सुनसरीकी भगवती चौधरी : माइक्रोफाइनान्सकी संस्थापकदेखि मन्त्री बनेर सिंहदरबारसम्म

विवेक विवश रेग्मी ३ माघ २०७९ २०:०६
76
SHARES
सुनसरीकी भगवती चौधरी : माइक्रोफाइनान्सकी संस्थापकदेखि मन्त्री बनेर सिंहदरबारसम्म

इटहरी- कहिल्यै नहारेका कांग्रेस नेता विजयकुमार गच्छदारलाई तेस्रो पटकको प्रयासमा पराजित गर्दै गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएकी नेकपा एमालेकी नेत्री भगवती चौधरी मन्त्री बनेकी छन्।

पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा चौधरी मन्त्री भएकी हुन्। मंगलबार चौधरीले महिला तथा बालबालिका मन्त्रालयको जिम्मा पाएसँगै सपथ लिएकी छन्। सुनसरीको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन्। निर्वाचनमा कहिल्यै हार नबोहेरका कांग्रेस नेता गच्छदारलाई तेस्रो प्रयासमा पराजित गर्दै चौधरीले संसदीय यात्रा तय गरेकी थिइन्।

२०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी त्यसबेला वन तथा भू–संरक्षण राज्यमन्त्री बनेकी थिइन्। दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को निर्वाचनमा गच्छदारसँग पराजित भएकी भगवतीले यसपटक भने तेस्रो पटकमा संसद्‌‌मा ‘इन्ट्री’ भएकी थिइन्।

सुनसरीको दुहबी नगरपालिका वडा नं. २ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान हालको गढी गाउँपालिकामा पर्छ। ०४६ सालको जनआन्दोलनमा सहभागी भएकी उनी ०४८ सालदेखि नेकपा एमालेको सदस्यता लिएकी हुन्। ०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य, ०७० सालमा कोसी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भइसकेकी छन्। हाल उनी नेकपा एमाले सुनसरीका सह–इञ्चार्ज समेत हुन्।

उनी माइक्रोफाइन्सकी संस्थापक समेत हुन्। फरवार्ड माइक्रोफाइनान्स लघुबित्त संस्थामार्फत महिला तथा विपन्नलाई रोजगारी सृजना गरिरहेकी उनका श्रीमान दिनेश चौधरीको करीब एक दशकअघि सवारी दुर्घटनामा निधन भयो। तर पनि अविचलित नभइ निरन्तर पार्टी राजनीतिमा सक्रिय भएकी उनले दशकदेखि हुन नसकेको विकास निर्माणको काम आँफूले पाँच वर्षमै गर्ने बताउँदै आएकी छन्। चुनावी अभियानमा क्रममा भगवतीलाई ‘प्रभाशाली मन्त्री’ का रूपमा पनि प्रचार गरिएको थियो।

नभन्दै उनी मन्त्री भएसँगै सुनसरी एमालेका नेता तथा कार्यकर्ताहरूले खुशी व्यक्त गरेका छन्। चौधरीले आर्थिक अभावमा रहेका महिलाहरूलाई लक्षित गर्दै उक्त माइक्रोफाइनान्स सञ्चालनमा ल्याएकी थिइन्। सुरुआती दिनमा चौधरीले गरीब तथा बिपन्न वर्गका महिलाहरूलाई दैनिक पाँच रुपैयाँका दरले बचत गर्न सिकाइन्।

निरक्षर महिलाहरूले पनि बचतको सिको गरे। चौधरीले आफ्नो क्षेत्रका महिलाको जीवनस्तर उकास्नका निम्ति सामाजिक कामसँगै बित्तीय सचेतना ल्याएका कारण पनि उनको पक्षमा जनताहरू आकर्षित भएको कतिपय कार्यकर्ताहरू बताउँछन्।

राजनीतिक संघर्षका क्रममा पटकपटक हार व्यहोरेकी उनले तेस्रो प्रयासमा निर्वाचित भएपछि मन्त्री पाउनुले न्याय भएको सुनसरी एमालेका कार्यकर्ताहरू बताउँछन्। ५१ वर्षीया चौधरी लामो समयदेखि विपन्न तथा गरीब समुदायको आर्थिक स्तर उकास्नका लागि सामाजिक, आर्थिक विकासमा अग्रसर रहेकी छन्।

के थिए चुनावी एजेण्डा?

विभिन्न बुँदागत रूपमा एजेण्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी थिइन्। चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना रहेको र त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने चुनावी एजेण्डा सार्वजनिक गरेकी थिइन्।

महिलाहरूलाई आत्मनिर्भर, स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विशेष पहल गर्ने बताएकी थिइन्। चौधरीले एक गाउँ, एक उद्योग स्थापना, पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङ रोडको अवधारणा कार्यान्वयन, गाउँलाई सहर र सहरलाई व्यवस्थित गर्ने उनको चुनावी एजेण्डा थिए।

प्रकाशित: ३ माघ २०७९ २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =