घुम्ती गोठ : हिउँदमा बेँसी, बर्खामा लेक

हिमाल प्रेस २६ पुष २०७९ ९:५०
4
SHARES
घुम्ती गोठ : हिउँदमा बेँसी, बर्खामा लेक

बेनी- धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे। उमेरले बुढ्यौली लागे पनि उनको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ। पुर्ख्यौली रूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन्।

६ छोरी र दुई छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएकी छन्। हिउँदमा बेँसीका फाँटमा झरेका गाईभैँसीका गोठलाई घर्तीमगर दम्पतीले बर्खायाममा लेकका बुकीसम्मै पुर्‍याउने गर्छन्। घर्तीमगरको दम्पतीले यसरी गोठमै करिब ६ दशक समय बिताइसकेका छन्।

उनीहरूको गोठमा अहिले ३२ भैँसी र २२ वटा गाई छन्। गोठमा रहेका गाइभैँसीमध्ये १२ वटा भैँसी र सातवटा गाई दुहुना छन्। गाईभैँसीको दूधबाट उत्पादन हुने घिउबाट आम्दानी हुने भए पनि गाईभैँसी नै बिक्री भने न्यून हुने गरेको प्रेमबहादुर बताउँछन्। गाईभैँसीको घिउ प्रतिमाना एक हजार २०० रूपैयाँमा बिक्री हुने गरेको छ।

घर्तीमगरको पुर्खाहरूले समेत गोठ राखेर नै पशुपालन गर्दै आएका थिए। बुबा दलप्रसादले समेत पुर्खाहरूले गर्दै आएको भेडासहित गाईभैँसीपालन गरेका कारण आफूले पुर्खाको पेसालाई निरन्तरता दिएको प्रेम बताउँछन्। उनका ६ दाजुभाइमध्ये चार परिवारले गाईभैँसी र भेडापालन गरेका थिए। अधिकांशले अहिले पनि घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्दै आएका छन्।

हिउँदयाममा लेकबाट मुदी फाँटमा झरेको घुम्ती गोठमा अहिले उनकी दुई छोरीले घर्तीमगरको दम्पतीलाई सारथि बनेर सहयोग गर्दै आएका छन्। यहाँका घुम्ती गोठलाई अर्चे, भारबाङ, धुलीबास, तिरिजा, लामठारा, सेतढुंगालगायतका ठाउँमा पुर्‍याउने गरिन्छ। भीर उक्लिएर बुकीसम्म पुग्नुपर्ने घर्तीमगर दम्पतीको दैनिकीमा उकाली–ओराली, अनकन्टार जंगलको बास, खोलानाला, बाढी, पहिरो, बर्खाको अविरल वर्षा र हिउँदको हिमपात जीवनमा दोहोरिरहने संघर्षका पाटाहरू हुन्।

छोराछोरीले गोठालो पेसा छाड्न अनुरोध गरे पनि उनीहरूको मन भने अझै गोठालो छाडेर घरमा बस्न मानेका छैन।

‘मुदीको साहु’को नामले पारिवारिक विरासत बोकेका घर्तीमगरको परिवारले पुर्ख्यौली रूपमा गाईभैँसी र भेडापालनसँगै ठूलो मात्रामा खेतीबालीसमेत गर्ने गर्थे। आफूहरू सानो छँदा बुबाआमाले एक सय मुरीसम्म कोदो उत्पादन गरेको प्रेमबहादुर स्मरण गर्छन्। अहिले पनि पशुपालनसँगै परम्परागत खेतीका रूपमा कोदो, मकै, जौँ, गहुँलगायत खेतीलाई उहाँको परिवारले निरन्तरता दिएका छन्।

अध्ययन र रोजगारको सिलसिलामा घर्तीमगर दम्पतीको जेठा छोरा र कान्छी छोरी जापान र कान्छा छोरा चीन पुगेका छन्। ठाइली छोरी जगदेवी स्वास्थ्यकर्मी र काइँली कमला शिक्षक छन्। जेठी, माइली र साइली छोरीले गोठमा बस्नुपरेका कारण अध्ययनको उचित अवसर नभएकाले बुबाआमाकै गोठाला पेसामा आफूलाई समाहित गरेका छन्। बुबाआमाले गोठ नछाडेका कारण आफूहरू पनि उनीहरूकै दैनिकीमा लागेको साइली छोरी छानदेवी बताउँछिन्।

१३ वर्षको उमेरदेखि नै गोठ बस्न थालेका घर्तीमगर हिजोआज भने गोठालो संस्कृति हराउँदै गएकामा चिन्तित छन्। उमेरका कारण गोठमा बस्न सक्ने अवस्था कमजोर बन्दै गएपछि उनले कसैले गोठ किनेर चलाए हुन्थ्यो भन्ने आशामा छन्।
एकै ठाउँमा मात्रै राखेर पालन नगरिने र घुम्तीरूपमा गोठ सारिरहनुपर्ने भएकाले पनि प्रेमबहादुरलाई गोठालो जीवन सास्तीपूर्ण बन्न थालेको छ। घरबाट गोठसम्म खाद्यान्नलगायतका खर्चको भारी ल्याउन जानसमेत कठिन हुन थालेको उनको अनुभव छ।
पुख्र्यौली पशुपालनलाई व्यावसायीकरण बनाउन नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जीविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामीण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ। (कमल खत्री/रासस

प्रकाशित: २६ पुष २०७९ ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =