माओवादी द्वन्द्व बिर्साउने एउटा तस्बिर

हिमाल प्रेस १० माघ २०७९ १३:४५
20
SHARES
माओवादी द्वन्द्व बिर्साउने एउटा तस्बिर सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सशस्त्र प्रहरी बल मुख्यालयमा आयोजित कार्यक्रममा सलामी दिएको एउटा तस्बिरका सम्बन्धमा धेरैले चासो व्यक्त गरेका छन्। यो तस्बिरबारे सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ।

सशस्त्र प्रहरी बल स्थापनाका दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले सलामी अर्पण गरेको त्यो सालिक सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठको हो।

तत्कालीन महानिरीक्षक श्रेष्ठ माओवादी द्वन्द्वका क्रममा मारिएका थिए। प्रचण्ड माओवादी द्वन्द्वका कमान्डर हुन्। उनकै अगुवाइमा २०५२ सालदेखि २०६३ सालसम्म भएको सशस्त्र द्वन्द्वमा १७ हजारभन्दा बढी नेपालीको ज्यान गएको थियो भने खर्बौँको भौतिक संरचना ध्वस्त भएका थिए।

माओवादी द्वन्द्व बढ्दै गएपछि तत्कालीन सरकारले २०५८ सालमा अर्धसैनिक शक्तिका रूपमा सशस्त्र प्रहरी बल स्थापना गरेको थियो। यो बल स्थापनाको उद्देश्य नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रणमा लिनु भन्ने थियो।

सशस्त्र प्रहरी बल स्थापनापछि त्यति बेला माओवादीले थप हिंसा चर्काएको थियो। साथै माओवादीले आफ्नो सैन्य दस्ता विस्तार गरी औपचारिक रूपमा जनमुक्ति सेना निर्माण गरेको थियो। यसर्थ माओवादी छापामारको मुख्य शत्रु सशस्त्र प्रहरी बल हुन पुगेको थियो। सोही कारण छापामारहरू सशस्त्र प्रहरी बललाई निस्तेज पार्न सक्रिय थिए। सशस्त्र प्रहरी बलमा भर्ना खुलेपछि पनि माओवादी कार्यकर्ताले युवाहरूलाई भर्ती नहुन दबाब दिएका थिए।

यसै क्रममा महानिरीक्षक श्रेष्ठको हत्या भएको थियो। मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालयको प्रतिवेदनमा तत्कालीन महानिरीक्षक श्रेष्ठ, उनकी पत्नी तथा सशस्त्र प्रहरी परिवार महिला संघकी संस्थापक अध्यक्ष नुडुप श्रेष्ठ र अंगरक्षक प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीको माओवादीद्वारा हत्या गरिएको उल्लेख छ।

उनीहरू तीनै जनामाथि २०५९ माघ १२ गते ललितपुरको बागडोलमा प्रातः भ्रमणमा रहेका बेला गोली हानिएको थियो। आफ्नै कार्यकर्ताद्वारा मारिएका श्रेष्ठको सालिकमा प्रचण्डले सलामी दिएर पुष्पहार चढाएर श्रद्धाञ्जली अर्पण मात्रै गरेनन्, देश र जनताका खातिर श्रेष्ठले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त गरेको पनि बताएका थिए। साथै उनले अमर सशस्त्र प्रहरीहरूप्रति समवेदना व्यक्त पनि व्यक्त गरेका थिए।

आफैँले अगुवाइ गरेको हिंसात्मक विद्रोहका बेला आफ्नै कार्यकर्ताद्वारा मारिएका श्रेष्ठलाई प्रधानमन्त्रीले सलामी दिएका कारण त्यसको चर्चा हुनु स्वाभाविकै हो।

प्रधानमन्त्रीको उक्त तस्बिरलाई लिएर पत्रकार कनकमणि दीक्षितले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृष्णमोहन, नुडुप र सूर्यप्रसादका हत्यारालाई खोजी गरी जवाफदेही नबनाउँदासम्म यस्तो सलामको अर्थ शून्य रहनेछ।’

यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले लेखेका छन्, ‘धेरै कुराको सन्देश दियो यो तस्बिरले, शान्ति, सम्झौता र सहमति! देशको भलो होस, जनको भलो होस्।’

सामाजिक सञ्जालमा इन्द्र घिमिरेले लेखेका छन्, ‘यो फोटोले मन छोयो। राजकीय मर्यादा र पदीय भूमिकामा मात्रै सीमित नहोस्। अकाल मृत्युवरण गर्नेहरूको मृत्युप्रति पश्चात्ताप र द्वन्द्वका क्रममा मारिएका सबैप्रति न्यायको पहल यसपछि बन्ने कुनै सरकारले गर्न नपरोस्, शुभकामना सम्माननीय प्रधानमन्त्रीज्यू!’

दोस्रो जनआन्दोलन २०६२/६३ पछि शान्ति प्रक्रियामा आएको माओवादीका अध्यक्ष प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसकेका छन्। यसबीचमा संविधानसभा निर्वाचन भई नयाँ संविधान बनेको छ। जुन सशस्त्र विद्रोहका बेला माओवादीले उठाएको पहिलो मुद्दा थियो। साथै मुलुकमा स्थानीय तह, प्रदेश र संघ गरी तीन तह निर्माण भई संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास भइरहेको छ।

प्रधानमन्त्री प्रचण्डको यो तस्बिरले तत्कालीन विद्रोहलाई बिर्साए पनि विद्रोहका बेला बेपत्ता भएका, घाइते भई अपांग भएका, यातना पाएका तथा गैरन्यायिक हत्याका पीडितहरू अझै न्यायको पर्खाइमा छन्।

संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन गठित संयन्त्रहरू प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन्। तत्कालीन विद्रोही माओवादी र सात दलबीच विस्तृत शान्तिसम्झौता भएको १६ वर्ष बित्दासम्म पनि विद्रोहको घाउ ज्यूँकात्यूँ छ।

सशस्त्र प्रहरी बल नेपालको व्यावसायिक छवि स्थापित गर्ने कार्यमा श्रेष्ठको विशेष योगदान छ। २००३ फागुन ३ गते संखुवासभाको चैनपुरमा जन्मिएका श्रेष्ठ २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =