सहरमा ‘एक्लो’ श्री

विवेक विवश रेग्मी ३० पुष २०७९ ७:०७
162
SHARES
सहरमा ‘एक्लो’ श्री

‘सायद सहर मजस्ता एक्ला-एक्ला मिलेर भीड बन्ने गर्छ। म जस्ताको मौनता जोडिएर कोलाहल बन्ने गर्छ।’

लेखक बुद्धिसागरले आफ्नो किताब ‘एक्लो’मा सहरलाई यसरी परिभाषित गरेका छन्। एक्ला-एक्ला सयौँ मानिस मिसिएर बनेको सहर काठमाडौँमा एक्लो रहेको श्रीको कथालाई पुस्तकमा समेटेका छन्।

किताबको मुख्य पात्र हो, ‘श्री’। जसको काठमाडौँमा कोही छैन। न उसले साथी नै बनाउन सकेको छ। आफूभित्र विराट एक्लोपन बोकेर हिँडिरहेको श्री र ऊसँग जोडिएका धेरै मानिसको कथा हो, ‘एक्लो’।

यो बुद्धिसागरको तेस्रो उपन्यास हो। यसअघि उनका ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ बजारमा आइसकेका छन्। ‘कर्नाली ब्लुज’ उनको सर्वोत्कृष्ट कृति हो। त्यसको तुलनामा ‘एक्लो’ र ‘फिरफिरे’ औसत लागे। ‘कर्नाली ब्लुज’ जत्तिको सशक्त नभए पनि सरल र सरस छ, ‘एक्लो’।

सहरको दौडधूप। सहरिया जीवनका उतारचढाव। भीडमा घेरिएर पनि एक्लो हुनुको पीडालाई लेखकले किताबमा उतारेका छन्।

कथा श्रीले भोगेको समयको हो। सहरमा बेवारिसे भएर बाँचेको समय। कोठाभाडा तिर्न नसक्दा सडकमै भौँतारिएको अनि मैतीदेवी मन्दिरमा रात बिताएको समय। भोको पेटलाई च्युराले भरेको समय। साप्ताहिक पत्रिकामा जागिर पाएको समय। रातभर रेडियोमा समीरा र नीलको संवाद खोजेको समय। घरी दुःखले थिलथिलिएको त कहिले खुसीले पुलकित भएको समय। दुवै समयलाई लेखकले किताबमा कैद गरेका छन्।

यो कथा श्रीजस्ता हजारौँको हो। हजारौँको भीडमा अनेकौँसँग ठोक्किए पनि, आँखा जुधे पनि, मुस्कान साटासाट गरिए पनि अन्त्यमा मानिस एक्लै हुन्छ। त्यही एक्लोपनको कथा। सहरमा बाँच्न एक्लै गर्नुपरेको संघर्षको कथा। अनेक सपनाको भारीले थिचेको मानिसको कथा। एक्लो भुइँमान्छेको कथा।

श्री सबै भएर पनि एक्लै छ। कोही नभएरै पनि एक्लै छ। काठमाडौँको घट्टेकुलो, अनामनगर, ठमेल र मैतीदेवी आसपासमा हरेक दिनजसो ओहोरदोहोर गर्दा भीडमा हराइ रहे पनि एक्लै बाँचिरहेको छ।

श्रीका साथी पनि छन्, आदि, सूर्यबहादुर, टोप। तर उनीहरू पनि एक्लै बाँचिरहेका छन्। पुस्तकमा यी पात्र श्रीको जीवनमा आइरहन्छन्। फिल्मको रिल एउटा फिल्म हलदेखि अर्को हलसम्म पुर्‍याउने काम गर्ने, आदि। सूर्यबहादुर ट्याक्सी ड्राइभर हुन्। टोप जसले अश्लील पुस्तक छापेर बिक्री गर्छ। श्रीसँगै उनीहरूको जीवन र जोडिएका मानिसलाई पनि लेखकले किताबमा उत्तिकै स्थान दिएका छन्।

उपन्यासभर आएका पात्रले कहीँ न कहीँ एक्लै बाँचेको, सहरमा संघर्ष गरेको कथा भन्छ। उपन्यासमा लेखिएका काव्यिक बिम्ब शैलीले उपन्यासलाई सशक्त बनाएको छ। पढ्दा अक्षर सामान्य लागे पनि कविताजस्तै लाग्छन्।

कथाले पाठकलाई तान्छ। सरल र मीठो भाषाका धनी हुन्, बुद्धिसागर। त्यसमा कुनै शंका छैन। ‘एक्लो’को भाषा पनि रोचक छ। तर कतिपय ठाउँमा भने कथा लम्ब्याउनका निम्ति लेखकले शब्द बढाएको महसुस हुन्छ। अनावश्यक रूपमा शब्द बढाएका छन् जस्तो अनुभूति हुन्छ। कतिपय ठाउँमा कथा अप्रासंगिक रूपमा मोडिएको छ भन्ने आभास हुन्छ। अन्तिमतिर भने कथामूल विषयतिर प्रवेश गर्छ।

‘एक्लो’ मा२०६२/२०६३ माओवादी द्वन्द्वको कुरा पनि उठान गरेको छ। राजदरबार हत्याकाण्डको कुरा पनि त्यहाँ जोडिएको छ। यी विषयमा पटकपटक धेरैले लेखेका छन्। पढ्न पाइएको छ। त्यसै ती विषय खासै नयाँ नलागे पनि केही फरक तरिकाले पस्कने प्रयास लेखेकले गरेका छन्। यी कुरा उठान गरेर अन्त्यमा लेखकले श्रीले काम गर्ने साप्ताहिक पत्रिकाको कुरामा पु¥याएर मूल विषयमा त्यसलाई जोडेका छन्। यो लेखकको खुबी हो।

किताबको अन्त्यमा लेखकले श्रीलाई एक्लो रहन दिएका छैनन्। अब ऊसँग स्मृतिका लहरा छन्। श्री भन्छ, ‘ती स्मृतिका लहराले मलाई काठमाडौँमा फेरि एक्लो हुन दिने छैनन्।’

सहरको भीडमा एक्लै भए पनि संसारमा भने आफू एक्लो नरहेको श्री बेलाबेला भनिरहन्छ। पैसा नभएर सहरमा भौँतारिरहँदा गाउँबाट बा, आमा र दाइले एकअर्कालाई थाहै नदिई सुटुक्क पैसा पठाउँदा परिवारप्रति अनुगृहीत हुन्छ।

कुनै बेला पैसा नभएकै कारण चियासमेत पिउन सकस हुन्छ, श्रीलाई। समयक्रमसँगै आर्थिक अवस्था उकासिँदै जाँदा कफीदेखि बियरसम्म पिउने बन्छ। भाडा तिर्न नसक्दा घरभेटीले कोठामा ताल्चा लगाएको अनुभव सँगालेका श्री पछि अग्रीम घरभाडा तिर्न सक्ने हुन्छ। सहरले बिस्तारै कसरी मान्छेको जीवनमा परिवर्तन ल्याउँछ भन्ने उदाहरण हो, यो।

पैसा नभएर बाँचेको एक्लो जीवन र पैसा हुँदा बाँचेको जीवन फरकफरक छ। तर व्यक्ति एकै हो। दुई अलग जीवनलाई किताबमा उतार्न सफल छन्, लेखक।
समीराको प्रेममा छ, श्री। तर देख्न पाएको छैन। आवाजमात्र सुनेको छ। समीराको आवाजको ‘क्रेजी’ छ। समीरा र उनका ब्वाइफ्रेन्ड नील बीच हुने संवाद सुन्छ। नीलको ठाउँमा आफूलाई कल्पना गर्छ। समीराको आवाज सुन्ने लत बसेको छ श्रीलाई।

समीरा खोज्दै ठमेलको कली क्याफे पुग्छ। उनी विदेश जाने थाहा पाएपछि बिदाइ पार्टीमा जान्छ। त्यहाँ कल्पना र यथार्थको जम्काभेट हुन्छ।

दुःखान्तबाट सुरु भएको कथाको ‘ह्याप्पी इन्डिङ’ हुन्छ। श्री सानो अँध्यारो कोठाबाट फ्ल्याटमा सर्छ। तर आफूसँगै पुरानो कोठाको सामान पनि लग्छ। श्रीको बिग्रिएको रेडियोदेखि थोत्रो जुत्तासम्मले डेरा सर्छन्।

किताबको अन्त्यमा लेखकले श्रीलाई एक्लो रहन दिएका छैनन्। अब ऊसँग स्मृतिका लहरा छन्। श्री भन्छ, ‘ती स्मृतिका लहराले मलाई काठमाडौँमा फेरि एक्लो हुन दिने छैनन्।’

प्रकाशित: ३० पुष २०७९ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =