पृथ्वी जयन्ती विशेष

दिव्य उपदेशको टिपोट, संरक्षण र प्रकाशनको इतिवृत्त

हिमाल प्रेस २७ पुष २०७९ ८:३४
दिव्य उपदेशको टिपोट, संरक्षण र प्रकाशनको इतिवृत्त

पृथ्वीनारायण शाह जीवनको अन्तिम अवस्थामा नुवाकोट दरबारमा थिए। त्यहीबेला उनले बोलेका वाणीलाई उपस्थित भारदारहरूले आ-आफ्नै ढंगले टिपेका थिए। तिनै भारदारमध्ये एकको टिपोट अर्कोले सारेर राखेको एक हस्तलिखित ग्रन्थ धेरै समयपछि काठमाडौँमा फेला पर्‍यो।

१९९० सालको महाभूकम्पपछि उक्त हस्तलिखित ग्रन्थ काठमाडौँ, असन केलटोलस्थित मानमन्दिर घर भएका पृथ्वीनारायण शाहका भारदार शिवरामसिंह बस्नेत (अभिमानसिंह बस्न्यात शिवरामसिंह बस्न्यातका छोरा थिए) का सन्तान बखतमानसिंह बस्न्यातको घरमा भेटिएको थियो।

अभिमानसिंह बस्न्यात राजा पृथ्वीनारायण शाहसँग नुवाकोटमा थिएनन्। बस्न्यात नेपाल एकीकरणका क्रममा पूर्वी नेपालको तराई क्षेत्रमा थिए। त्यसैले उनी आफैँले त्यो प्रत्यक्ष सुनेर सारेको नभई त्यहाँ कसैको टिपोट प्राप्त गरेको वा टिपोटबाट सारेर राखेका हुन सक्छन्।

त्यही ग्रन्थका आधारमा २००९ सालमा योगी नरहरिनाथको सम्पादकत्वमा सर्वप्रथम प्रकाशित भएको थियो ‘दिव्य उपदेश’। कर्मवीर महामण्डलबाट प्रकाशित उक्त दिव्य उपदेश पुस्तक रामनिधि त्रिपाठी, शिवराम प्रेस, मध्येमेश्वर काशीबाट मुद्रित भएको थियो।

त्यसको भित्री पृष्ठको शीर्षकमा ‘गोर्खा सम्राट् बडामहाराजा श्री ५ पृथ्वीनारायणको दिव्य उपदेश’ लेखी सुरु गरिएको थियो। त्यसको तल थप यस्तो लेखिएको थियो-

स्वस्ति श्रीगणेशाय नमः ।। ।। श्रीकालिका सहाः ।। ।। श्री ३ सिव गोरषनाथ सहाः ।। श्री ५ प्रिथिनारायण शाहाः ।। ।।

श्रीश्रीश्री ५ बुढा महाराजाले तिन सहर नेपाल र हिँडुपतिको राज लियापछि पछिल्ला पटक् नुहाकोटमा पाउलाग्नुभयामा गुरु प्रोहित थरघर भैयाद भारदार र आफ्ना ददा सुरथसिं राना सबैका बुढापाकाछेउ हुकुम भयाका कुरा. (दिव्य उपदेश, सम्पादक नरहरिनाथ योगी, २००९)

नरहरिनाथको सम्पादकत्वमा दिव्य उपदेशका नाममा त्यो छापिनुभन्दा करिब १७ वर्षअगाडि नै त्यसको केही अंश प्रकाशित भएको थियो।

बाबुराम आचार्यले फेला पारेको त्यही हस्तलिखितको अंश दार्जिलिङमा सूर्यविक्रम ज्ञवालीलाई पठाइदिएका थिए। त्यो पठाउनुअघि आचार्य र ज्ञवालीबीचमा चलेका पत्राचारमा आचार्यले पटकपटक पृथ्वीनारायण शाहको उक्त उपदेशको चर्चा गरेका थिए।

१९९१ चैत २४ मा काठमाडौँबाट आचार्यले ज्ञवालीलाई पठाएको पत्रमा पृथ्वीको वक्तव्यको नक्कल उतार्न लगाई तीनचार दिनमा पठाइदिनेछु भनी लेखेका थिए। त्यसको करिब दुई महिनापछि १९९२ जेठ ३० को अर्को पत्रमा ‘आचार्यले पृथ्वीको व्याख्यानलाई सारिदिने उपयुक्त मानिस पाउन ढिलो भएकाले पठाउन ढिला भयो भन्दै साथैमा पृथ्वीनारायण शाहको एउटा पत्रको नक्कल पनि पठाएको छु’ भनी लेखेका थिए।

१९९२ सालमा प्रकाशित सूर्यविक्रम ज्ञवालीको पुस्तक ‘पृथ्वीनारायण शाह’मा त्यसको केही अंश प्रकाशित भएको थियो। ज्ञवालीले उक्त पुस्तकको सन्दर्भ स्रोतमा अप्रकाशित कृतिका रूपमा पृथ्वीनारायण शाहको व्याख्यानलाई उल्लेख गरेका थिए। त्यसमा थप लेखेका थिए, ‘पृथ्वीनारायणले नेपाल जितेपछि आफ्ना भारदारलाई भनेका कुरामा उनको सैनिक शासन, राजकाज एवं आर्थिक नीतिको चाखलाग्दो वर्णन छ। यसको सक्कल प्रति पनि मैले खरदार बाबुराम आचार्यबाट प्राप्त गरेको हुँ।’ (सम्पादक योगी नरहरिनाथ र बाबुराम आचार्य, राष्ट्रपिता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश, तृतीय संस्करण २०७०, परिष्कारकर्ता एवं प्रकशक प्रा. श्रीकृष्ण आचार्य)

राणाशासन रहेसम्म शाहवंशका विषयमा रहेको दिव्य उपदेश प्रकाशित गर्न राजनीतिक अनुकूलता थिएन। त्यसैले पनि होला त्यो सामग्री त्यतिबेला नेपालमा छाप्न सहज भएन र बाबुरामले दार्जिलिङमा पठाइदिए। ज्ञवालीले दार्जिलिङमा आफूले प्राप्त गरेको केही अंश उक्त पुस्तकमा प्रकाशित गरे। राणाशासन अन्त्य भएपछि २००९ सालमा योगी नरहरिनाथले दिव्य उपदेशका नाममा त्यसको प्रथम संस्करण प्रकाशित गरे।

नरहरिनाथले समेत त्यो बाबुराम आचार्यमार्फत पाएका थिए। पुस्तकमा संख्या उल्लेख नभएकाले त्यो कति प्रति छापियो भन्ने थाहा हुन सक्दैन। तर त्यतिबेला उक्त दिव्य उपदेश पुस्तकको मूल्य २५ पैसा राखिएको थियो। त्यसमा कुल १६ पृष्ठ थिए। १४ पृष्ठमा पृथ्वीनारायण शाहको दिव्य उपदेश छापिएको थियो। अन्तिम दुई पृष्ठमा काष्ठमण्डपका राजा महिन्द्र मल्लको स्थिति छापिएको थियो।

२०१० सालमा योगी नरहरिनाथ र बाबुराम आचार्यको संयुक्त सम्पादकत्वम ‘राष्ट्रपिता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहदेवको दिव्य उपदेश’ नाममा संशोधित द्वितीय संस्करण छापिएको थियो।

उक्त पुस्तक पृथ्वीजयन्ती समारोह समितिका तर्फबाट प्रकाशित भएको थियो। अघिल्लो संस्करण काशीमा मुद्रित भए पनि यसपटक भने श्री बागीश्वर छापाखाना, झोछेँ, लायकुसाल, काठमाडौँमा मुद्रित भएको थियो। यसपटक भने यो पाँच हजार प्रति छापिएको थियो।

द्वितीय संस्करणको पीठिकामा लेखिएको थियो, ‘काजी अभिमानसिंह बस्न्यातसँग रहेको प्रतिबाट सारिएको प्रति उनका घरमा बस्ने उनैका वंशाणुगत कारिन्दाका सन्तान भक्तबहादुरसँग रहेको काजी अभिमानसिंहका वंशधर श्रीबखतमानसिंह बस्न्यातसँग पाइएको हुनाले त्यसलाई अविकल मूल राखेर टिप्पणी परिशिष्टसहित सम्पादन गरिएको छ।’

त्यस्तै पहिलो संस्करण र दोस्रो संस्करणबारे त्यसमा थप लेखिएको थियो, ‘अगाडि पनि काशीबाट गोरक्ष ग्रन्थमालामा प्रकाशित भएको थियो। अशुद्धि रहन गएकाले जस्ताको तस्तै मूल यहाँ दिइएको छ।’ (सम्पादक योगी नरहरिनाथ र बाबुराम आचार्य, राष्ट्रपिता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश, २०१०)

उपदेश प्राप्तिका बारेमा उक्त दिव्य उपदेशको पीठिका यस्तो लेखिएको थियो-

‘काजी अभिमानसिंह बस्नेतको घरमा रहेको प्रतिबाट नै सारिएको यस उपदेशको अर्को एउटा प्रति यिनैको घरमा लेखापढीको काम गर्ने यिनैको कर्मचारीका रूपमा काम गर्ने व्यक्तिका वंशधर मुखिया श्री भक्तबहादुरसँग पनि सुरक्षित रहेको रहेछ। यही प्रतिलाई बख्सी अभिमानसिंह बस्नेतकै वंशधर श्री बखतमानसिंह बस्न्यातज्यूको सौजन्यबाट हामीले केही वर्ष पहिले प्राप्त गरेका हौँ। यसै प्रतिको पाठलाई जस्ताको तस्तै मूलमा राखेर आवश्यक टिप्पणी तथा परिशिष्ट दिई यस उपदेशलाई अहिले यस रूपमा सम्पादन गरिएको छ।’ (सम्पादक योगी नरहरिनाथ र बाबुराम आचार्य, राष्ट्रपिता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश, तृतीय संस्करण २०७०, परिष्कारकर्ता एवं प्रकाशक प्रा. श्रीकृष्ण आचार्य)

पृथ्वीनारायण शाहको उक्त उपदेशको हस्तलिखित एक प्रति राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ। अभिलेखालयको ४/२९१५ लगतमा राखिएको उक्त दस्तावेजको गातामा पुरानो नाम ‘श्री श्री पृथ्वीनारायण शाहको किताप हो’ लेखिएको छ।

अभिलेखालयको आफ्नो अभिलेखमा त्यसलाई ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सुवर्णमय दिव्य उपदेश’ लेखिएको छ। उक्त हस्तलिखित प्रति पुस्तक राष्ट्रिय अभिलेखालयलाई काठमाडौँको नयाँ बजारनिवासी बखतमानसिंह बस्न्यातले २०२५ सालमा प्रदान गरेका हुन्।

पछिल्ला दिनमा केहीले पृथ्वीनारायण शाहको दिव्य उपदेशको वैधतामाथि प्रश्न उठाइरहेका छन्।

बखतमानसिंहको घरमा पाइएको उपदेशको प्रशस्तिमा पृथ्वीनारायणलाई ‘श्री ५’ र ‘बूढा महाराजा’ भनिएको छ। त्यही प्रशस्तिका आधारमा उनको निधन भएको धेरै वर्षपछि त्यो तयार गरिएको हो भनी वैधतामाथि प्रश्न गरिएको हो।

त्यस्तो प्रशस्ति लेख्ने चलन पृथ्वीनारायणपछि सुरु भएको हो। पुराना लेखोट समयसापेक्ष गरेर सार्ने चलन हुन्छ। त्यसैले त्यसलाई पृथ्वीनारायणपछिका उनका छोरा प्रतापसिंह वा नाति रणबहादुर शाहको पालामा सारिएको हुन सक्छ। त्यसमा बूढा महाराज भनिएकाले त्यो नाति रणबहादुर शाहको पालामा सारिएको हुन सक्छ।

अर्को एउटा प्रसंग भने जंगबहादुर राणाको पालामा राज्यच्यूत भएका राजा राजेन्द्र पूर्वराजालाई ‘बूढा महाराज’ लेखिएकाले त्यो प्रतापसिंहकै पालामा सारिएको भन्ने देखिन्छ। पृथ्वीनारायण शाहले आफ्ना अन्तिम दिनमा बोलेका कुरालाई कुनै भारदारले तत्काल कतै टिपेको भए पनि त्यसलाई राम्रोसँग सारेर राख्न केही समय लाग्ने नै भयो। उनले त्यो बोलेपछि तत्कालै उनको निधन भयो होला। निधनपछि उनका छोरा प्रतापसिंह राजा भए।

अभिमानसिंह बस्न्यात पनि पछि पूर्वी नेपालको तराईबाट काठमाडौँ आए। त्यो कुरा थाहा पाई सोधीखोजी गरे। आफूले एकप्रति राख्दा समय लाग्यो होला। त्यसरी त्यो उनका छोरा वा नाति राजा भएको बखतमा पर्‍यो होला। प्रतापसिंह शाहको पनि छोटो समयमा निधन भएको थियो। अनि रणबहादुर शाह राजा भएका थिए।

उक्त उपदेशमाथि त्यसरी प्रश्न उठाउनेमध्ये केहीले दिव्य उपदेश कुनै पनि कर्खा, सवाई वा लोककथामा किन कहिले उल्लेख भएन? त्यतिबेला नभएको भएर नेपाली समाजमा उल्लेख भएन, यसलाई राजतन्त्रले कृत्रिम रूपमा अगाडि सारेको भनिरहेका छन्। केहीले १९९० को भूकम्पभन्दा पहिले यो कहाँ थियो? भनेर प्रश्न गरिरहेका छन्। केहीले यो राणाकालमा कहाँ थियो र राणाकालपछि शाहवंशको वर्चस्व स्थापित गर्न एकाएक आयो भनिरहेका छन्।

यी प्रश्नमा विचार गर्दा के भन्न सकिन्छ भने यो कुनै पनि कर्खा, सवाई वा लोककथामा किन उल्लेख भएन होला? भन्दा त्यसको प्रति निकै कम वा अत्यन्तै दुर्लभ हुँदो हो। त्यसैले सार्वजनिक जानकारीमा आएन। सार्वजनिक जानकारीमा नआएको हुनाले समाजमा कर्खा, सवाईका माध्यममा आउने कुरा भएन।

१९९० को भूकम्पभन्दा पहिले यो कहाँ थियो भन्नेमा मनन गर्दा त्यतिञ्जेलसम्म कसैसँग थियो भन्ने थाहा नहुन पनि सक्छ। घरका कुनै सदस्यले कसैलाई जानकारी नदिई राखेको दस्तावेज अरूले थाहा पाउने भन्ने पनि भएन।

राणाकालमा शाह वंशको प्रचारप्रसार गर्न सजिलो थिएन। भूकम्पको भग्नावशेष पछिमात्र त्यो कतै फेला पर्‍यो। त्यसलाई बाबुराम आचार्यले फेला पारेर दार्जिलिङमा सूर्यविक्रम ज्ञवालीलाई पठाइदिएको र नरहरिनाथलाई पनि पछि २००४ सालमा भेट्दा दिएको उल्लेख भइसकेको छ। त्यसपछि त्यसको केही अंश १९९२ र पछि २००९ मा छापिएको बारे माथि उल्लेख भइसकेको छ।

१८३१ सालमा निधन भएका पृथ्वीनारायण शाहबारे १९९० सालसम्म उनले आफ्नो जीवनका अन्तिम दिनमा बोलेका कुरा प्रकाशमा नआउनु कुनै अनौठो प्रसंग होइन। करिब १५९ वर्षसम्म त्यो प्रकाशमा आएन।

त्यस्तै एउटा अर्को प्रसंग जंगबहादुर राणाकालीन नेपालको सन् १८५५-६६ को नेपाल भोट युद्धताकाको छ।

सन् १८५५-५६ को नेपाल-भोट युद्धताका भोटमा युद्धबन्दी रहेका ५६ जना सिख खालसा सैनिकलाई नेपालले भोटको कैदबाट रिहा गरिएको थियो। डोगरा राज्यका राजा गुलाब सिंह थिए। उनले आफ्नो विशाल डोगरा साम्राज्यअन्तर्गत पहिले जम्मुमा आफ्नो राज्य विस्तार गरे। त्यसपछि उनले लद्दाखमा आक्रमण गरी त्यसलाई समेत आफ्नो कब्जामा पारे। उनी त्यतिमा मात्र सीमित रहेनन्।

आफ्नो सेनापति जोरावर सिंहको नेतृत्वमा सन् १८४१ मा भोटमा समेत आक्रमण गरे। तर भोटसँगको युद्धमा सेनापति जोरावर मारिए। सिख खालसा सैनिक भोटमा युद्धबन्दी बनाइए। त्यसको १५ वर्षपछि सन् १८५६ मा नेपालले भोटमा आक्रमण गर्दा ती युद्धबन्दीलाई रिहा गरिदिएको थियो।

नेपाल-भोट युद्धबारे लेखिएका जति पनि इतिहास वा सामग्री छन्, तिनमा कतै पनि भोटको कैदबाट नेपालका जंगबहादुरले ती सिख खालसा सैनिकलाई रिहा गरिएको प्रसंग पाइँदैन। ती कैद मुक्त भएर फर्किने सिख खालसा सिपाहीलाई नेपालका तर्फबाट राजा सुरेन्द्रको अंकित तक्मासमेत प्रदान गरी जम्मुतर्फ पठाइएको थियो। त्यो प्रसंग पनि कतै सार्वजनिक भएन।

सन् २०१५ मा एउटा अन्तर्राष्ट्रिय लिलामी संस्था ‘स्पिन्क लन्डन’ले ती तक्मा लिलामीमा राखेपछि मात्र जंगबहादुरले गरेको त्यो काम सार्वजनिक भयो। तक्मा लिलामीमा राख्नुभन्दा करिब ६ वर्षअघि सन् २००९ मा मदन पुरस्कार पुस्तकालयको त्रैमासिक नेपाली पत्रिकाको पूर्णांक १९८ मा सार्वजनिक भएको थियो।

प्रधानमन्त्री जुद्धशमशेरको कार्यकालमा उनका विश्वासी कोमलनाथ अधिकारीले प्रमको निर्देशनबमोजिम सारेको जंगबहादुरका नेकीको कामको टिपोटको एक प्रति २०१३ सालतिर मदनपुरस्कार गुठीमा दिएका रहेछन्। त्यो जंगबहादुर राणाको कार्यकालको कामको विवरण रहेछ। गुठीका तर्फबाट २०६५ मा त्यो प्रकाशित हुँदा आठौँ नेकीको बाह्रौँ काममा त्यो विषय यसरी उल्लेख रहेछ-

‘लदाकमा अघि सिखको र भोटको लडाइँ हुँदा जवाहिर सिङलाई मारी सिखहरूलाई पक्री भोटमा लागि धेरै बखतदेखि कैद पर्याका रहयाछन्। नेपालले भोटलाई दवायाको छ भंन्या मुलुकमा जाहेर हुँदा महाराज गुलावसिंङ …… दरखास्त गर्दा भोटका अंवा र भोटका भारदारलाई भनी पठाइ धेरै वर्षदेखि कैद भयाका सिखलाई कैद छुटाई नेपालमा झिकाई… आफ्नाआफ्ना घरघर पठाई देशदेशावरमा जस फैलायाको।’ (नेपाली त्रैमासिक २०६५ माघ, फागुन र चैत पूर्णांक १९८, मदन पुरस्कार पुस्तकालय)

सन् १८५५-५६ को प्रसंग पनि प्रकाशित हुन सन् २००९ सम्म लाग्यो। त्यो पनि जंगबहादुरको पालाको काम सारिएको कुनै टिपोटबाट जुद्धशमशेरको कार्यकाल सन् १९३२-४५ को अवधिमा सारेर राखेको अर्को लिखत सन् २००९ मा मात्र प्रकाशित भयो। यो एउटा उदाहरण हो।

यसको आधारमा के भन्न सकिन्छ भने राजा पृथ्वीनारायण शाहको उपदेश सारेर राखेको एउटा टिपोट लिखत कसैको घरमा सुरक्षित थियो। तर लामो समयसम्म कसैलाई जानकारी थिएन। त्यस्तै चासो पनि थिएन। भूकम्पपछि फेला पर्‍यो, जानकारी भयो, चासो हुनेहरूले थाहा पाए। आफूले पनि सारेर राखे। नेपालमा अनुकूल नहुँदा नेपालबाहिर दार्जिलिङबाट र पछि नेपालमा व्यवस्था परिवर्तन भएपछि नेपालबाट प्रकाशित गरे। राजा पृथ्वीनारायण शाहको उपदेश भनिएको उपदेशको आधिकारिकता र वैधताको प्रश्न भने व्यर्थ हो।

प्रकाशित: २७ पुष २०७९ ८:३४

प्रतिक्रिया

2 thoughts on “दिव्य उपदेशको टिपोट, संरक्षण र प्रकाशनको इतिवृत्त

  1. सन् १७७५ मा निधन भएका पृथ्वीनारायण शाहबारे सन् १९९० सम्म उनले आफ्नो जीवनका अन्तिम दिनमा बोलेका कुरा प्रकाशमा नआउनु कुनै अनौठो प्रसंग होइन। सन् १७७५ देखि १९९० सम्मको करिब २१५ वर्षसम्म त्यो प्रकाशमा आएन।
    Attention:
    I think the date mentioned above AD 1990 should be BS 1990. And it is not 215 years but 158 yrs.

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast