नातिकाजी राष्ट्रिय संगीत सम्मानबाट स्रष्टा सम्मानित

हिमाल प्रेस ८ माघ २०७९ १३:०८
8
SHARES
नातिकाजी राष्ट्रिय संगीत सम्मानबाट स्रष्टा सम्मानित

काठमाडौँ- नेपाली मौलिक गीत-संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्या‍एका स्रष्टा ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान तथा पुरस्कार’बाट सम्मानित भएका छन्।

नातिकाजी स्मृति समाजले नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा सो सम्मान कार्यक्रम आयोजना गरेको थियो। शुक्रबार शीतल निवासमा एक समारोह आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान तथा पुरस्कार प्रदान गरेकी हुन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीले विभिन्न जातीय समुदायका मौलिक संस्कृतिसँगै गीत-संगीतले नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व गर्ने बताइन्। ‘विश्वभर रहेका नेपालीबीच आत्मीय सम्बन्ध स्थापित गर्ने क्षमता गीत–संगीतमा हुन्छ,’ उनले भनिन्।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’बाट मनबहादुर मुखिया, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, दीप तुलाधर, बिके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तु सम्मानित भए। त्यस्तै, ‘नातिकाजी राष्ट्रिय पुरस्कार’ एकनारायण भण्डारी, कालीप्रसाद बाँस्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीले पाए।

‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारी, ‘राष्ट्रिय लोकसंगीत पुरस्कार’बाट लोकगायिका देवी घर्ती, ‘राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार’ बाट चन्दनकुमार श्रेष्ठ, ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ बाट रविन कार्की ढली तथा ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ बाट आशिष सचिन गौतम पुरस्कृत भएका छन्।

सोही कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार-२०७८’ बाट रंगपत्रकार डब्बु क्षेत्री र कुबेरराज गिरी पुरस्कृत भए। कार्यक्रममा समाजका अध्यक्ष शम्भूजित बाँसकोटाले नेपाली संगीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको चर्चा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =