भुसालको प्रवेशले एकीकृत समाजवादीमा जगाएको आशा

किरण पौडेल ८ माघ २०७९ १९:०५
280
SHARES
भुसालको प्रवेशले एकीकृत समाजवादीमा जगाएको आशा

काठमाडौँ- नेकपा एमालेबाट अलग भएर अर्को पार्टी बनाउने प्रक्रिया सुरु गर्दा माधव नेपालको मन भारी थियो। लामो समय पसिना बगाएको पार्टी छाड्नुपर्दा र आफ्नै मित्रले साथ नदिँदा सकसमा थिए उनी।
२०७८ जेठ २ मा निर्वाचन आयोगमा दल दर्ता गर्दै गर्दा ‘निर्धारित संख्याका केन्द्रीय सदस्य र सांसद’ नेपालको साथमा थिएनन्। पार्टी विभाजनका लागि ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य आवश्यक पर्नेमा नेपालसँग २० प्रतिशत हाराहारीमा थिए।

एमालेमा रहँदा घनश्याम भुसालसहितको टिम नेपालसँग नजिक थियो। भुसाल नेपालकै गुटमा थिए। एमाले विभाजित हुँदा अन्तिम क्षणमा उनीहरू विभाजित नहुने निष्कर्षमा पुगे।

‘हामीले माधव नेपाल र केपी शर्मा ओलीलाई देखाएर १० बुँदे सहमति गरेका थियौँ तर माधव नेपाल विभाजित हुने मोडमा पुगिसक्नुभएको रहेछ,’ एमाले सचिव योगेश भट्टराईले भने, ‘हामीले उहाँ (नेपाल)लाई धोका दिएको होइन। हामीले भनेको टेर्नुहुन्थ्यो भने हामी एमालेमा रहँदा उहाँ पनि एमालेमै रहनुपर्थ्यो।’

एमाले विघटनभन्दा पहिले ओलीतर्फका पाँच र नेपाल पक्षका पाँच जना समेटेर १० सदस्यीय कार्यदल बनाइएको थियो। ओलीको नेतृत्व सुवास नेम्बाङले गरेका थिए भने भीम रावलले नेपाल पक्षको नेतृत्व गरे।
ओली-नेपालकै समन्वयमा कार्यदलका दुई पक्षका नेताले सहमतिपत्र तयार गरे पनि नेपाल सँगै नरहने मनस्थितिमा थिए। त्यसैले विभाजित भएपछि नेपालले पटकपटक आफ्ना पुराना सहकर्मीप्रति गुनासो गरिरहे।

‘मलाई भित्तामा पुर्‍याएर उहाँहरू पछि हट्नुभयो। धोका भयो’, पटकपटकका नेपालका भाषणमा भुसालहरूप्रति गुनासो हुन्थ्यो, ‘हामी यत्तिको भएका छौँ। उहाँहरू पनि आएको भए पार्टी कस्तो बन्थ्यो होला?’
नेपालले स्थानीय तहको चुनाव ताका काठमाडौँको एक कार्यक्रममा भनेका थिए, ‘उहाँहरू हालत अहिले कस्तो छ। म सम्झन्छु। ओलीको पेलानमा परेरै जाने भो।’

नेपाल मात्र होइन एकीकृत समाजवादीका कार्यकर्ताले पनि ‘दसबुँदे’ नेताप्रति तीव्र गुनासो गर्थे। समाजवादीका नेताकार्यकर्ताले ओलीपछि सबैभन्दा बढी आलोचना ‘दसबुँदे’ नेताकै गर्थे। विभाजनपछि पनि नेपाल कमजोर बने। लगातारका निर्वाचनमा समाजवादी कमजोर ठहरियो। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत कटाउन सकेन। त्यसपछिका पार्टी बैठकमा नेतृत्वमाथि गम्भीर प्रश्न उठे। कमजोर मत भएकै कारण यति बेला अन्य पार्टीसँग एकता गर्नुपर्ने दबाबमा नेकपा एस पुगेको छ।

यद्यपि समाजवादी कुन पार्टीसँग एकता गर्ने भन्नेमा स्पष्ट छैन। जनता समाजवादी पार्टी (जसपा), माओवादी र एमालेसँग एकताको कुरा उठेको छ। ‘जसपासँग एकता भइहाल्छ। हामी प्रक्रियामा अघि बढ्छौँ,’ पार्टी प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘कार्यदलले छलफल गरिराछ।’

‘घनश्यामको प्रवेशले तत्काल एमालेमा फर्कने, समाजवादीको भविष्य छैन भन्ने सोचेर अत्तालिएकालाई आडभरोसा दिन्छ,’ सुवेदी सम्झन्छन्, ‘गैरपार्टी वामपन्थीहरू समाजवादीतिर आकर्षित हुन सक्छन्। थोरै भए पनि शक्ति आर्जन हुनेछ।’

यत्तिकैमा पूर्वएमाले नेता घनश्याम भुसाल समाजवादी प्रवेश गरेका छन्। बौद्धिक र तार्किक नेता मानिने भुसालले आफू समाजवादी प्रवेश गरेको नभई सदस्यता नवीकरण गर्न आएको व्याख्या गरेका छन्।
बृहत् वाम एकताका लागि आफू संगठित हुन समाजवादी रोजेको उनको भनाइ छ भुसालको समाजवादी प्रवेशलाई पार्टीभित्र आशासहित निराशाका कोणबाट हेरिएको छ। भुसाल समाजवादी आउने कदम सही भए पनि समय गलत भएको कतिपयको टिप्पणी छ।

भुसालप्रति आशा

समाजवादीमा अहिले सन्नाटा छ। चुनावमा गुमाएको जनविश्वास माथि उठाउन नेताहरूलाई सकस परिरहेको छ। चुनावी नतिजाबारे नेतृत्वमाथि प्रश्न उठिरहँदा पार्टीको भविष्य अन्योलमा छ। त्यसैले पार्टी एकता गर्ने वा नगर्ने, सरकारमा जाने वा नजाने विषयमा विवाद छ। पटकपटकका बैठकले पनि समस्या सुल्झाउन सकेको छैन।

भुसालको प्रवेशपछि कार्यकर्ता पंक्ति हौसिएको छ। भुसाल नेता मात्र नभई बौद्धिक र मार्क्सवादका कुशल व्याख्याता मानिन्छन्। सैद्धान्तिक धरातल व्यापक भएका भुसालसँग ‘साइनो नवीकरण’ गर्न पाउँदा कार्यकर्ता हर्षित छन्।

‘तत्कालीन नेकपा माओवादी र एमालेको एकता भएको पार्टी हो। तर अदालत र राजनीतिक कारण माओवादी र एमाले पुरानै अवस्थामा फर्किएका छन्,’ भुसालले भनेका छन्, ‘माओवादी जनयुद्धतर्फ र एमाले २०४६ सालतर्फ नै फर्किए। तर समाजवादी नेकपाको निरन्तरता हो।’

यति मात्र होइन, भुसालले एमालेको नवौँ महाधिवेशनपछि गर्न बाँकी काम समाजवादीमा रहेर आफूले गर्ने बताए। भुसाल तिनै नेता हुन्, नेपाल नवौँ महाधिवेशनमा अध्यक्षमा लड्दा त्यही समूहबाट उपमहासचिव लडेका थिए।

नेपाल हारे, भुसाल जिते। यसकारण भुसाल नवौँ महाधिवेशन भनिरहेका छन् कि त्यो महाधिवेशनको दस्तावेज भुसाल आफैँले बनाएका हुन्। ‘विधान हाम्रो पारित भयो। नेता अर्को (ओली) बने,’ भुसालले भने, ‘ओली जबजबाट पछि हटे। अब हामीले सुधार गर्नुपर्छ। ओलीवादलाई परास्त गर्न समाजवादी रोजेको हुँ।’

‘देब्रे न दाइने’ भएको पार्टीलाई सही बाटोमा हिँडाउन भुसालको मद्दत पुग्ने कार्यकर्ताको बुझाइ छ। ‘हामीमाझ घनश्याम भुसाल जोडिनुभएको छ। यो खुसीको कुरा हो’, विद्यार्थी नेत्रृ आरती लामा भन्छिन्, ‘अब पार्टी थप सशक्त बनाएर लैजान्छौँ।’

पार्टी नेताबाटै पनि यो किसिमका अभिव्यक्ति आएका छन्। पार्टी अध्यक्ष नेपालले वामपन्थी आन्दोलन थप सशक्त बनाउन घनश्यामको रोजाइ सही भएको बताएका छन्।  सम्मानित नेता झलनाथ खनाल पनि भुसालको प्रवेशपछि समाजवादी झनै सशक्त भएर अघि बढ्नेमा ढुक्क छन्।

भुसालप्रति निराशा

भुसालको समाजवादी पार्टी प्रवेशप्रति आशा मात्र होइन निराशा पनि छ। कतिपयले भुसालले माधव नेपाललाई धोका दिएका नेताका रूपमा लिएका छन्।

एकीकृत समाजवादीकै कार्यकर्ताले भुसाल पहिले एमालेमै रहनु र अहिले समाजवादीमा आउने ‘अवसरवाद’ को संज्ञा दिएका छन्। यति मात्र होइन, भुसाल संस्थापक नेता नभएका कारण पार्टीको प्रमुख पद नदिनुपर्ने अडानमा छन्। एक नेता भन्छन्, ‘हिजो आएको मान्छेलाई आज पद दिने भने हामी र एमालेमा के फरक रह्यो र?’

समाजवादीका एक कार्यकर्ताले भने, ‘हामीले पार्टीलाई सैद्धान्तिक रूपमा अघि बढाउने हो भने पार्टीको मुख्य पदमा भुसाललाई जानै दिनुहुन्न।’ यति मात्र होइन, भुसालजस्ता नेता समाजवादीमा सुरुमै आएको भए पार्टीको अवस्था अर्कै हुने थियो भन्ने कार्यकर्ताको पंक्ति पनि ठूलै छ।

समाजवादीमा भुसाल आएका थिए भने पार्टी फेरिन सक्थ्यो। जुन बेला भुसाल समाजवादीमा आए, उनी कमजोर बनेर आए। उनका कार्यकर्ता एमालेमै छन् भने उनले चुनाव हारेका छन्। उनीनिकट धेरै नेता समाजवादीमा फर्किएनन्। यिनै कारण पनि भुसाल समाजवादीमा आलोचनाविहीन छैनन्।

भुसालले कसरी समाजवादीलाई ग्रहण गर्छ, त्यो हेर्न बाँकी छ। उनले ‘बृहत् वाम एकता गर्ने ध्येयले पार्टी सदस्यता नवीकरण गर्न’ समाजवादी आएको बताएका छन्। एक्लो बनेको अवस्थामा ‘छहारी’ बनेको समाजवादीलाई भुसालले कहाँ पुर्‍याउलान् भविष्यले नै देखाउनेछ।

भुसालको प्रवेशलाई त्यति ठूलो रूपमा लिन नसकिने राजनीतिक विश्लेषक झलक सुवेदीको तर्क छ। पार्टी छाडेको र चुनाव हारेको अवस्थामा उनी समाजवादी प्रवेश गर्नु स्वाभाविक रहेको सुवेदी सुनाउँछन्।

‘घनश्यामको प्रवेशले तत्काल एमालेमा फर्कने, समाजवादीको भविष्य छैन भन्ने सोचेर अत्तालिएकालाई आडभरोसा दिन्छ,’ सुवेदी सम्झन्छन्, ‘गैरपार्टी वामपन्थीहरू समाजवादीतिर आकर्षित हुन सक्छन्। थोरै भए पनि शक्ति आर्जन हुनेछ।’

सुवेदीका अनुसार समाजवादी र माथि उठ्ने सम्भावना पनि छ। वैचारिक नेताले समाजवादीलाई पछ्याउन सक्ने र एमालेका असन्तुष्ट नेता त्यता लाग्ने सम्भावना रहेको उनी बताउँछन्।

वामपन्थी शक्तिलाई एक बनाउन नेकपा (एस) रोजेको हुँ : घनश्याम भुसाल

 

प्रकाशित: ८ माघ २०७९ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =