकुदमा महिला सहभागिता बढाउन लागिपरेको थियो। स्कुल, कलेजमा क्लब र लिग सुरु भएका थिए। कतिपय खेलमा महिला टोली राष्ट्रिय स्तरमा खेल्न थालेका थिए। तर तालिबानले सत्ता कब्जा गरेपछि परिस्थिति बदलिएको छ।

२० वर्षीया सरिना मार्सल आटर्सकी खेलाडी हुन्। उनले अन्तिम पटक सन् २०२१ को अगस्टमै हो खेलेको। त्यो दिन सम्झिँदै उनले एपीलाई सुनाइन्, ‘काबुल स्पोटर्स हलमा एक स्थानीय टुर्नामेन्ट खेलिरहेकी थिएँ। त्यहीँ तालिबानीहरू काबुलको सीमासम्म पुगेको खबर सुनेँ। त्यो सुन्नेबित्तिकै त्यहाँ भएका केटी र महिला डरले भागेका थिए।’

त्यसपछि उनले भित्रभित्रै चुपचाप केटीहरूलाई मार्सल आटर्स सिकाउने प्रयास नगरेकी होइनन्। तर तालिबानीहरूले उनलाई समाते। जीवनमा फेरि कहिल्यै नखेल्ने सर्तमा मात्रै उनी तालिबानको फन्दाबाट छुटेकी हुन्।

२० वर्षीया नुरा फुटबल खेल भनेपछि भुतुक्कै हुन्छिन्। त्यसका लागि आफूले आमाबाट पिटाइ खाएको र छिमेकीबाट भएनभएका कुरा सुनेको उनले बताइन्। ‘तैपनि खेल्न छोडिनँ,’ उनले भनिन्, ‘तालिबानले अफगान महिलालाई खेल्न प्रतिबन्ध लगाएपछि खेल छोड्न बाध्य भएकी छु।’

नुराले सानैदेखि फुटबल खेल्न सुरु गरेकी हुन्। सुरुमा उनले केटाहरूसँग फुटबल खेल्ने गर्थिन्। त्यसपछि एक स्थानीय महिला फुटबल टोलीसँग जोडिइन्। ‘म फुटबल खेल्छु भन्ने कुरा बुबालाई मात्र थाहा थियो,’ उनले भनिन्, ‘१३ वर्षकी हुँदा राम्रो खेलाडीमा छनोट भएपछि टीभीमा तस्बिर देखाइयो। त्यो देखेपछि आमाले भकुर्नु भकुरिन्।’

तैपनि उनले खेल्न छाडिनन्। लुकीलुकी खेलिरहिन्। उनको टोलीले नेसनल च्याम्पियनसिप जित्यो। यसपटक पनि समाचार टीभीमा देखाइयो। अनि नुराले घरमा पिटाइ खानुपर्‍यो। आमाले उनको जर्सी र जुत्ता जलाइदिइन्। जितपछि नुरा लुकेर अवार्ड थाप्न गइन्। उनले पुरस्कार पाउँदा उपस्थित सबैले ताली बजाए। तर उनका आँखामा भने आँसु थिए।

‘त्यो खुसीको आँसु थियो,’ उनले भनिन्, ‘मैले गरेको दुःखको प्रतिफल पाइरहेकी थिएँ।’

दबाबका कारण नुराले फुटबल छोड्नुपर्‍यो। तर उनले खेल क्षेत्र छोड्न सकिनन्। बक्सिङ सुरु गरिन्। तालिबान काबुलमा प्रवेश गरेपछि नुराका प्रशिक्षकले उनलाई देश छोडेर जाने सल्लाह दिए। तर नुराकी आमाले प्रशिक्षकको सन्देश छोरीसम्म पुग्न दिइनन्। नुराले सो कुरा थाहा पाउँदासम्म धेरै ढिलो भइसकेको थियो।

खेल्न नपाउँदा नुरा आफ्नो ज्यानको शत्रु आफैँ बनिन्। उनले आत्महत्याको प्रयास गरिन्। तुरुन्तै उपचार पाएकाले उनी बाँचिन्। ‘मेरो खेलाडी बन्ने सपना चकनाचुर भयो,’ उनले भनिन्, ‘यहाँ महिलालाई खेल्नमा मात्र प्रतिबन्ध लगाइएको छैन। नखेल्ने महिलालाई पनि धम्की दिने र सताउने गरिएको छ।’

०००

सन् २०२१ अगस्टमा तालिबानले दोस्रोपटक अफगानिस्तानको सत्ता कब्जा गरेको थियो। सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको सत्तामा रहँदा तालिबान प्रशासन महिलाप्रति कठोर थियो। फेरि अफगानिस्तान कब्जा गरेपछि तालिबानले महिला अधिकार संकुचित हुने खालका प्रावधान लागू गर्दै आएको छ।

तालिबान सत्तामा फर्किएपछि महिलाको भविष्यबारे अन्तर्राष्ट्रिय समुदायबाट आशंका देखाइएको थियो। अफगानी महिलाले पनि चिन्ता व्यक्त गरेका थिए। तालिबानले भने यसपटक महिलाप्रति नरम रहने संकेत दिएको थियो।

समय बित्दै गएपछि तालिबान आफ्नो पुरानै रूपमा फर्कियो। पहिलेजस्तै व्यवहार दोहोर्‍याउन थाल्यो। महिलामाथि प्रतिबन्ध लगाउन थाल्यो। तालिबानले गरेका एकपछि अर्को निर्णयले ऊ अहिले पनि महिलाप्रति कठोर रहेको आभास हुन थाल्यो।

महिला घरबाट निस्किँदा पुरुष साथमा चाहिने भयो। तालिबान प्रशासनले महिलालाई एक्लै हवाईजहाजमा यात्रा गर्न रोक लगायो। महिलालाई पुरुषबिना हवाईजहाजमा चढ्न नदिने आदेश तालिबानले सबै एयरलाइन्सलाई दियो। यस आदेशअनुसार पुरुषसँग आएका महिलाले मात्र हवाईयात्रा गर्न पाउने भए।

तालिबानी प्रशासनले लामो समयपछि खुलेको छात्रा हाइस्कुल केही घण्टामै बन्द गर्न लगाएको थियो। तालिबानको यस आदेशअनुसार छ कक्षामाथिका छात्रा विद्यालय जान पाएका छैनन्।

डीडब्ल्यू र एपीको सहयोगमा

प्रकाशित: ११ माघ २०७९ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =