‘सशक्त महिला, समृद्ध नेपाल’ अभियान सुरु

हिमाल प्रेस २४ माघ २०७९ १७:२१
16
SHARES
‘सशक्त महिला, समृद्ध नेपाल’ अभियान सुरु

काठमाडौँ-  महिला सशक्तीकरणका लागि ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु गरिएको छ। नेपाल सरकार, संयुक्त राष्ट्रसंघ र युरोपेली संघको संयुक्त साझेदारीमा पाटन संग्रहालयमा मंगलबार अभियान सुरु गरिएको हो।

अभियानको उद्देश्य नेपालमा लैंगिक समानता, महिला तथा युवतीको सशक्तीकरण गर्नु रहेको छ। समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय परिकल्पना (भिजन –२०३०) लाई साकार पार्न ‘सशक्त महिला, समृद्ध नेपाल’ अभियान चार वर्षसम्म सञ्चालन हुनेछ।

कार्यक्रम शुभारम्भ गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला सशक्तीकरण नभई दिगो विकास नहुने बताइन्।  उनले लैंगिक हिंसा अन्त्य र महिला सशक्तीकरणका लागि निर्माण भएका विभिन्न कानुन र संरचनागत व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

महिलाका विषयमा कार्यक्रम भए पनि समाजमा महिलाले भोग्नुपरेका समस्याबारे अनुसन्धान कम भएको उनको भनाइ छ।

अभियानले चार वर्ष अवधिमा सुदूरपश्चिमका महिलाले भोगिरहेका सबै समस्याको उठान हुने विश्वास व्यक्त गरिन्। कार्यक्रम कार्यान्वयनमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धतासमेत मन्त्री चौधरीले व्यक्त गरेकी छन्।

अन्तर्राष्ट्रिय श्रम संगठनमार्फत संघ, प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालित कार्यक्रम कार्यक्रम १९.५ मिलियन अमेरिकी डलरको छ। कार्यक्रम कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशका महिलालाई प्राथमिकता दिएर कार्यान्वयन गरिनेछ।

यसमा राष्ट्रसंघका चारवटा एजेन्सीहरू अन्तर्राष्ट्रिय श्रम संगठन, राष्ट्र संघीय जनसंख्या कोष, राष्ट्रसंघीय बाल कोष र यूएन वुमनको सहयोग रहनेछ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चलगायतको उपस्थिति थियो।

प्रकाशित: २४ माघ २०७९ १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =